Comments Add Comment

शौचालयमा आफ्नो फोटो टाँसिएकोमा युवतीको आपत्ति

२३ मंसिर, काठमाडौं । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल दलबलसहित सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्न पुगेका थिए । मन्त्रीसँगै अनलाइनखबरको टोली पनि पनि क्यामेरा बोकेर विमानस्थल पुगेको थियो ।

विमानस्थल निरीक्षणका क्रममा मन्त्री पोखरेल टर्मिनल भवनभित्र रहेको शौचालयमा प्रवेश गरे, जहाँ एकजना पुरुष र एकजना महिलाको फोटो सजाएर राखिएको थियो । महिला शौचालय र पुरुष शौचालयको जनाऊ दिनका लागि ती तस्वीर प्रयोग गरिएका थिए ।

Minister for Tourism and Civil Aviation Ananda Prasad Pokharel

दौरा सुरुवालमा सजिएका पुरुषको तस्वीर देखिन्छ भने महिला शौचालयको जनाऊ दिने तस्वीर नेपाली पोशाकमा सजिएकी कुनै मोडलको जस्तै थियो ।

मन्त्रीले शौचालय निरीक्षण गरिरहेको तस्वीर अनलाइनखबरले खिचेर प्रकाशित गर्‍यो । शौचालयमा टाँगिएका तस्वीरहरु कसैले मोडलिङ गरेको हुन सक्ने ठानिएकाले त्यसतर्फ नभई मन्त्री तर्फमात्रै क्यामेराको ध्यान गयो ।

तर, शौचालयमा टाँगिएका ती तस्वीरहरु विमानस्थल प्रशासनले सम्बन्धित व्यक्तिको अनुमति नलिई प्रयोग गरेको खुलासा भएको छ । आफ्नोे तस्वीर एयरपोर्टको सार्वजनिक ट्वाइलेटमा झुण्डाएको अनलाइनखबरबाट थाहा पाएपछि ती युवतीले विमानस्थल प्रशासनप्रति आपत्ति जनाएकी छिन् ।

उनले तत्कालै अनलाइनखबरमा सम्पर्क गरेर विमानस्थल प्रशासनले आफ्नो मानहानी गरेको भन्दै शौचालयबाट फोटो हटाउन आग्रह गरेकी छिन् ।

विमानस्थलले बिनाअनुमति शौचालयमा त्यो तस्वीर टाँगेको भन्दै ती युवतीले कास्कीको घान्द्रुकमा जागिर गर्दा आफूले दुर्इ वर्षअघि सो फोटो खिचेको बताएकी छिन् । ‘आफ्नो फेसबुक र ब्लगमा राखेको फोटो एक्कासी एयरपोर्टको ट्वाइलेटमा देख्दा अचम्म परेँ’ युवतीले प्रश्न गरिन् -‘मेरो फोटो कसरी एयरपोर्टको ट्वाइलेटमा पुग्यो ?’

‘मैले आफ्नो फोटो कसैलाई पनि दिएकी छैन, विमानस्थलले जानकारी नै नदिई फोटो ट्वाइलेटमा राखिदिँदा मर्माहित भएकी छु’ उनले अनलाइनखबरसँग भनिन्- ‘मैले खिचेको व्यक्तिगत फोटो सरकारले ट्वाइलेटमा कसरी राख्न पाउँछ ?’

उनले आफ्नो फोटो ट्वाइलेटबाट तत्कालै हटाउन आग्रह गरेकी छिन् ।

वौद्धिक सम्पत्ति चोर्न विमानस्थल सिपालु

त्यसो त विमानस्थलको ट्वाइलेटमा ती युवतीको मात्र होइन, अन्य स्थलहरुमा प्रयोग गरिएका तस्वीरहरु पनि अनाधिकृतरुपमा प्रयोग गरिएको पाइएको छ ।

कसैले खिचेको फोटो अनुमति बेगर प्रयोग गरेमा ‘बौद्धिक सम्पत्ती अधिकार’ हनन भएको ठहरिन्छ । त्यसमाथि सरकारी निकायले नै यसरी हेलचेक्र्याईं गरिदिनु गलत भएको फोटोग्राफरहरु बताउँछन् ।

यतिमात्र होइन, फोटो पत्रकार नविन गुरुङले खिचेका तस्वीर पनि विमानस्थलमा नसोधी राखिएको छ । यस विषयमा विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायलाई जिज्ञासा राख्दा उनले गुगलबाट झिकेर राखेको बताए ।

विमानस्थलमा राखिएका धेरै तस्वीरहरु गुगलमा सर्च गरेर झिकिएको उनले बताए । ‘म प्रमुख भएर नआउँदै फोटो राखिएको थियो, विमानस्थल प्रशासनले गुगलबाट झिकेर राखेको हो’ महाप्रबन्धक उपाध्यायले अनलाइनखबरसँग भने- ‘यस विषयमा मलाई धेरै थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment