+
+

प्रचण्डले अब ‘माओवाद’को साइनबोर्ड किन झण्ड्याउने ?

आजभन्दा ठीक १२२ वर्षअघि २६ डिसेम्बर सन् १८९३ मा चीनको हुनान प्रान्तमा विश्वका महान् नेता माओको जन्म भएको थियो । चीनमा कम्युनिस्ट पार्टी स्थापना (सन् १९२१) हुँदा पार्टी निर्माणको संस्थापक सदस्य भएपनि माओलाई मुख्य नेतृत्वमा पुग्न भने १४ वर्ष लाग्यो । सन् १९३५ बाट नेतृत्वमा आउनुभएका माओ सन् १९७६ सम्म आइपुग्दा ४१ वर्ष लामो समय मुख्य नेतृत्वको जिम्मेबारीमा रहनु भयो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते ११:३७

सुदर्शन मंगोल

आजभन्दा ठीक १२२ वर्षअघि २६ डिसेम्बर सन् १८९३ मा चीनको हुनान प्रान्तमा विश्वका महान् नेता माओको जन्म भएको थियो । चीनमा कम्युनिस्ट पार्टी स्थापना (सन् १९२१) हुँदा पार्टी निर्माणको संस्थापक सदस्य भएपनि माओलाई मुख्य नेतृत्वमा पुग्न भने १४ वर्ष लाग्यो । सन् १९३५ बाट नेतृत्वमा आउनुभएका माओ सन् १९७६ सम्म आइपुग्दा ४१ वर्ष लामो समय मुख्य नेतृत्वको जिम्मेबारीमा रहनु भयो ।

सुदर्शन मंगोल
सुदर्शन मंगोल

सारमा माओ को हुनुहुन्थ्यो ? कसरी माओ महान् बन्नुभयो ? आजको दुनियाँमा माओको सान्दर्भिकता के छ ? विश्वका कम्युनिस्टहरुले माओलाई कसरी सम्झन्छन् ? आजको युगमा माओवादको सान्दर्भिकता के छ ? अनि नेपालका माओवादीहरुले माओलाई कसरी स्मरण गर्छन् ? माओको १२३ औं जन्मजयन्तीको अवसरमा यसबारे थोरै चर्चा गरिनेछ ।

माओ यसकारण महान्

४१ वर्षको समयमा माओले आफ्नै नेतृत्वमा तीनवटा महान् क्रान्तिको नेतृत्व गर्नु भयो । पहिलो सन् १९४९ मा सम्पन्न नयाँ (पुँजीवादी)जनवादी क्रान्ति । दोस्रो सन् १९५६ को आठौं महाधिवेशनबाट प्रस्तुत गरिएको समाजवादी क्रान्तिको कार्यक्रम । यद्देपि सो महाधिवेशनबाट ल्यू शाओचीको पुँजीवादी कार्यदिशा पारित हुन पुग्यो । तेस्रो सन् १९६६ देखि सुरु गरिएको महान् सर्वहारा सांस्कृतिक क्रान्ति । यी तीनवटै क्रान्तिको नेतृत्व स्वंयम माओ आफैले गर्नु भयो । यी तीन क्रान्तिमध्ये पछिल्लो सर्वहारा सांस्कृतिक क्रान्तिको पूरा काम नसकिदै सन् १९७६ मा माओको निधनले विश्व सर्वहारा क्रान्तिमा ठूलोे धक्का आइलाग्यो ।

ती तीन क्रान्तिमध्ये सबैभन्दा ठूलो र विराट क्रान्ति महान् सर्वहारा सांस्कृतिक क्रान्ति थियो । यो सन् १९६६ देखि १९७६ सम्म संचालन गरिएको थियो । यो क्रान्ति चीनमा २० वर्ष लामो बन्दुकको लडाइँभन्दा संसारलाई थर्काउने ठूलो उथलपुथलकारी क्रान्ति थियो । यही सांस्कृतिक क्रान्ति कालान्तारमा आएर विश्व सर्वहारा क्रान्तिको विज्ञानमा तेस्रो कोसेढुँगा बन्न पुग्यो । जुन क्रान्तिले माओवादको विकासमा ठूलो भुमिका खेल्न पुग्यो ।

वास्तवमा विश्व सर्वहारा क्रान्तिमा तीन कोसेढुंगामध्ये पहिलो कोसेढुँगा पेरिस कम्युन थियो । सन् १८७१ मा पहिलोपटक सर्वहारा वर्गले बलप्रयोगद्धारा गरिएको पहिलो क्रान्ति थियो । यसले माक्र्सवादको विकासमा ठूलोे भूमिका पूरा गर्‍यो । दोस्रो कोसेढुंगा थियो, रुसमा लेनिनको नेतृत्वमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्ति । यस क्रान्तिले लेनिनवादको निर्माणमा अर्को ठूलो भूमिका पुरा गर्‍यो । तर विश्व सर्वहारा क्रान्तिका ती तीन कोसेढुंगाबाहेक माओपछि कसैले पनि कोसेढुंगामा थप विकास गर्न सकिरहेको छैन ।

महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाहेक माओले सन् १९४९ मा सम्पन्न गरेको नयाँ जनवादी क्रान्तिको कार्यभार पनि कम चानचुने छैन । त्यो नयाँ जनवादी क्रान्ति माओले चीनजस्तो अर्धऔपनिवेशिक तथा अर्धसामन्ती मुलुकमा रुसभन्दा मौलिक ढंगले क्रान्ति गर्दा सफल हुन सकेको हो ।

पेरिस कम्युनभन्दा अक्टोबर क्रान्ति नितान्त नयाँ र मौलिक थियो । रुस औद्योगिक पुँजीवादी मुलुक थियो भने चीन पिछडिएको कृषिप्रधान मुलुक । अर्कोतिर चीन थप जापानी साम्राज्यवादी मुलुकद्धारा उपनिवेशमा परेको मुलुक थियो । यस्तो मुलुकमा सर्वहारा क्रान्ति कसरी गर्ने भन्ने सवालमा माओको रुसी कम्युनिस्ट पार्टीका नेता र रुसबाट प्रशिक्षित भएर आएका चिनियाँ कम्युनिस्टहरुसँग लामो अन्तरसंघर्ष चल्यो । जुन संघर्षमा अन्तिममा माओको जीत भएरै छाड्यो ।

रुसको क्रान्तिभन्दा चीनको क्रान्ति नयाँ र मौलिक हुन्छ भन्ने माओ र रुसको जस्तै मोडेलबाट चीनमा पनि त्यही मोडेलको क्रान्ति हुन्छ भन्ने लिलिशान, वाङमिङ र छुछुपाईहरु सँगको लडाइँमा माओ आफ्नो मौलिक लाइनमा अडिग रहनु भयो । जसका कारण चीनमा माओको लाइनबाट क्रान्ति सम्पन्न हुन पुग्यो ।

माओबाट के सिक्ने ?

माओबाट धेरै कुराहरु सिक्नुपर्छ नेपाल र विश्वभरका कम्युनिस्टरुत्ले । खासगरी माओवादीहरुले । वास्तवमा सन् १९७६ मा माओको निधनपछि विश्वमा कतैपनि सर्वहारा क्रान्तिहरु सफल हुन सकेका छैनन् । किनभन्दा माओले माक्र्सवाद र लेनिनवादमा टेकेर मौलिक र सिर्जनात्मक ढंगले क्रान्तिको नेतृत्व गर्नु भयो ।

आजका विश्वभरिका माओवादीहरुले सिक्ने कुरा त्यही मौलिक क्रान्ति नै हो । किनभने माओको निधनपछि बर्मा, मलाया, फिलिपिन्स र पेरुमा संचालन गरिएका जनयुद्धहरु कतैपनि सफल नहुनु बरु धक्का खान पुग्नुले आजको बदलिएको विश्वमा बदलिएको विश्व परिस्थितिअनुरुप नयाँ राजनीतिक तथा फौजी रणनीतिको विकासमा क्रान्तिकारीहरुले थप विकास गर्नु पर्नेछ । यसो नगरिकन क्रान्तिकारीहरुले प्रतिक्रियावादीमाथि विजय हासिल गर्न सक्ने छैनन् ।

प्रचण्ड खलनायक भए, बाबुराम भागे

आज नेपालमा पहिलो क्रान्तिको नेतृत्व गरेका प्रचण्ड, बाबुराम र किरणहरु क्रान्ति सम्पन्न नहुँदै बीच बाटोबाट पछि हट्न पुगे । प्रचण्ड र बाबुरामले त झन् नयाँ ढंगले क्रान्ति गर्ने नाममा जनयुद्धका सबै उपलब्धिलाई योजनाबद्ध रुपमा समाप्त पारेरै छाडे 

आज नेपालमा दश वर्षे जनयुद्धले शान्तिप्रक्रियामा आएपछि व्यहोरेको धक्काबाट क्रान्तिकारी माओवादीहरुले नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा नयाँ क्रान्ति गर्न गइरहेका छन् । एकीकृत जनक्रान्तिको मोडेल रुस र चिनियाँ क्रान्तिका आधारभुत विशेषताहरुलाई आत्मसात् गर्दै नेपाली मौलिकतामा नयाँ ढंगबाट अघि बढ्न खोजिएको कार्यदिशा हो ।

यो नेपाली परिवेशमा मौलिक छ । किनभने हरेक क्रान्तिको पुनरावृत्ति हँुदैन, विकास हुन्छ भनेजस्तै अबको नेपाली क्रान्तिको मोडल पनि आजको बदलिएको विश्व र बदलिएको नेपाली समाजअनुरुप मौलिक र नयाँ हुनैपर्छ । अहिले विप्लव माओवादीले गर्न खोजेकै भनेकै त्यही मौलिक र नयाँ हो । जुन माक्र्सवाद-लेनिनवाद-माओवादमा टेकेर अघि बढ्न खोजिएको छ । यसलाई नेपाली समाजमा प्रयोग गरिँदैछ । यसलाई थप विकास गर्ने काम त बाँकी नै छ ।

विश्वका अरु धेरै नेताहरुले आफ्नो जीवनकालमा एकै खालको क्रान्तिको मात्र नेतृत्व गरेका छन् । तर माओले आफनो राजनीतिक कालमा तीनवटा क्रान्तिको नेतृत्व गर्नु भनेको कम चानचुने कुरा होइन ।

आज नेपालमा पहिलो क्रान्तिको नेतृत्व गरेका प्रचण्ड, बाबुराम र किरणहरु क्रान्ति सम्पन्न नहुँदै बीच बाटोबाट पछि हट्न पुगे । प्रचण्ड र बाबुरामले त झन् नयाँ ढंगले क्रान्ति गर्ने नाममा जनयुद्धका सबै उपलब्धिलाई योजनाबद्ध रुपमा समाप्त पारेरै छाडे । जनयुद्धका मुख्य पुँजी जनसत्ता, आधारइलाका र विशाल जनमुक्ति सेना सबै ती दुई नेतृत्वको एकल ठाडो निर्देशनमा विघटन गरियो ।

माओजस्ता महान् नेताको नामबाट माओवादी साइनबोर्ड झुन्डाइरहेका प्रचण्डहरु इतिहासमा खलनायक बन्न पुगेका छन् । बाबुराम त झन् माओवादको कित्ताबाट धेरै टाढा भागेका छन् । यो भनेको माओको क्रान्तिकारी सिद्धान्तलाई परित्याग गर्दाको परिणाम हो । खासमा माओवादलाई दह्रो गरी समात्न नसक्नु र आत्मसात् गर्न नसक्नुको परिणाम हो ।

माओ र माओवादबारे

माथि थोरै चर्चा गरेजस्तै माओले विश्व सर्वहारा क्रान्तिको विज्ञानमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आरम्भ गरेर उहाँले सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको आव्हान र नेतृत्व गर्नु भयो । सांस्कृतिक क्रान्तिको मूल मर्म भनेको निरन्तर क्रान्तिको सिद्धान्त हो । त्यही निरन्तर क्रान्तिको प्रर्वतक भनेकै माओ हो । जुन सिद्धान्त विश्व सर्वहारावर्गको चम्किलो हतियार बन्न पुग्यो । त्यो हतियार पछि माओवादको रुपमा विकास हुन पुग्यो ।

माओले माक्र्सवादका तीन संघटक अगंहरु दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा एकैचोटी विकास गरेर माक्र्सवाद-लेनिनवादलाई समृद्ध र विकास गर्नु भयो ।

आफ्नो राजनीतिक जीवनकालमा माओले धेरै सिद्धान्तको विकास गर्नुभयो । त्यसमा मुख्यगरी सन् १९३८ मा प्रतिपादन गरिएको दीर्घकालीन जनयुद्धको सिद्धान्त । सन् १९४० मा प्रतिपादन गरेको नयाँ जनवादी क्रान्तिको सिद्धान्त । यी लगायत दर्शनको क्षेत्रमा अन्तरविरोधबारे । राजनीतिक अर्थशास्त्रमा अर्धऔपनिवेशिक तथा अर्धसामन्ती समाजको आर्थिक विश्लेषण । अनि सबैभन्दा धेरै र सार्वभौम विचारको विकास माओले वैज्ञानिक समाजवादको क्षेत्रमा गर्नुभयो ।

नेपालको सन्दर्भमा नेकपा माओवादीद्वारा विकास गरिएको एकीकृत जनक्रान्ति माओले प्रतिपादन गरेको दीर्घकालीन जनयुद्धकै अर्को नयाँ विकसित विचार हो

जनयुद्धको सिद्धान्त, नौलो जनवादको सिद्धान्त र मुख्यगरी महान् सर्वहारा सांस्कृतिक क्रान्तिअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त नै माओले वैज्ञानिक समाजवादको क्षेत्रमा गरेको सबैभन्दा मूल्यवान सिद्धान्त हुन् । यी मुख्य विचारले माओवादको विकासमा महत्वपूर्ण भुमिका खेल्यो ।

आजको दुनियाँमा माओ र माओवादलाई आत्मसात् नगरी कोही पनि सच्चा कम्युनिस्ट हुन सक्दैन । माओवादी त झन्
बन्नै सक्दैन । मार्क्स, लेनिन र माओ विश्व सर्वहारा क्रान्तिको विज्ञानमा सर्वाधिक योगदान गर्ने मुख्य कर्ताहरु हुनुहुन्छ । त्यसबाहेक माक्र्सका सहयोद्धा एंगेल्स, लेनिनका सहकर्मी स्टालिन र माओका अन्य चिनियाँ सहकर्मीहरु पनि विश्व सर्वहारा क्रान्तिको विज्ञानमा कोसेढुंगा थप्ने हकदारहरु हुनुहुन्छ । तर, माक्र्स, लेनिन र माओ नै सबैभन्दा तीन कासेढुंगा निर्माणमा मुख्य हकदार हुनुहुन्छ । ती तीन महान् नेताको नामबाट माक्र्सवाद-लेनिनवाद-माओवाद रहन पुग्यो ।

आजको दुनियाँ र युगमा माओ र माओवाद बिना आजको पुँजीवाद र संशोधनवादसँग लड्न सकिँदैन । माओवाद नै त्यस्तो बलियो वैचारिक अस्त्र हो कि त्योबिना सर्वहारा क्रान्ति गर्छु भन्नु एउटा निशस्त्र मान्छेले आधुनिक हतियारबद्ध मान्छेसँग लड्छु भनेजस्तै हो । जुन स्वरैआना असंभव छ ।

र अन्त्यमा…

सन् १९७६ मा माओको निधन भयो । ९० को दशकमा सोभियत कम्युनिस्ट सत्ताको विघटनसँगै विश्वबाट साम्यवाद असफल भयो भनेर हौंसिएका पुँजीवादीहरु पेरुमा ८० को दशकको मध्यतिरबाट सञ्चालन गरिएको सर्वहारा क्रान्तिबाट त्रसित बन्न पुगे । त्यो क्रान्तिले पनि ९० को दशकको मध्यतिर धक्का खान पुग्दा पुँजीवादीहरु पुनः हौंसिन पुगे । तर, त्यही दशकको अन्त्यतिर सन् १९९६ (वि.सं २०५२) मा नेपालबाट सुरु भएको सर्वहारा क्रान्तिबाट विश्वभरिका श्रमजीविहरुलाई नयाँ उत्साह पैदा गरिदियो ।

नेपालको क्रान्ति आफ्नो मौलिकतासहित जीतको संघारमा पुगेको थियो । तर त्यो जीतनजिक पुगेको क्रान्तिलाई त्यही क्रान्तिको नेतृत्व गरिरहेका प्रचण्ड र बाबुरामले नै हत्या गर्दाको परिणाम आज नेपालको माओवादी आन्दोलनले सेटब्याक खान पुगेको छ ।

यस्तोबेला क्रान्तिकारी माओवादी आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउने जिम्मेबारी क्रान्तिकारी नेता नेत्रविक्रम चन्द ‘विप्लव’को काँधमा आएको छ । आज नेपालमा माओ र माओवादको वास्तविक हकदार विप्लव माओवादी मात्र हो । किनकि अरु सबै माओवादीहरु संसद्वादमा फर्किसके या फर्किदैछन् ।

नेपालको सन्दर्भमा नेकपा माओवादीद्वारा विकास गरिएको एकीकृत जनक्रान्ति माओले प्रतिपादन गरेको दीर्घकालीन जनयुद्धकै अर्को नयाँ विकसित विचार हो । यो एकीकृत जनक्रान्ति लेनिनको शहरी विद्रोह र माओको दीर्घकालीन जनयुद्धमा टेकेर विकास गर्न खोजिएको नितान्त मौलिक र नयाँ मोडेल हो । यो मोडल विकासको प्रक्रियामा छ । यही मोडलबाट नेपालमा क्रान्ति गर्न सकिनेछ ।

सारमा माओ र माओवादलाई स्मरण गर्नुको अर्थ माओका क्रान्तिकारी सिद्धान्तलाई आफ्नो मौलिकता र व्यवहारमा प्रयोग गर्नु हो ।

(लेखक विप्लव नेतृत्वको नेकपा माओवादीका युवा नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?