Comments Add Comment

डाङ्गोटेले ल्याउन चाहेको ५५ अर्ब लगानी कहाँ रोकियो ?

Photo Credit : डांगोटेको कंगोस्थित सिमेन्ट प्लान्ट

१३ चैत, काठमाडौं । लगानी बोर्ड स्थापना भएपछि दक्षिण अफ्रिकी महादेशमा एकछत्र राज गरिरहेको डंङ्गोटे सिमेन्टले नेपालमा झण्डै ५५ अर्ब लगानी गर्न अनुमति लियो ।

तर, नाइजेरियन कम्पनी डाङ्गोटेले प्रक्रिया सुरु गरेको ८ वर्ष हुन लागिसक्यो, लगानी आउन सकेको छैन । बरु कम्पनी नेपालबाट फिर्ता हुने मनसाय बनाएको छ ।

सरकारले भब्य सम्मेलन गरेर ७७ आयोजनामा विदेशी लगानी आहृवान गर्ने तयारी गरिरहँदा डांगोटेले ल्याउन चाहेको ५५ अर्ब लगानी कता रोकियो ? भन्ने प्रश्न उठेको छ ।

डाङ्गोटेले खानी पाएन
डांगोटेले सिमेन्ट उत्पादनका लागि एउटा खानी किनेको छ । तर, उसले किनेको मकवानपुर भीमफेदीस्थित बिराट सिमेन्टको खानीमा गुणस्तरीय चुन ढुंगा भेटिएन । त्यसपछि उसले खानीको लागि पर्खिरहँदा खानी विभागले लामो समय बोलपत्र नै निकालेन । गत वर्ष भएको टेन्डरमा डांगोटेले ३ वटा खानीमा आवेदन दियो ।

तर, उसले लिन चोहेको धादिङको पानीखर्कको खानी पानीखर्कमा चिनियाँ कम्पनी हुवाजिनले हात पार्‍यो । कैलाशको खानी कैलाशको खानी केएल युनाइटेड सिमेन्टले पायो । पाल्पाका खानी स्वर्गद्वारी मल्टिपर्पोज सिमेन्टको नाममा दिइयो । डांगोटेलाई लगानी बोर्डमार्फत सहजीकरणको काम गरेका एक अधिकारी भन्छन्,’ खानी विभागले डांगोटेलाई प्रतिस्पर्धामा असफल हुने गरी नै मापदण्ड बनाएको थियो । स्वस्थ प्रतिस्पर्धा भएको भए डांगोटेले खानी पाउँथ्यो ।’

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी पनि खानीकै समस्याका कारण डांगोटेलाई लगानी ल्याउन समस्या परेको स्वीकार गर्छन् । ‘उसँग अहिले पनि दुईटा खानी छ तर, उसको भनाइ छ एउटा खानी सानो भयो एउटा खानीको गुणस्तर पुगेन’ अधिकारी भन्छन्, ‘उसले धादिङको एउटा खानी मागेको थियो, हाम्रो नियमले पुगेन । हामीले सकिन्छ भने दिन पहल नगरेको पनि होइन । अरु प्रदेशमा सकिन्छ भने अहिले पनि पहल गरिरहेका छौं ।’

असहयोग
डांगोटेले नेपाली लगानीकर्तासँग साझेदारी नगरी नेपालमा सिमेन्ट कम्पनी खोल्न खोजेको थियो ।

त्यही कारण नेपाली लगानीकर्ताबाट खानी प्राप्तीमा असहयोग भएको बोर्डसम्बद्ध एक अधिकारी बताउँछन् । ‘डांगोटेभन्दा पछि नेपाली साझेदारसँग आएका चिनियाँ कम्पनीले खानी पाइसके । डांगोटेले सबै लगानी आफैंले गर्न खोज्दा चलखेल बढी भयो ।’

कतिपयले भने दक्षिण अफ्रिकी महादेशकै नम्बर १ कम्पनीले ठूलो लगानी लिएर आउने भनेपछि अन्य सिमेन्ट उत्पादक पनि झस्किएको विश्लेषण गरेका छन् । डङ्गोटे दैनिक ६ हजार मेटि्रकटन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित नेपालमा आउन खोजेको छ ।

डांगोटेले भूकम्पका बेला प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एकैटक १० करोड रकम दाखिला गरेको थियो । त्यसबाहेक विभिन्न समाजिक काममा ३ करोडभन्दा बढी खर्चिएको छ । यसले पनि नेपालमा आउन चाहेको प्रष्ट देखिन्छ ।

तर, खानीकै कारण फर्किने खतरा बढेको छ । अब डांगोटे नेपालमा आउने हो भने फेरि लगानी स्वीकृत गराउनुपर्छ । किनकी लगानी स्वीकृत भएको एकवर्षभित्रै परियोजनाका विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गर्नुपर्ने नियम छ । यस्तै झन्झटका कारण ३० अर्ब लगानीका लागि चार वर्षअघि स्वीकृत लिएको भारतीय सिमेन्ट कम्निी रिलायन्स पनि लगानी बोर्डको सम्पर्कभन्दा बाहिर गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment