Comments Add Comment

शिक्षिकाको गल्ती औंल्याउने अभिभावकलाई प्रहरीको सास्ती

२४ भदौ, काठमाडौं । विद्यालयको त्रुटी औंल्याएकै कारण एक अभिभावकले सास्ती पाएका छन् । तीन दिनदेखि प्रहरी कार्यालयको चक्कर काटिरहेका गजानन धाख्वाले शैक्षिक सत्रको अन्त्यमा आफ्नो छोरालाई स्कुलबाट निकाल्नुपरेको छ ।

stepping stone (4)
बालबालिका लिन गएका अभिभावक र सुरक्षामा खटिएका प्रहरी

ललितपुरको चाकुपाटस्थित स्टेपिङ स्टोन इन्टरनेसनल प्रि-प्राइमरी स्कुलले गल्ती औंल्याउने अभिभावकविरुद्ध प्रहरीमा उजुरी गरेको हो । विद्यालय प्रशासनले महानगरीय प्रहरी परिसर जावलाखेलमा अभिभावक धाख्वाका कारण विद्यालय असुरक्षित भएको भन्दै उजुरी दिएको थियो ।

प्रहरीले बोलाएपछि मंगलबार पुगेका उनी तीनघण्टा प्रहरी कार्यालयमै थुनिए । उनलाई बुधबार पुनः आउनेगरी छाडियो ।

दुवै पक्षलाई बोलाएको थाहा पाएपछि अनलाइनखबर टोली प्रहरी कार्यालय पुगेको थियो । पत्रकारहरुको टोली कार्यालयमा देखेपछि प्रहरीले धाख्वालाई हप्कीदप्की गरे । दुबै पक्षलाई बोलाइएको भए पनि उजुरीकर्ता विद्यालय सञ्चालक नआएपछि धाख्वालाई यत्तिकै फर्काइयो ।

एसएसपी पिताम्बर अधिकारीले विद्यालयका शिक्षकको त्रुटीलाई सामान्य भएको टिप्पणी गरे । विद्यालयका बारेमा सामाजिक सञ्जालहरुमा गलत प्रचार गरिएको भनी विद्यालयबाटै उजुरी परेपछि धाख्वालाई सोधपुछका लागि बोलाइएको उनको भनाइ थियो ।

प्रहरीको घेराभित्र बालबालिका

stepping stone (5)
स्कुल हाता भित्र प्रहरी

बुधवार स्टेपिङ स्टोन स्कुल पुग्दा विद्यालय परिसरमा प्रहरीले सुरक्षा दिइरहेको थियो । विद्यालय प्रशासनसम्म पुग्न पनि पत्रकार टोलीले प्रहरीको स्वीकृति लिनुपर्‍यो ।

‘बारम्बार ‘थ्रेट’ आएपछि सुरक्षाका लागि प्रहरीमा उजुरी गर्न बाध्य भएको प्रिन्सिपल मुना श्रेष्ठले बताइन् । ‘विद्यालय अभिभावक संघ र अन्य अभिभावकहरुबीच बसेर छलफलहरु पनि भयो’, विद्यालयका अध्यक्ष अंकद सिंहले भने, ‘टिचरले गल्ती स्वीकार गरिसकेपछि एक पटकलाई माफी दिने कि नदिने ?’

नेपाली विषयकी शिक्षिका निरु खनालले बालबालिकाको कापीमा लेखिएका गलत उत्तरलाई धमाधम ठीक चिन्ह दिएपछि अभिभावकले गल्ती औंल्याएका थिए । गल्ती पढाउने शिक्षिकालाई निश्कासित गर्नुपर्ने मागप्रति आफू सहमत हुन नसकेको प्रिन्सिपल श्रेष्ठले बताइन् ।

(हेर्नुहोस् भिडियो)

बालकलाई विद्यालयबाट छुटाइयो

शिक्षकको गल्ती औंल्याएको विषयमा विद्यालयले लिखित पत्र नै पठाएपछि धाख्वाले आफ्नो छोरालाई विद्यालयबाट निकालेका छन् । सामाजिक सञ्जालमा विद्यालयको बेइज्जत गरिएको भन्दै विद्यार्थीलाई अन्यत्र लैजान सुझावसहित अभिभावकलाई पत्र थमाइएको थियो ।

विद्यालयबाट लिखित पत्र पाएपछि धाख्वाले छोरालाई शैक्षिक सत्र सकिने बेलामा विद्यालयबाट निकालेका छन् । उनको एक वर्षको पढाइ बिग्रिएको छ । तर, विद्यालयकी प्रिन्सिपल श्रेष्ठले भने ‘शैक्षिक सत्रको बीचमा बच्चा नलैजान आग्रह गर्दागर्दै अभिभावक आफैंले लगेको’ बताइन् ।

विद्यालयको झगडा विप्लव माओवादीसम्म

धाख्वालाई विप्लव माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थी नेता अर्जुन बीसीले टेलिफोन गरी विद्यालय विरुद्ध नलाग्न धम्की दिएका छन् । बीसीले पनि धाख्वालाई टेलिफोन गरेको स्वीकार गरे ।

कसैको बहकावमा लागेर धाख्वा विद्यालयविरुद्ध लागेको बीसीको आरोप छ । तर, आफूले धम्की दिएको नभई दुवै पक्षलाई मिलाउनका लागि मात्रै भूमिका खेलेको उनले अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुस्

नेपाली पढ्ने विद्यार्थीलाई शिक्षकले गल्ती सिकाएपछि….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment