Comments Add Comment

रौतहटमा जीबनजल र सिटामोलसमेत पाइन छाड्यो

No-Medicine

  • रौतहट सदरमुकाम गौरको एक औषधि पसल । औषधि सकिएर रित्तो देखिएको छ ।

गौतम श्रेष्ठ
१२ असोज, रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको अनिश्चितकालीन बन्दका कारण रौतहटमा अत्यावश्यक औषधिको अभाव भएको छ । बजारका औषधि पसलहरुमा अधिकांश अत्यावश्यक औषधिहरु छैनन् । सरकारी अस्पताल र स्वास्थ्य चौकीबाट निःशुल्क वितरण हुने जीबनजल र सिटामोलको हाहाकार भएको छ ।

संविधानमा असन्तुष्टि जनाउँदै मोर्चाले सुरु गरेको अनिश्चितकालीन तराई-मधेस बन्द ४६ औं दिनसम्म पुग्दा रौतहटको जनजीबन निकै कष्टकर बनेको छ । औषधि ल्याउन नसक्दा बच्चाहरुको अनिवार्य खोपका साथै सर्पदंश का लागि नभइ नहुने एण्टी भेनमसमेत अभाव भएको छ ।

उपचार सेवा प्रभावित

झाडापखालाका बिरामीहरुको लागि चाहिने मेट्रोन र जिंक चक्कीहरु समेत नभएपछि बिरामीहरुलाई रित्तै फर्काउनु परेको जिल्ला अस्पतालका आकस्मिक फाँटका चिकित्सक प्रविण झाले बताए । अस्पतालमा औषधि नभएपछि र बजारमा समेत पाइन छाडेपछि बिरामीको उपचार पनि प्रभावित भएको उनले बताए ।

शल्यक्रियाका लागि चाहिने लाइफ सेभिङ औषधिहरुको अभावमा जिल्ला अस्पतालमा बिरामीहरु अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

अधिकांश औषधिहरु भारतबाटै नेपाल आउने गर्दछन् । तर, पछिल्लो एक सातायता मधेसी मोर्चाले सीमा नाका बन्द गराउँदै आएकाले भारतबाट इन्धन, खाद्यान्न, औषधि समेत नेपाल भित्रिन सकेको छैन ।

ईन्धनमा कालोबजारी

Petrol-Sellor-at-Rautahat
सडक किनारमा पेट्रोल बेच्न बसेकाहरु

बन्दका कारण पेट्रोलीयम पदार्थको ढुवानी हुन नसक्दा रौतहटका सम्पूर्ण पेट्रोल पम्पहरु बन्द भइसकेका छन् । खाना पकाउने ग्यास पनि बजारमा सकिएको छ । बाराको अमलेखगञ्जदेखि रौतहटको गौरसम्मका पेट्रोल पम्पहरु बन्द छन् ।

पेट्रोल अभावको मौका छोप्दै केही व्यक्तिहरुले भने भारतीय बजारबाट ल्याएको इन्धन चर्को मूल्यमा बिक्री गरिरहेका छन् । प्रति लिटर ६० रुपैयाँ भन्दा बढी फाइदा लिँदै गौरबजारमा १ सय ७० रुपैयाँमा पेट्रोल बिक्री भइरहेको छ । राजमार्ग आसपासमा एक लिटर पेट्रोल दुई सय रुपैयाँमा बिक्री भैरहेको छ । पम्पहरुबाट पेट्रोल नपाएपछि उपभोक्ताहरु चर्को मूल्य तिरेर इन्धन किन्न बाध्य छन् ।

यसैगरी खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ सयदेखि ३ हजार रुपैयाँमा बिक्री भइरहेको छ । बजारमा तयारी खानेकुराका साथै चिसो पेय पदार्थको पनि अभाव छ ।

गौर भन्सारमा २४ सै घन्टा धर्ना

Gaur-Naka-ma-Dharna
गौर भन्सार नाका ठप्प पारेर धर्नामा बसेकाहरू

मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनले संयुक्तरुपमा मंगलबार छैटौं दिन पनि गौर भन्सार नाका ठप्प पारेका छन् । औरैयामा रहेको छोटी भन्सार नाका पनि मोर्चाका कार्यकर्ताहरुले बन्द गरेका छन् ।

मोर्चाको केन्द्रीय निर्णयअनुसार उनीहरुले नेपाल-भारत सीमामा पर्ने पुलमा बसेर सोमवारदेखि २४ सै घन्टा धर्ना दिन दिइरहेका छन् । नाकाबन्दको छैटौं र रिले अनसनको दोस्रो दिन आज निर्माण व्यवसायीहरु धर्नामा बसेका छन् ।

मोर्चा समर्थक निर्माण व्यवसायी तथा नेता कार्यकर्ताहरुले पुल मै बसेर विरोध प्रदर्शन गरेपछि सो क्षेत्रमा आवागमन प्रभावित बनेको छ । यस नाकाबाट प्राय तरकारी, खाद्यान्न, आलु, कपडा तथा उद्योगका लागि चाहिने कोइला व्यापारीहरुले भित्राउने गर्दछन् ।

सीमावर्ती बैरगनिया (भारतीय बजार)बाट नेपाली बजार गौरसम्म कुनै पनि सवारी साधन चलेका छैनन् ।

यसैगरी मोर्चाकै संयोजनमा औरैयामा रहेको छोटी भन्सार नाका पनि बन्द भएको छ । सो क्षेत्रमा रहेको मनमोहनद्वार अगाडि पनि मोर्चाका नेता कार्यकर्ता विगत ५ दिनदेखि रिले अनसनमा बसेका छन् ।

मोर्चाले शुरु गरेको आन्दोलनका कारण रौतहट को गरुडा भन्दा दक्षिणका सबै बजार झण्डै ७ सातादेखि बन्द हुँदा स्थानीयको दैनिकी पूर्णरुपले प्रभावित भएको छ । आन्दोलनका कारण यातायात, सरकारी कार्यालय, वित्तीय संस्था, शैक्षिक संस्था तथा व्यापार व्यवसायसमेत पूर्णरुपमा बन्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment