Comments Add Comment

यसरी फेरिँदैछ प्रताप मल्लकालीन रानीपोखरीको मुहार !

Ranipokhari1

नविन अर्याल

२३ मंसिर, काठमाडौं । राजधानीको मुटुमा प्रताप मल्लका पालामा खनिएको ऐतिहासिक रानीपोखरीको मुहार अब परिवर्तन हुने भएको छ । रानीपोखरीलाई ‘म्युजिकल वाटर फाउन्टेन’ पार्कमा परिणत गरिने भएको छ ।

राजधानीमा घुम्न जाने महत्वपूर्ण ठाउँको अभाव हटाउन महानगरपालिकाले रानीपोखरीलाई पार्कमा परिणत गर्न लागेको छ । विदेशको झल्को मेटाउने गरी बनाउन लागिएको पार्क आगामी तिहारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजकहरु बताउँछन् ।

रानीपोखरीमा रंगीन ‘वाटर फाउन्टेन’ तयार भइसकेको छ । छेउमा बस्नका लागि पार्क निर्माण कार्य चाँडै सुरु हुने महानगरका पब्लिक वर्क कन्सट्रक्सन प्रमुख डा. उत्तरकुमार रेग्मीले अनलाइनखबरलाई बताए ।

‘पार्कको डिजाइन तयार भइसकेको छ, पुरातत्व विभागले स्वीकृति दिने वित्तिकै काम अगाडि बढिहाल्छ’ रेग्मीले अनलाइनखबरसँग भने- ‘एक महिनाभित्र टेन्डर आहृवान गरी कामको जिम्मा लगाउँछौं ।’

भिडियो

रानीपोखरीबाहेक राजधानीमा साँझमा घुम्न जाने पार्क अहिलेसम्म बनेको छैन । रानीपोखरी पार्कमा परिणत भएपछि उक्त अभाव हट्ने विश्वास गरिएको छ । रानीपोखरीलाई खासगरी साँझको गन्तव्यका रुपमा विकास गर्न लागिएको हो ।

रानीपोखरीमा रंगीन पानीका फोहोरा हेर्दै रमाउन पाइने छ । अहिले भइरहेको मन्दिरलाई नबिगारिने रेग्मीले बताए । बरु त्यसलाई बलियो बनाइनेछ । रानीपोखरी वरिपरि गार्डेन हुनेछ, घुम्नका लागि दुईवटा बाटा बनाइने छ । दुबै बाटोमा हिँड्दा डेढ किलोमिटर यात्रा गरिएको हुनेछ । एउटा छेउमा कफीसप हुनेछ ।

पार्कमा आकर्षक लाइट राखिने छ । चौबीसै घण्टा लाइनको व्यवस्था हुनेछ । रानी पोखरी पार्कमा परिणत भएपछि सर्वसाधारणका लागि खुल्ला गरिनेछ । अहिले तिहार र छठ बाहेकको समयमा रानीपोखरीमा प्रवेश गर्न पाइँदैन ।
पानीको फोहोरा मात्र होइन, पोखरी वरिपरिको भागसमेत विभिन्न कलरको लाइटले सजाइनेछ । जसले गर्दा पार्कमा आउने आफन्तलाई फलानो कलर भएको ठाउँमा आउनुस् भनेर सजिलै बोलाउन सकियोस् ।

‘अहिले रानीपोखरीमा कोही पनि छैनन् र कोही पनि जाँदैनन्’ रेग्मीले भने- ‘भोलि धेरै कुरा हुनेछ र सबैजना पुग्नेछन् ।’ १६७० सालमा प्रताप मलले आफ्नी रानीलाई पुत्रवियोग भुलाउन रानीपोखरी निर्माण गरिदिएका थिए ।

Ranipokhari4

अहिले राजधानी आउनेहरु जसरी पशुपति, स्वयम्भू भन्दै धाउँछन, त्यसरी नै रानी पोखरी पनि धाउने रेग्मीले बताए । स्वदेशीमात्र होइन, विदेशी पनि एउटा साँझ रानीपोखरीमा बिताएर फर्किनेछन् । पार्कमा परिणत भएपछि रानीपोखरीमा २/४ मज्जाले बिताउन सकिने उनको भनाइ छ ।

पार्क बनाउनका लागि १० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । यसअघि नै वाटर फाउन्टेन बनाउन ३ करोड रुपैयाँ खर्च भइसकेको छ । रंगीन पानीका फोहोरा फालिने हुँदा सञ्चालन लाग्न महंगो हुने अनुमान गरिएको छ । तर, रानीपोखरीबाट कम्तिमा पनि दैनिक एकलाख रुपैयाँ आम्दानी हुने रेग्मी बताउँछन् ।

पार्कमा १४/१५ सयजनाको क्षमता हुनेछ । मानिसको आउने जाने क्रम जारी रहने हुँदा दैनिक २ देखि ५ हजार जना रानीपोखरी पुग्ने अनुमान गरिएको छ ।Ranipokhari3

विस्तारै खुल्लामञ्चदेखि रानीपोखरीसम्म एकीकृत विकास गरी पार्क बनाउने लक्ष्य महानगरपालिकाको छ । खुल्लामञ्चमा कलरफुल टायल बिछ्याउने, जहाँ कार्यक्रम गर्न सकियोस् ।

‘मानिस २ घण्टा खुल्लामञ्चमा बिताओस्, त्यसपछि दुई घण्टा रत्नपार्कमा बिताओस्, साँझ भएपछि रानीपोखरीको वाटर फाउन्टेन हेर्न आओस्’ रेग्मीले अनलाइनखबसँग भने- ‘यसरी कम्तिमा ६ घण्टा भुलाउने गरी पार्क निर्माण गर्ने लक्ष्य रहेको छ ।’

रानीपोखरी पार्कलाई विस्तार गर्दै जाँदा भोलिका दिनमा महानगरीय प्रहरी कार्यालयलाई स्थानान्तर गर्नुपर्ने सम्भावना रहेको रेग्मीले बताए । विदेशमा मानिसलाई भुलाउन प्रशस्त मनोरञ्जन पार्क बनाउने गरेको उल्लेख गर्दै उनले बालाजु पार्कको पनि स्तरोन्नति गर्ने बताए ।

Ranipokhari-night

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment