Comments Add Comment

दिल्लीबाट राजेन्द्र महतोले भने- अलग देश माग्नेहरुको मुख बन्द गरौं !

उपचारका लागि दिल्लीमा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुले राख्दै आएको प्रदेशको माग पूरा भए मधेसमा अलग देशको माग गर्नेहरुको मुख बन्द हुने बताएका छन् ।

अध्यक्ष महतोले प्रधानमन्त्री केपी ओलीले गर्न लागेको भारत भ्रमणलाई स्वाभाविक भन्दै सो भ्रमण देशमा शान्ति ल्याउनका लागि हुनुपर्ने बताए । मेदान्त अस्पतालबाट डिस्चार्ज भएर थप चेकअप लागि डाक्टरको सल्लाहअनुसार एक साताका लागि दिल्लीमा रहेकाका महतोसँग गरिएको संक्षिप्त कुराकानी :

rajendra mahato

बिराटनगर नाकामा प्रहरीको लाठी चार्जबाट तपाई घाइते हुनुभयो । किन यस्तो भयो जस्तो लाग्छ ?

यो दमनको नीति हो । शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्दै आएको छ । र, दमनको पराकाष्टा नेतृत्वमाथि पनि दमन गरिएको छ । सरकारले दमनबाट समस्या समाधान गर्ने नीति लिएको छ । तर, यो नीतिले नेपाल र मधेसको समस्या समाधान हुँदैन ।

आन्दोलन सुरु भएयता ५० भन्दा बढीको मृत्यु भइसक्यो । अब मानिसहरुको ज्यान जानबाट रोक्नकै लागि पनि आन्दोलन केही कम गर्नुपर्दैन ?

हाम्रो आन्दोलन शान्तिपूर्ण हो र अधिकार नपाएसम्म गर्छौं । तर, शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गोली चलाएको छ । टाउकोमा गोली हानिएको छ । सरकार सचेत रहोस् कि दमनबाट मधेस समस्या समाधान हुँदैन ।

सरकारले भनेको छ कि संविधान संशोधन गर्छौं । र, बाँकी वार्ताबाट समाधान खोज्छौं । तपाईलाई लाग्दैन कि यो तपाईहरुले मान्नुपर्छ र आन्दोलन रोक्नुपर्छ ?

सरकारले ल्याएको संशोधनले मधेसको मागलाई सम्बोधन गर्दैन । र, यो हाम्रो सहमतिमा आएको पनि होइन । तीन दलले आफ्नै हिसावले ल्याएका हुन् । आजको दिनमा पनि हामीसँग सहमति भएको छैन । यो विधेयक पास गर्दैमा मधेसको समस्या समाधान हुँदैन ।

तपाई भारतबाट कस्तो भूमिका चाहनुहुन्छ ?

भारतले सुरुबाटै भन्दै आएको छ कि शान्ति, स्थिरता र विकास हाम्रो एजेण्डा हो । नेपालको धर्ती मधेस भारतसँगको खुला सीमा जोडिएको छ । त्यो धर्तीमा शान्ति र स्थिरता छैन र जनता अधिकारका लागि लडिरहेका छन् । ५ महिनादेखि लडिरहेको छ र सरकार हिंसामा उत्रिएको छ ।

यदि शान्तिपूर्ण आन्दोलनबाट समस्या समाधान हुँदैन भने हिंसामा जान चाहनेहरुलाई बल पुग्छ । प्रदेश पनि पाएनन् भने विखण्डनकारीहरुले बल पाउँछन् । र, यसले शान्ति र स्थिरतामा खलल पुग्छ । यसैले म यो भनिरहेको छु कि भारतले नेपालमा शान्ति, स्थिरता र विकास आफ्नो एजेण्डा भनेको छ ।

नेपाल भनेको काठमाडौं मात्र होइन, मधेस पनि हो । र, भारतसँग सीमा पनि जोडिएको छ । यसैले शान्ति, स्थिरताका लागि मधेसको समस्या समाधान हुनुपर्छ र त्यसका लागि भारतले पनि अधिकतम दबाव दिनुपर्छ । हत्या हिंसा गर्दैमा र नेताहरुमाथि आक्रमण गरेर समस्या समाधान हुन सक्दैन ।

प्रदेशको माग सम्बोधन गरौं, यसमा सबैको हित छ । र, अलग देश माग्नेहरुको मुख बन्द हुन्छ ।

यदि तपाईहरुको माग पूरा हुने हो भने मधेसमा के परिर्वतन हुन्छ ?

नेपालमा राजनीतिक स्थिरता चाहिएको छ र यो त्यसबेला मात्र सम्भव छ, मधेसी, थारु, आदिवासीलगायतका उत्पीडित समुदायले समस्याको सम्बोधन हुन्छ । जब यो सेटलमेन्ट हुन्छ, हाम्रो देश आर्थिक एजेण्डामा प्रवेश गर्छ ।

नेपालमा प्रकृतिले सबै दिएको छ । पानी, जंगल, हिमाल, पहाड सबै दिएको छ । नेपाल सानो देश भए पनि विश्वको सम्पन्न देश बन्न सक्छ । तर, यसका लागि एक सर्त छ कि राजनीतिक सेटलमेन्ट होस् । राजनीतिक सेटलमेन्टको अर्थ यहाँका जनताले अधिकार पाउन्, विभेद समाप्त होस् । यसैमा नेपाल र हामी सबै नेपालीको कल्याण छ ।

केही मानिस स्वतन्त्र मधेसको कुरा गरिरहेका छन् । र, केही पक्राउ परेको खबर पनि आएको छ । तपाईहरु त्यसको समर्थन गर्नुहुुन्छ ?

हामी त मधेस प्रदेशको कुरा गर्छौं । नेपालको सार्वभौमसत्ताभित्र अधिकार सम्पन्न प्रदेशको कुरा गरेका छौं । जुन हामीले पाएका छौं । राष्ट्रिय एकता र अखण्डतालाई कायम राख्दै संघीयताको कुरा गरेका हौं । हामीले कहिल्यै पनि अलग देशको कुरा गरेका छैनौं । अलग देश हाम्रो एजेण्डा पनि होइन ।

तर, यदि हामीले शान्तिपूर्ण बाटोबाट प्रदेश पनि दिन सकेनौं भने हिंसात्मक बाटो लिनेहरुलाई बल पुग्छ । अलग देश माग गर्नेहरुले पनि स्पेस पाउँछन् । धेरै स्पेस पाउँछन् । त्यसैले प्रदेशको माग सम्बोधन गरौं, यसमा सबैको हित छ । र, अलग देश माग्नेहरुको मुख बन्द हुन्छ ।

नेपालले चीनसँग पनि हात अघि बढाएको छ । के यो सफल हुन्छ ? तपाईले कसरी हेर्नु भएको छ ?

नेपालले छिमेकीहरुसँग राम्रो सम्वन्ध राख्नुपर्छ । भारत र चीन दुबै छिमेकी हो र दुबैसँग राम्रो सम्वन्ध राख्नु नेपालका लागि आवश्यक छ । तर, कसैलाई धम्क्काउन कुनै कार्ड प्रयोग गर्नु गलत हो । नेपालमा कहिलेकाँहि चाइना कार्ड भारतलाई धम्क्याउन प्रयोग हुन्छ । यो गलत हो । यो सम्भव छैन । र, कसैले कुनै कार्ड प्रयोग गरेर कसैलाई धम्क्याउन सक्दैन । यसले नेपालको हित हुँदैन ।

मलाई लाग्दैन कि भारत वा चीन होस्, कसैले पनि यस्तो कार्ड प्रयोग गर्न दिन्छ । र, यसलाई कसैले मान्छ ।

प्रधानमन्त्री केपी ओली भारत आउँदै हुनुहन्छ । कसरी हेर्नुहुन्छ ?

दुई देशका सरकारका प्रमुखहरुको भ्रमण भइरहन्छ । हामीले यसलाई सामान्य रुपमा लिन्छौं । तर, ओली जब यहाँ आउनुहुन्छ, नेपालमा शान्ति र स्थिरता बनाएको सन्देश लिएर न आउनुपर्छ । अशान्ति लिएर दिल्ली लिएर आउनुहोस्, कमसेकम मेरो यस्तो चाहना छैन ।

(भारतीय समाचार एजेन्सी एएनआईको सहयोगमा दिल्लीमा गरिएको कुराकानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment