+
+
Shares

सेनालाई दिएपछि करिडोरको काम द्रुत

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते ११:४७

१४ असोज, बागलुङ । नेपाली सेनाले जिम्मा लिएपछि कालीगण्डकी करिडोरको बागलुङखण्डमा निर्माण द्रुत गतिमा अघि बढेको छ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजनाको बागलुङखण्डमा गत असार दोस्रो सातादेखि नेपाली सेनाले काम सुरु गरेको हो ।

१२ किमीको मालढुङ्गा-टाकुरीखण्डको ६० प्रतिशत काम पूरा भइसकेको नेपाली सेनाको कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलले जनाएको छ ।

यसअघि कालीगण्डकी करिडोरको आयोजना कार्यालयमार्फत समयमा काम हुन नसकेपछि सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो । असोजभित्रै मार्ग खोल्ने काम पूरा हुने कार्यदलका इन्जिनियर प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताउनुभयो । रु १५ करोड लागतमा सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको हो ।

सेनाले यसअघि गुल्मीको रिडीदेखि बागलुङको पालुङखोलासम्मको ४२ किमीको जिम्मा लिई मार्ग खोल्ने काम पूरा गरिसकेको छ ।

त्यस्तै, पालुङखोला-टाकुरी २१ किमी खण्डको निर्माण जिम्मा दिए आगामी वर्षभित्र गुल्मी-बागलुङ-जोमसोम गरी १६४ किमीमा सिधा यातायात चल्ने सेनाले जनाएको छ । बेनी-जोमसोमखण्ड सेनाले जिम्मा लिई २०६४ सालमै पूरा गरिसकेको छ । सेनाले कालीगण्डकी करिडोरअन्तर्गत रिडी-पालुङखोला-मालढुङ्गा ९७५० किमी सडकखण्डको निर्माण तथा विस्तारको जिम्मा लिएको छ ।

वर्षात्को समयमा अवरुद्ध बनेको रिडी-अर्बेनी-पालुङखोला खण्डको मर्मत सुधार गरी यातायात सञ्चालन गरिएको प्रमुख सेनानी भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?