+
+

दसैँमा बाघ कुरेरै रात बिताउनुपर्ने भूकम्पपीडितको बाध्यता

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते ९:३८

८ कात्तिक, सिन्धुपाल्चोक । राहतमा पाएको जस्ताले बनाएको साना टहरामा दुःख सुखले यस वर्षको दसैँ मनाउन बाध्य भएका छन्, भूकम्पबाट सबैभन्दा बढी पीडित सिन्धुपाल्चोकका ८० हजार घरपरिवार ।

CG Tahara Sindhupalchokगत वैशाख १२, १३ र २९ गतेका भूकम्प र त्यसपछिका परकम्पले जिल्लाका प्रायः सबै घर क्षति पुर्याएको थियो । अस्थायी टहरा बनाएर गुजारा गर्दै आएकाहरु वर्षा लगत्तै महान् चाड विजयादशमी आएकाले टहरामै जे जस्तो अवस्थामा छ त्यसरी नै दसैँ मनाउनुपरेको पीडितको गुनासो छ ।

६८ गाविस तथा मेलम्ची र चौतारा गरी दुईवटा नगरपालिका रहेको सिन्धुपाल्चोकमा भूकम्पले ८० हजार घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

“पूर्णरुपमा घर भत्किएका ८० हजार परिवारलाई प्रारम्भिक राहतस्वरुप रु १५ हजार बाँडिसकेका छौँ, केहीको निवेदनमाथि थप छानबिन भइरहेको छ” – प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले भने ।

भूकम्पपछिको पहिलो वर्षको दसैँमा पेट्रोलियम पदार्थको चरम अभाव हुँदा थप पीडा भोग्नुपरेको दुर्गम गाउँवासीको दुःखेसो छ ।

भूकम्पको क्षति, पूर्वाधारबिनाको नगरपालिकामा बसेर संविधान घोषणा भएको महिनादिनमा मनाइएको दसैँ इन्धन अभावले आफन्तकहाँ जानै नसकिने समस्याबाट गुज्रनुपरेको मेलम्ची क्षेत्रका स्थानीयवासीले गुनासो पोखे ।

काठमाडौँ नजिकैको यो आकर्षक गन्तव्यमा भूकम्पले पुर्याएको क्षतिका कारण आफन्त गुमेका घरपरिवारमा दसैँ मनाइएन । सय वर्षको अन्तरालमा आउने गरेको ठूलो भूकम्प वैशाख १२ गतेको ह्याङ अझै रहेकाले दसैँ खल्लो भएको नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष युवराज पुरी बताए ।

भूकम्पले मरेका आठ हजार ९०० मध्ये यस जिल्लामा मात्र तीन हजार ५६२ को ज्यान लिएको थियो । १५ हजार ७३ जना घाइते भएकामा गम्भीर घाइते अझै उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भूकम्पले घर नभएपछि यो वर्ष अधिकांश जिल्लावासीकहाँ रात बस्ने गरी टीका थाप्ने पाहुना आएनन् । आवासको पीडा बुझेका पाहुना टीका लगाएर फर्किएका थिए । सबैको समस्या उस्तै भएकाले पाहुनालाई रात बस्नेगरी जाँदा अप्ठ्यारो हुन्छ भन्ने मर्म बुझेर दसैँमा रात बस्ने पाहुना नआएको अनुभव चौताराका कमलचरण श्रेष्ठको छ ।

जिल्लाको मध्यपश्चिमी भेगस्थित नवलपुर गाविसमा भूकम्पले घर र गोठ भत्किएका स्थानीयवासीलाई बाघले दुःख दिएको गुनासो गरेका छन् । “दसैँको मुखमा टहरा बनाएर पालेको कुखुराको खोरमा बाघ आएपछि गोठालो लागेरै महान् चाड मनाउनुपर्ने अवस्था आएको छ” – स्थानीयवासी पुष्पराज खनालले भने ।

बाघको आक्रमणबाट भूकम्पले गोठ भत्किई टहरामा बाँधिराखेको गाईभैँसी र बाख्रा खान खोजेकाले गाउँवासी बाघ कुरेरै रात बिताउनुपर्ने बाध्यताबाट समेत पीडित हुनुपरेकाले यो वर्षको दसैँ थप खल्लो भएको स्थानीयवासीको गुनासो छ । बाघले केही गोठमा पसेर गाईका बाच्छा र बाख्रा खाएकाले भूकम्पको घाउमा खाटा बस्न नपाउँदै अरु पीडा सहनुपरेको यो भेगका गाउँलेले सुनाए ।

भूकम्पले थलिएका जिल्लावासी इन्धन अभावपछि सिर्जना भएको बजारमा सामान नपाउने र पाए पनि धान्न नसकिने भाउबाट पनि पीडित हुन बाध्य भएका छन् ।

इन्धन अभावले काठमाडौँ उपत्यका र आसपासका जिल्लामा जाने यात्रुलाई पनि यातायात पाउन समस्या भएको थियो । यात्रु छतमा र भित्र पनि कोचिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको दृश्य देखिन्थ्यो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?