Comments Add Comment

प्रचण्डको अमेरिका बसाइ पूरा, विहीबार अपरान्ह नेपाल आइपुग्ने

१३ चैत, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डको अमेरिका बसाइ पूरा भएको छ । पत्नी सीता दाहालको उपचारका लागि १० दिनअघि अमेरिका गएका प्रचण्ड सपरिवार विहीबार बेलुका ४ बजे काठमाडौं आइपुग्दैछन् ।

पत्नीको उपचार सफल भएको र स्वास्थ्यमा सुधार आउने डाक्टरहरुले बताएको प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

अमेरिकामा रहँदा प्रचण्ड त्यहाँस्थित नेपाली दूताबासमा बसेका थिए । प्रचण्ड परिवारको उपचार एवं भ्रमणको सम्पूर्ण व्यवस्थापन राजदूत अर्जुन कार्कीले गरेका थिए । प्रचण्डको अमेरिका बसाइका क्रममा राजदूत कार्कीले आइबार दूताबासको सरकारी भवनमा नेपालस्ी समुदायसँग रात्रीभोजको समेत आयोजना गरेको अमेरिकामा रहेका नेपाली समुदायको भनाइ छ ।

अमेरिका बसाइका क्रममा प्रचण्डले मेरील्याण्ड राज्य प्रदेश संसदको अवलोकनसमेत गरे । त्यसक्रममा नेपाली मूलका सांसद ह्यारी भण्डारीले प्रचण्डलाई स्वागत गरेका थिए ।

त्यसेगरी राष्ट्र संघका लागि नेपाली स्थायी नियोग न्युयोर्कका स्थायी प्रतिनिधि राजदूत अमृतबहादुर राईसँग पनि प्रचण्डले भेटघाट र छलफल गरेका थिए ।

त्यसैगरी प्रचण्डले अमेरिकी विदेश मन्त्रालयकी दक्षिण र मध्य एशिया मामिला हेर्ने निमित्त सहायक मन्त्री एलिस जी वेल्ससँग विदेश मन्त्रालयमै पुगेर भेटवार्ता गरेका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत भइसकेका व्यक्तिले विदेश मन्त्रालयका कनिष्ठ कर्मचारीलाई भेटेको भन्दै अमेरिकामा रहेका नेपाली समुदायका कतिपय व्यक्तिहरुले विरोध समेत गरेका छन् ।

आलोचनाको सामना

पत्नीको उपचारका लागि अमेरिका गएका बेला नेकपा अध्यक्ष प्रचण्डले विरोध र आलोचनाको समेत सामना गर्नुप¥यो । तिलक श्रेष्ठ नाम गरेका एक नेपालीले प्रचण्डलाई आतंककारी भन्दै एफबीआईमा इमेल लेखेको घटनाले निके सनसनी मच्चायो ।

त्यसका साथै नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति मेरिल्याण्डले एक विज्ञप्ति नै जारी गरेर प्रचण्डलाई ‘जघन्य हिंसाका कम्युनिष्ट नाइके’ भएको आरोप लगायो । र, उसले प्रचण्डको अमेरिका भ्रमणको खर्च सार्वजनिक गर्न समेत माग ग¥यो ।

माओवादी जनयुद्धकालमा अमेरिका भासिएका नेपालीहरुले अझैसम्म पनि प्रचण्डलाई राजनीतिक रुपमा स्वीकार गर्न नसकेको यी विरोधहरुले देखाएका छन् ।

यसका साथै अमेरिकामा बसोबास गर्ने गैर कम्युनिष्ट नेपाली समुदायहरु नेपालका माओवादी नेताप्रति कतिसम्म रुष्ट छन् भन्ने पनि प्रचण्डको अमेरिका भ्रमणमा खुलेको छ ।

यसअघि डा. बाबुराम भट्टराईको अमेरिका यात्राका बेलामा पनि नेपाली समुदायबाट उनको विरोध भएको थियो ।

अमेरिकामा रहेका नेपाली समुदायले प्रकाशित गर्ने केही अनलाइनखबरले प्रचण्डलाई स्वागत सरकार गरेकोमा राजदूत अर्जुन कार्कीको समेत आलोचना गरेका छन् । उनीहरुले ‘कम्युनिष्ट राजदूतले सरकारी भवनमा रात्रिभोजको आयोजना गरेर प्रचण्डको चाकडी गरेको’ आरोप लगाएका छन् । सो भोज कांग्रेस समर्थकहरुले बहिस्कार गरेको प्रवासी मिडियाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment