Comments Add Comment

बजारमा चिनी किलोकै ८० रुपैयाँ, साल्ट ट्रेडिङ ६०मा बेच्दै

१८ कात्तिक, काठमाडौं । बजारमा चिनीको मूल्य अस्वभाविक रुपमा बढिरहेको छ । नाकाबन्दीका कारण भारतसँग निर्भर हुनुपर्ने हरेक खाद्य वस्तुको मूल्य उच्च भएका बेला नेपाल आत्मनिर्भर रहेको चिनीमा पनि मूल्य उच्च दरमा बढेको हो ।

chini-photoचिनी मंगलबार किलोको ७५ देखि ८० रुपैयाँससम्म बिक्री भइरहेको खुद्रा व्यपार संघले जनाएको छ । थोक विक्रेताले नै किलोको ७३ देखि ७५ रुपैयाँसम्म लिन थालेका छन् । अभावको कारण देखाएर उद्योगीदेखि थोक व्यपारीले चिनीका कालोबजारी सुरु गरेका छन् ।

महंगो ढुवानी भाडाका कारण खुद्रा ब्यापारीले प्रतिकिलो ७५ देखि ८० रुपैयाँसम्म लिनु परेको खुद्रा ब्यापार संघका उपाध्यक्ष रामकृण मानन्धरले बताए ।

‘एक साता अघिसम्म थोकमा चिनी किलोको ६६ रुपैयाँ थियो । अहिले ७३ रुपैयाँ पुगेको छ’ मानन्धरले भने-‘ चिनीको मूल्य अहिले दिनको २ रुपैयाँसम्म थोक मै बढ्न थालेको छ ।’

नेपालमा नै पर्याप्त चिनी रहेको भन्दै भारतबाट हुने आयात रोकिएपनि नेपालमै उत्पादित चिनीको मूल्य पनि उच्च भएको हो । नेपालका लागि आवश्यक चिनी यहाँ नै उत्पादन भएकाले चिनी उद्योग संघले भारतबाट चिनीको आयात रोक्न माग गरेको थियो ।

त्यसबेला उनीहरुले चिनीको मूल्य कुनैपनि हालतमा नबढ्ने बताएका थिए । तर, अहिले नाकाबन्दीपछि ढुवानीको समस्या देखाएर बजारमा चिनीको मूल्य बढ्दै गएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले भने आफ्ना डिपोहरुमा चिनी किलोको ६० रुपैयाँमै बिक्री भइरहेको जनाएको छ । आफुहरुसँग अझै १० हजार टन चिनी मौज्दात रहेको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment