Comments Add Comment

बन्दले दाङमा होटल व्यवसाय चौपट

निमुसंगम घर्ती
२५ भदौ, दाङ । लामो समयको बन्दले दाङका ठूला-साना सबै होटलहरुको व्यवसाय चौपट भएको छ । साउन २७ गतेदेखि बिभिन्न पार्टी र समूहले बन्द जारी राख्दा जिल्लाका होटलहरुको व्यवसाय चौपट भएको हो ।

दाङमा १० करोड रुपैयाँसम्म लगानी भएका प्रशस्त होटलहरु छन् । साना-ठूला सबै होटलहरु पूर्णरुपमा ठप्प रहेको दाङ देउखुरी होटल व्यवसायी समितिले जनाएको छ ।

Cook-Hotel

घोराहीको मेनरोडमा रहेको सिटी प्लाजा रेष्टुरेण्ट एण्ड बारका म्यानेजर कमल सुवेदीले बन्दका कारण ९९ प्रतिशत घाटा व्यहोरिरहेको बताए । होटल सञ्चालन नहुँदा दैनिक १५ हजार रुपैयाँ घाटा लागिरहेको र यो एक महिनामा साढे ४ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको सुवेदीले बताए ।

‘बाहिरबाट मान्छेहरु आउने क्रम ठप्छ, कुनै कार्यक्रमहरु पनि छैनन्’ उनले भने- ‘निरन्तरको बन्दले व्यवसाय धरापमा पर्‍यो । यो घाटा कसरी पूर्ति गर्ने ?’ बन्दले ब्यापार ठप्प भएपछि ८-१० जना कर्मचारीहरुलाई बिदा गरेको म्यानेजर सुवेदीले बताए ।

घोराहीकै दाङ भ्याली होटेललाई पनि बन्दको समयमा घाटाको भार थेग्न अप्ठेरो परेको छ । ९० प्रतिशत व्यवसाय ठप्प रहेको होटल सञ्चालक बसन्त जिएमले बताए । दैनिक १० देखि १५ हजार रुपैयाँको घाटा लागिरहेको भन्दै उनले बन्दका कारण व्यवसाय नचल्दा २ जना कर्मचारीलाई बिदा गरेको जानकारी दिए ।

त्यसैगरी डिलाईट कर्नर द फेमिली रेष्टुरेण्टले पनि व्यवसायमा ५० प्रतिशत कमी भएको जनाएको छ । बन्दको कारण व्यवसाय नभएको र अर्कोतर्फ सबै बस्तुहरुको भाउ महंगो भएको म्यानेजर कमल केसीले बताए । ‘यस्तै बन्द भैरहे व्यवसाय सञ्चालन गर्न नसक्ने अबस्था छ,’ म्यानेजर केसीले भने, ‘होटललाई चाहिने सबै सामानहरु पाईदैन अर्कोतर्फ घाटा लागिरहेको छ कसरी सञ्चालन गर्ने दोधारमा छौं ।’

जिल्लामा रहेका ठूला लगानीका झण्डै एक दर्जन होटलहरु अहिले बन्दको मारमा परेको दाङ देउखुरी होटल व्यवसायी समिति बताउँछ । ‘साढे दुई करोडदेखि १० करोडसम्म लगानी गरी खोलिएका करिब एक दर्जन होटलहरु ठप्प छन्,’ समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले भने, ‘अब तुरुन्त बन्द खोल्नुपर्छ ।’

दाङ देउखुरी होटल व्यवसायी समितिमा घोराही र देउखुरीका करिब ४ सय होटेलहरु आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment