+
+
Shares

भुसको आगोझैं धुँवाउन थाल्यो थारु आन्दोलन !

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २१ गते १०:१६

Tikapur-Kailali-3

२१ पुस, काठमाडौं । हिजोआज धेरैको ध्यान मधेसतिर छ । सरकार र दलहरु पनि मधेसी मोर्चासँग वार्ता र सम्वाद गरिरहेको छ । पश्चिम तराईमा थारुहरुले गर्दै आएको आन्दोलन चाहिँ अहिले सबैले बिर्सिएजस्तै भएको छ ।

आन्दोलनका अगुवामध्येका एकजना रामजनम चौधरी नै स्वाथ्यमन्त्री भएपछि थारुहरुको आन्दोलन सकियो भन्ने धेरैले ठानेका छन् । तर, कैलालीलगायतका थारु बाहुल्य क्षेत्रमा पुगेर आउनेहरु भने त्यहाँको अवस्था काठमाडौंले सोचेजस्तो नभएको बताउँछन् ।

राज्यप्रति चरम आक्रोश

भदौ ७ गते टीकापुरमा थारु आन्दोलनकै क्रममा नेपाल प्रहरीका एसएसपीसहित आठ सुरक्षाकर्मी र डेढ वर्षका बालकसमेत मारिए । यो घटनामा थारु आन्दोलनप्रति काठमाडौं र राज्यको दृष्टिकोण खासै सकारात्मक बनेन ।

थारु अगुवामध्ये ५३ जनाविरुद्ध वतन खुलेको र ५४ जनाविरुद्ध बतन नखुलेको मुद्दा चलाइएको छ । अहिले पनि बेलाबेलामा थारु वस्तीमा प्रहरीहरु जान्छन् र फरार भएका नेता कार्यकर्ताको खोजी गर्छन्

हिंसाका बाबजुद आन्दोलन राजनीतिक प्रकृतिको भएकाले राज्यले केहीपटक वार्ता त गर्‍यो । तर, टीकापुर घटनालाई लिएर थुप्रै थारु नेताहरुमाथि अहिले पनि मुद्दा चलिरहेको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चौलागाईका अनुसार अहिलेसम्म २२ जना पक्राउ परेका छन् । उनीहरुमध्ये दुई जना १४ वर्षभन्दा मुनिका बच्चा भएकाले पोखरास्थित सुधार गृहमा पठाइएको छ । अन्यको हकमा वारेन्ट जारी गरिएको छ ।

थारु अगुवामध्ये ५३ जनाविरुद्ध वतन खुलेको र ५४ जनाविरुद्ध बतन नखुेलेको मुद्दा चलाइएको छ । अहिले पनि बेलाबेलामा थारु वस्तीमा प्रहरीहरु जान्छन् र फरार भएका नेता कार्यकर्ताको खोजी गर्छन् । यसले गर्दा थारु समुदायमा त्रास कायमै छ ।

प्रजिअ चौलागाईले भने-‘राज्यले कसैलाई पनि काखा र पाखा गर्दैन । भयरहित सुरक्षा हुनुपर्छ भनेर काम गरिरहेका छौं । ठूलो घटना भएपछि पुरिन केहीसमय त लाग्छ नै ।’

टीकापुर घटनाका क्रममा थुप्रै थारु समुदायको घर तथा पसल जल्यो । उनीहरुले प्रहरीमा किटानी जाहेरी पनि थिए । तर, प्रहरीे बयान दिन बोलाउँदा कोही आएनन् ।

स्थानीय प्रशासनका अनुसार थारु समुदायले हुलाकमार्फत उजुरी दिएका थिए । प्रजिअ चौलागाईका अनुसार भदौ १४ गते गठन भएको एउटा समितिले क्षतिपूर्तिबारे प्रारम्भिक रिपोर्ट बुझाएको छ । तर, त्यसमा थारु समुदायले चित्त बुझाएका छैनन । उनले भने-‘रिपोर्ट रियल भएन, विभेद भयो भनेर गुनासो आएपछि के रहेछ भनेर फेरि हेर्ने र पीडितलाई नै भेट्ने योजना बनाएको छु ।’

अहिले पनि थारु समुदायका थुप्रै युवाहरु घरमा छैनन्, भारत पलायन भएका छन् । यतिसम्म कि मानिसहरु टीकापुर बजारमा सामान किन्न आउन समेत डराउँछन्

अहिले पनि थारु समुदायका थुप्रै युवाहरु घरमा छैनन्, भारत पलायन भएका छन् । यतिसम्म कि मानिसहरु टीकापुर बजारमा सामान किन्न आउन समेत डराउँछन् र सीमा पारी भारततिर जाने गरेको भेटिएको छ ।

यसले थारु समुदायमा राज्य हाम्रो हुन सकेन भन्ने आक्रोस बढाएको छ । हालै टीकापुर पुगेका आएका एक नेताले भने, अहिले पनि स्थिति निकै जटिल छ । कुनै पनि बेला विस्फोट हुनसक्छ ।

उनका अनुसार झट्ट हेर्दा आन्दोलन सुस्ताएको देखिन्छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसहित थुप्रै नेताहरु कैलालीका विभिन्न ठाउँमा पुगे र भाषण गरे ।

एमालेका अधिकांश थारु नेताहरु प्रधानमन्त्रीसँगै मञ्चमा उभिएर नयाँ संविधानकै पक्षमा बोले पनि । एमालेको कार्यक्रममा हजारौं थारु समुदायको उपस्थितिले कांग्रेस र एमालेजनमा ठूलै उत्साह समेत ल्यायो ।

ढोकामा चुक्कुल लगाएर मात्र कुरा गर्छन्

अहिले थारु बाहुल्य क्षेत्रको अवस्था भित्रभित्रै जलिरहेको भुसको आगो जस्तै भइसकेको छ । अहिलेसम्म ३०/३५ जना नेता पुगेपछि थारु समुदायसँग सम्वाद गर्न सकेका छैनन् । जाने, भाषण गर्ने र आउने गरेका छन्, जसले थारु समुदायलाई थप निराश बनाएको छ ।

परिस्थिति यस्तो भइसक्यो कि कुनै पनि थारु नेताहरु अन्य समुदायका नेताहरुसँग खुलेर कुरा गर्दैनन् । यो बीचमा केही नेताहरुले सम्वादको प्रयास गरे । उनीहरुका अनुसार ढोकामा चुक्कुल लगाएर मात्रै थारु अगुवाहरु काठमाडौंबाट गएका नेतासँग कुराकानी गर्न तयार भएका थिए । र, त्यहाँको दृश्य काठमाडौंले सोचेभन्दा ठीक उल्टो थियो ।

कांग्रेस र एमालेका थारु नेताहरु पनि त्यहाँ असन्तुष्ट देखिएका छन् । त्यहाँ पुगेर फर्केने नेताहरु भन्छन्-‘थारु समुदायमा कुनै पार्टी देखिएन, उनीहरुले एक भएर राज्यविरुद्ध ठूलो आक्रोस पोखे ।

सरकारले गुमाएको मौका

रामजनम चौधरी थारु आन्दोलनका प्रमुख पात्रमध्ये एक थिए । केपी ओली नेतृत्वको सरकार गठनको अन्तिम समयमा उनको दल फोरम लोकतान्त्रिक सत्ता गठवन्धनमा संलग्न भएको छ ।

फोरम लोकतान्त्रिकका महासचिवसमेत रहेका रामजनम चौधरी मन्त्री भए र सरकारी वार्ता टोलीमा समेत छन् । चौधरी मन्त्री भएपछि थारु आन्दोलन केही सुस्तायो । यही बेला सरकारसँगै कांग्रेस र एमालेले थारु समुदायसँग नजिकिने मौका पाएका थिए । तर, गुमाएका छन् ।

यो बीचमा सरकारले थारु आन्दोलनकारीसँग खासै वार्ता पनि गरेन । नेताहरु त गए तर, चर्को भाषण गरेर आए । आफ्नै नेता कार्यकर्ताबाट घेरिए । कहिल्यै थारु समुदायसँग नजिक हुन खोजेनन् । जसले थारु समुदायले आफ्नो कथाहरु भन्न पाएनन् र अझै पनि मनमा गुम्सिएर बसेको छ । र, सरकार तथा प्रमुख दलहरु समयमै गम्भीर नहुने हो भने कुनै पनि बेला विस्फोट हुनसक्छ ।

दलहरु ख्यालठट्टा गर्दैछन्

तराई मधेसमा सीके राउतहरुले जनमत संग्रह नाम दिएर विभिन्न कार्यक्रम गरिरहेको छ । तर, दलहरु भने तीन वर्षदेेखि जुन विषयमा सहमति हुन सकेको छैन, त्यसमा नै अल्झिरहेका छन्

राजनीतिक विश्लेषक कृष्ण खनाल पनि थारुसँगको वार्ता प्रमुख तीन दलको प्राथमिकतामा नै नपरेको बताउँछन् ।
दलहरुले वार्ता नै गर्दैनन् भन्ने अपजसबाट बच्न मात्र वार्ता गरिरहेको उनको विश्लेषण छ । उनले भने- जनताले पाएको दुःखप्रति त पूर्णरुपमा उपेक्षा गरेका छन् नै । वार्ता पनि तीन पार्टीको प्राथमिकतामा छैन ।

खनालका अनुसार तराई मधेसमा सीके राउतहरुले जनमत संग्रह नाम दिएर विभिन्न कार्यक्रम गरिरहेको छ । तर, दलहरु भने तीन वर्षदेेखि जुन विषयमा सहमति हुन सकेको छैन, त्यसमा नै अल्झिरहेका छन् ।

हामीमाथि विभेद र असमानता छ भन्ने तराई मधेसका जनतालाई परेको छ, जसलाई सम्बोधन गर्न जरुरी छ । खनाल भन्छन्, हाम्रा दलहरु भने अझै पनि ख्यालठट्टा गरिरहेका छन् ।

अर्को आन्दोलनको तयारी

थारु समुदाय फेरि सशक्त आन्दोलनको तयारी गरिरहेका छन् । पछिल्लो समय सरकारले सम्वादका लागि समेत पहल नगरेपछि थारु नेताहरुले माघीलगत्तै आन्दोलन चर्काउने तयारी सुरु गरेका छन् ।

थारुहट तराई पार्टीका सांसद गोपाल दहित माघीपछि जनसरकार घोषणासम्मको तयारी रहेको बताउँछन् । अनलाइनखबरसँग कुरा गर्दै दहितले भने-अब सशक्त आन्दोलन हुन्छ, त्यसको तयारीमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?