+
+

सशस्त्र प्रहरी प्रमुख कोषराजको कामः ढुवानीदेखि हुण्डीसम्म !

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २ गते २३:४१

Koshraj-Wanta

२ पुस, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनका लागि सरकारसमक्ष सिफारिस गरेको छ । वन्तले भ्रष्टाचार गरेर सम्पत्ति विदेश पठाउने गरेको अख्तियारको उजुरीमा उल्लेख छ ।

महानिरीक्षक वन्त उनै व्यक्ति हुन्, जसले भ्रष्टाचार गरेको सम्पत्ति हुण्डी गरेर अष्ट्रेलिया पठाउने गरेको उजुरी गत वर्ष नै अख्तियारमा दर्ता भएको थियो । तर, आफूविरुद्ध परेको उजुरीको फाइल दुईपटकसम्म अख्तियारबाट फिर्ता गराउन वन्त सफल हुँदै आएका थिए ।

स्रोतका अनुसार ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा महानिरीक्षक वन्तको लगानी छ । अख्तियारमा गत वर्ष नै परेको उजुरीमा दाबी गरिएअनुसार आफन्तका नाममा वन्तले त्यहाँ गरेको लगानीको रहस्य भ्रष्टाचारसँगै जोडिएको छ ।

शसस्त्र प्रहरीको सामान खरिद र ढुवानीमा वन्तले भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । सोही पैसा उनले किष्टमा लगानी गरेको बताइएको छ ।

अख्तियार सूत्रका अनुसार वन्तले नेपालमा भ्रष्टाचार गरेर कमाएको सम्पत्ति अष्ट्रेलियामा रहेकी आफ्नी भाउजूका नाममा पठाउने गरेका थिए । सोही पैसा भाउजूले उताबाट हुण्डी गरेर नेपाल पठाउने गरेकी छिन् ।

आफैले अनुचित कार्य गरेर अष्ट्रेलिया पठाएको पैसा हुण्डीमार्फत आएको ‘भाउजूको कमाइ’ भन्दै किष्ट मेडिकल कलेजमा वन्तले लगानी गरेको उजुरी अख्तियारमा परेको हो ।

यद्यपि गत वर्ष अख्तियारमा परेको वन्तविरुद्धको उजुरी प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अगाडि नबढाई थन्क्याएर राखेका थिए । वन्त र लोकमानसिंहवीच राम्रो सम्बन्ध रहेकाले उनी विरुद्धको फाइल अगाडि नबढाइएको आरोप लाग्दै आइरहेको थियो ।

रोचक त के छ भने वन्तले हुण्डीबाट ल्याएको पैसा लगानी गरेको भनिएको किष्ट मेडिकल कलेजमा लोकमानसिंह कार्कीका सहोदर भाइ बालमानसिंह कार्कीको समेत लगानी छ । प्रोफेसर डा. वालमानसिंह किष्टका प्रिन्सिपल छन् ।

किष्ट कलेजमा वन्तको पैसा लगानी भएको भन्दै अख्तियारमा परेको उजुरी लामो समय थन्किए पनि पछिल्लो समयमा अख्तियार प्रमुख कार्कीकै पहलमा वन्तलाई निलम्बनको कारवाही सिफारिस भएको छ ।

यद्यपि वन्तलाई गरिएको निलम्बनको सिफारिसमा किष्ट मेडिकल कलेजमा वन्तको लगानीका सम्बन्धमा भने अख्तियारले विज्ञप्तिमा केही पनि खुलाएको छैन । यसमा किष्ट कलेजको नाम लिँदा लोकमानका भाइको समेत नाम जोडिन सक्थ्यो ।

सशस्त्र प्रहरीको सामान खरिदमा वन्तले गरेको भ्रष्टाचार र सोबाट कमाएको सम्पत्ति कहाँ लगानी गरिएको छ भन्ने अख्तियारले थप अनुसन्धान गरिरहेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?