+
+

एमाओवादीका सबै मन्त्रीलाई पेरिसडाँडा आउन प्रचण्डको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १८:०४

Prachanda

२७ मंसिर, काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो दलका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई सोमबार पार्टी मुख्यालयमा अनिवार्य रुपमा हाजिर हुन निर्देशन दिएका छन् ।

भूकम्प पीडितको कोटामा गृहमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नी छोरी र प्रचण्डकी नातिनीलगायतलाई चीन भ्रमणमा पठाएको विषयमा सोमबार केन्द्रीय समितिमा छलफल हुने भएकाले प्रचण्डले सबै मन्त्रीलाई पेरिस डाँडामा हाजिर हुन निर्देशन दिएका हुन् ।

‘भोलि सबै मन्त्रीहरु र स्थायी समितिका सदस्यहरु अनिवार्यरुपमा बैठकमा आउनुहोला,’ प्रचण्डले आइतबारको बैठकमा निर्देशन दिँदै भने- ‘भोलि सरकारको काम प्राथमिक होइन, अब पार्टीको बैठक एक्सन ओरियन्टेड छलफलमा अघि बढ्छ ।’

गृहमन्त्री बस्नेतबारे ध्यानाकर्षण

एमाओवादी केन्द्रीय समितिको सोमबारको बैठकमा प्रचण्ड केही ढिलो पुगेका थिए । प्रचण्ड नआउञ्जेल उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकको अध्यक्षता गरिरहेका थिए । बैठकको कार्यसूची अनुसार केन्द्रीय सदस्यहरुले समय मागेर बोल्ने क्रम चलिरहेको थियो ।

यसैवीच प्रचण्ड बैठकस्थलमा प्रवेश गरेपछि केन्द्रीय सदस्य हेमराज भण्डारीले हात उठाएर बोल्न पाउनुपर्ने माग गरे । पहिल्यै बैठकमा बोलिसकेका र १५ पृष्ठको फरक मतसमेत राखिसकेका भण्डारीलाई रोकेर प्रचण्डले पछि बोल्ने पालो आउँछ भन्दै बस्न आग्रह गरे ।

‘मैले बोल्न भन्दा पनि बैठकको ध्यानाकर्षण मात्रै गराउन खोजेको हुँ,’ प्रचण्डले बस्न भन्दाभन्दै भण्डारीले बैठकमा भने- ‘गृहमन्त्रीले भूकम्पपीडितको कोटामा नातेदारलाई चीन पठाएको विषयमा पार्टीको धारणा के हो ? यसलाई केन्द्रीय समितिले विशेष प्रस्ताव बनाउनुपर्छ र आजै यसबारे छलफल हुनुपर्छ । पार्टीलाई रुपान्तरण गर्ने भन्ने अनि रुपान्तरण यही हो ?’

भण्डारीले कडा रुपमा बोलिसक्नासाथ अर्का केन्द्रीय सदस्य श्रीप्रसाद जबेगूले उठेर भने- ‘तलबाट हामीलाई यही विषयमा प्रश्न सोधिँदैछ, सरकारमा बस्नेहरुले गडबडी गर्ने अनि हामीले कार्यकर्ता र जनतालाई के जवाफ दिने ? गृहमन्त्रीले गरेको यो कार्यबारे केन्द्रीय समितिमा छलफल हुनैपर्छ ।’

भण्डारीले बोलिसक्ना साथ गृहमन्त्री बस्नेत बैठकस्थलमा प्रवेश गरेका थिए ।

बैठकमा नेताहरुले प्रश्न उठाएपछि प्रचण्डले ‘चाइना प्रकरण’को विषयले एजेण्डाका रुपमा प्रवेश पाएको जानकारी बैठकलाई गराउँदै सोमबार यसबारे छलफल हुने बताए ।

‘गृहमन्त्रीले गरेको अनुचित कार्यले केन्द्रीय समितिमा औपचारिक रुपमा प्रवेश पाएको छ,’ बैठकपछि स्थायी समिति सदस्य गोपाल किरातीले अनलाइनखबरसँग भने- ‘अध्यक्षले भनिसक्नुभएको छ, अब भोलि यसबारे गम्भीर छलफल हुन्छ ।’

शनिबार बिहान बसेको स्थायी कमिटी बैठकमा नेता किरातीले गृहमन्त्री बस्नेतलाई पार्टीले गृहमन्त्रालयबाट फिर्ता बोलाउनु पर्ने माग राखिसकेका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा राजकाजी गुरुङले पनि गृहमन्त्रीको कदमको विरोध गरेका थिए ।

अघिल्लो सातादेखि जारी एमाओवादीको बैठकमा केन्द्रीय सदस्यहरुले प्रचण्डको प्रस्तावमाथि टिप्पणी गर्ने क्रम सोमबार सकिँदैछ ।

यो पनि पढ्नुहोस्

एमाओवादी बैठकमा गृहमन्त्री शक्ति बस्नेतलाई फिर्ता बोलाउन माग

प्रचण्डलाई सिध्याउने ‘लिनप्याओवादी’ षड्यन्त्रमा गृहमन्त्री लागेको आरोप

चीन जाने नेताका छोरी नातिनी पनि भूकम्प प्रभावित नै हुन्ः गृहमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?