+
+

भारतसँग यसरी सम्बन्ध सुधार्दैछन् केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २५ गते ४:२०

Kp oli & modi

समाचार टिप्पणी
२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिल्यैदेखि भारतविरोधी नेता होइनन् । उनलाई असफल बनाउन विशेषतः मधेसवादी नेताहरुले भारतविरोधीका रुपमा चित्रित गर्ने प्रयास गरिरहेका छन् । तर, पछिल्लो समयमा प्रधानमन्त्री ओलीले मधेसी मोर्चाको आरोपलाई चिर्दै भारतसँग सम्बन्ध सुधार गरेका छन् ।

र, यसैको परिणाम हो, फेबु्रअरी लाग्नासाथ प्रधानमन्त्री ओली बेइजिङको साटो दिल्ली भ्रमणमा जाँदैछन्, जहाँ नेपाल-भारतवीच केही महत्वपूर्ण समझदारी बन्नेछ ।

दिल्लीसँग सम्बन्ध सुधार्ने प्रधानमन्त्री केपी ओलीको योजनामा लिपुलेक, कालापानी वा सुस्ताजस्ता सीमा समस्याको विषयले पनि केही असहज बनाउने चूनौती छ । किनभने दुई देशका प्राविधिकले सीमानाको नक्शासम्बन्धी ९९ प्रतिशत काम सकेको भएता पनि दुई देशवीच हस्ताक्षर गर्न बाँकी छ । र, ओलीको दिल्ली भ्रमणका बेला भारतीय पक्षबाट यसमा हस्ताक्षरको माग दोहोरिन सक्छ ।

तर, अहिलेको सम्वेदनशीलतालाई बुझेर परराष्ट्र मन्त्रालय एवं भूमिसुधार मन्त्रालय सम्हालेको राप्रपा नेपालले यसबारे प्रधानमन्त्रीलाई सहयोग गर्ने र भारतसँग सम्बन्ध सुधार्ने ओलीको योजनालाई सघाउने जनाउ दिएको छ ।

भारतीय संस्थापन पक्षले प्रधानमन्त्री केपी ओलीलाई दिल्लीमा स्वागत गर्नुअगावै नेपालको मागबमोजिम वीरगञ्जको नाका खुल्ला गरिदिने र नाकाबन्दी समाप्त भएको सन्देश दिने तयारी गरिरहेको बुझिएको छ ।

सूत्रहरुका अनुसार दिल्ली भ्रमणमा जानुअघि नै वीरगञ्ज नाका खोलिदिनुपर्ने प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष आग्रह गरेका छन् । यद्यपि मोदीले भारतले नाकाबन्दी नगरेको बताउँदै आएका छन् ।

महाकालीमा लगाएको ‘गुन’ देखि प्रधानमन्त्रीसम्म

नेपालका राजनीतिक दल र तिनका नेताहरुसँग माइक्रो म्यानेज गर्न खोज्ने भारतीयहरु अहिले नेकपा एमालेको सन्दर्भमा के गर्ने भनेर अल्मलिएका छन् । मधेसी मोर्चाको प्रचारसँगै भारतीय पक्षले ओलीलाई ‘भारतविरोधी नेता’ ठानेर प्रधानमन्त्री बन्नबाटै रोक्न खोजेको थियो । तर, सकेन ।

भारतले ओलीको विकल्पमा सुशील कोइरालालाई प्रधानमन्त्रीमा उभ्याउने प्रयाससमेत गरेको थियो । तर, यसमा असफल भएपछि भारतीयहरु अहिले गरेर ओलीलाई फकाउने पक्षमा उभिएका छन् ।

विगतमा ओलीलाई भारतले बेवास्ता गर्दै आएको र उनको विकल्पमा माधवकुमार नेपाललाई ‘सपोर्ट’ गर्ने नीति लिँदै आएको थियो । पहिलो संविधानसभामा ओली र माधव नेपाल दुबैले चुनाव हारेका थिए । तर, प्रचण्डको मुखबाट प्रस्ताव गराएर नेपाललाई सभासद मात्रै बनाइएन, प्रधानमन्त्रीसमेत बनाइयो ।

तर, प्रभावशाली नेता ओलीलाई पहिलो संविधानसभामा सभासदसम्म मनोनित गर्नेबारे कसैले आवश्यकता महसुस गरेन । यसमा भारतीय इच्छाले काम गरेको एमालेका केही नेताहरुको बुझाइ रहँदै आएको छ ।

भारतले केपी ओलीलाई भन्दा माधव नेपाललाई ‘च्यापे’ पनि एमाले महाधिवेशनमा ओलीले नेपाललाई हराएर आफू अध्यक्ष बने । भारतले पटक्कै नरुचाएका झलनाथ खनाललाई संसदीय दलमा ओलीले हराइदिए । यी दुबै परिघटनाले एमालेमा केपी ओलीसँग सम्बन्ध सुधार गर्नु भारतका लागि बाध्यता बन्यो ।

विगत महाकाली सन्धीकै बेलादेखि ओलीले जोड दिँदै आएको नेपाल-भारत मित्रतामा अहिले आएर प्रधानमन्त्री भएपछि उनले अडान छाडे होला भनेर मान्न सकिँदैन ।

दोस्रो संविधानसभापछि जब केपी ओली एमाले संसदीय दलको नेता र पार्टीको अध्यक्ष हुँदै प्रधानमन्त्रीसम्म बने, त्यसपछि भारतीय पक्षको ध्यान उनीप्रति जान बाध्य भयो ।

भारतले नाकाबन्दीको हतियार प्रयोग गरेर ओलीलाई गलाउने नीति लिएको थियो, तर तस्कर र कालोबजारियाहरुले भारतीय नाकाबन्दीको हतियारलाई निस्तेज बनाइदिए । ओली सरकारको ‘राष्ट्रवादी अडान’ वा चीनतिर ढल्कने नीतिका कारण भारतीय नाकाबन्दी असफल भएको होइन । आयल निगमसँग मिलेर तस्करहरुले गरेको तेल तस्करीका कारण कारण काठमाडौंलाई घेराहाल्ने भारतीय नीति असफल भयो । र, भारतले बाध्य भएर ओलीसँग सम्झौता गर्ने र आफ्नो स्वार्थहरु पूरा गर्ने बाटो लिन बाध्य बन्यो । त्यसैको प्रमाण हो, ओलीलाई दिल्लीमा स्वागतको तयारी ।

ओली प्रधानमन्त्री बन्नासाथ भारतीय राजदूत रञ्जित रायले बालकोटममै पुगेर पटक-पटक सम्बन्ध सुधार गर्ने प्रयत्न गरे । बीजेपी नेता विजय जोलीले काठमाडौं आएर ‘कमिङ प्राइम मिनिस्टर’ भन्दै ओलीको प्रशंसा गरे । परराष्ट्रमन्त्री कमल थापाले दुई दुई पटक दिल्ली गएर केपी ओली र आफूहरु भारतविरोधी नभएको प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीसँग भारतले विश्वास गर्ने एउटै बलियो ऐतिहासिक आधार पनि छ, त्यो हो- महाकाली सन्धी । ०५६ सालमा एमालेमा विभाजन यही महाकाली सन्धीका कारणले भएको थियो । वामदेव गौतम र सीपी मैनालीको नेतृत्वमा एमाले विभाजन हुँदा ओलीले महाकाली सन्धीको पक्षमा वकालत गर्दै नेपाल-भारत मित्रतामा ठूलो योगदान गरेका थिए ।

अहिले पनि भारतसँगको सम्बन्ध सुधारका लागि महाकाली सन्धीका बेला ओलीले लिएको अडानलाई एउटा कोसेढुंगाका रुपमा लिने गरिन्छ ।

धेरैले यो मान्ने गरेका छन् कि प्रधानमन्त्री ओली आफ्नो निश्चित विचार र अडान भएका नेता हुन् । यो आधारमा विश्लेषण गर्दा विगत महाकाली सन्धीकै बेलादेखि ओलीले जोड दिँदै आएको नेपाल-भारत मित्रतामा अहिले आएर प्रधानमन्त्री भएपछि उनले अडान छाडे होला भनेर मान्न सकिँदैन ।

राप्रपा नेपालको बलियो साथ

Kamal-Thapa-With-Sushma-Swaraj

भारतसँग सम्बन्ध सुधार गर्ने प्रधानमन्त्री ओलीको भित्री इच्छामा राप्रपा नेपाल बलियो सहयोगी बनेको छ । सिद्धान्ततः राजतन्त्रको वकालत गर्ने राप्रपा नेपाल केपी ओलीको तुलनामा बढी ‘राष्ट्रवादी’ ट्याग बोकेको दल हो ।

कमल थापाले महाकाली सन्धीमा ओलीले जस्तो योगदान पनि गरेका छैनन् । बरु विगतमा राप्रपाले महाकाली सन्धीको विपक्षमा मतदान गरेको इतिहास छ । तर, कुशल राजनीतिज्ञ थापाले दुईपटकको दिल्ली भ्रमणमा नेपाल-भारतवीचको सम्बन्ध सुधारका लागि निकै ठूलो मेहनत गरे । ओली सरकार भारतविरोधी हो भनेर मधेसी मोर्चाले फैलाएको भ्रम चिर्न थापा सफल भए । मन्त्री थापाले समकक्षी सुस्मा स्वराजलाई दिएको ३ बुँदे रोडम्यापमा प्रधानमन्त्री ओलीको पनि समर्थन थियो, जसले भारतीय संस्थापन पक्षलाई मधेसी मोर्चासँग एउटा दुरीमा राख्यो र ओली सरकारप्रति विश्वासको वातावरण बनायो ।

नेपाल भारत सम्बन्धमा चिसोपन बढाउने लिपुलेक प्रकरण सुशील कोइराला सरकारका पालामा निकै उचालिएको थियो । तर, ओली सरकारका पालामा स्वाट्टै सेलाएको छ । यसको कारण हो, परराष्ट्र मन्त्रालय र भूमिसुधार मन्त्रालय दुबै राप्रपा नेपालका हातमा रहनु ।

स्रोतका अनुसार उपप्रधानमन्त्री थापाले नेपाल-भारत सीमा विवादका विषयहरुमा अहिले मौन रहन भूमिसुधार मन्त्री रामकुमार सुब्बालाई भनेका छन् । जसले गर्दा अहिले लिपुलेकको प्रकरण ओली सरकारको कार्यसूचीभन्दा बाहिर परेको छ । र, यो विषय अब ओलीको दिल्ली भ्रमणका बेला उठ्ने छैन ।

सूत्रहरुका अनुसार भारतसँग सम्बन्ध सुधार गर्न कमल थापाले लगाएको गुन तिर्नका लागि प्रधानमन्त्री ओलीले अब पुस २७ गते पृथ्वी जयन्तीका सरकारी विदा दिनुपर्ने मन्त्री थापाको प्रस्तावलाई समर्थन गर्नेछन् ।

त्यस्तै पशुपतिमा संकटमोचन पूजा गर्ने र जनकपुरमा राम जानकी विवाह पञ्चमीमा राष्ट्रपतिलाई पठाएर हिन्दु पहिचानलाई मान्यता दिलाउने काममा पनि प्रधानमन्त्री ओलीले राप्रपा नेपालकै इच्छाअनुरुप सहमति जनाएका हुन् ।

यी सबै परिघटनाले सरकारमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री थापावीच रिदम एकदमै मिलेको देखिएको छ ।0409

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?