Comments Add Comment

नेपालकै नौलो प्रविधिमा बन्यो कास्की–स्याङ्जा जोड्ने पुल

१३ चैत, पोखरा । कास्कीको कृस्ती र स्याङ्जाको टक्सार जोड्ने सरौंदी खोलामाथि नेपालमै नौलो प्रविधिबाट पुल बनेको छ । फनिकुलर आर्च प्रविधिबाट नेपालमै पहिलो प्रयोग गरेर पुल निर्माण गरिएको हो ।

स्वीस अन्तर्गतको एलआरवियसयु भन्ने संस्थाको प्राविधिक सहयोगमा १ करोड ८० लाख रुपैयाँ खर्चिएर पुल निर्माण सकिएको छ । पहाड र चट्टान भएका ठाउँका लागि उपयुक्त मानिने फनिकुलर आर्च प्रविधिबाट पुल निर्माण सकिएर बुधबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका हुन् ।

पुलले पोखरा महानगरपालिका २१ कृस्ती नाच्ने चौर र स्याङ्जाको पुतलीबजार नगरपालिका–६ टक्सार जोडेको छ । पुल निर्माण भएपछि साविकको पौवेगौंडाका गाउँका नागरिकलाई पोखरासम्म र कृस्तीवासीलाई पुतलीबजारसम्म पुग्न सहज बनेको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख नारायण बरालले नेपालमा यो प्रविधि पहिलो पटक सफल प्रयोग गरिएको बताए । ‘पहिलो पटक यो प्रविधि प्रयोग गरिएकाले चुनौतीपूर्ण पनि थियो,’ बरालले भने, ‘हाम्रो देशको भूबनोटमा यो प्रविधि ठीक रहेछ ।’

यसअघि चिनियाँ प्रविधिमा आधारित सर्कुरल र स्पान्ड्रेल आर्च ब्रिज बढी निर्माण भइरहेको भए पनि फनिकुलर आर्च नेपालमै पहिलो पटक प्रयोग गरिएको कार्यालयका इन्जिनियर सुमन गिरीले जानकारी दिए । ‘अरु पुलको तुलनामा यो प्राविधिको पुलमा लागत कम लाग्नुका साथै आकर्षक पनि देखिन्छ । विशेषगरी नेपालजस्तो चट्टानी भूवनोट गल्छी भूधरातलका लागि उपयुक्त मानिन्छ,’ गिरीले भने ।

जिल्ला प्राविधिक कार्यालय प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय बनेपछि निर्माण भएको यो पहिलो पुल हो । निर्माण व्यवसायी भण्डार थोटुंगले पुल उद्घाटन भएको झन्डै ३ वर्ष लगाएर पुल सम्पन्न गरेको छ ।

२०७३ साल असार ३ गते तत्कालीन विकास समितिका सभापति रवीन्द्र अधिकारीले पुल शिलान्यास गरेका थिए । पुल उद्घाटन गर्दै मन्त्री बस्नेतले अब प्रदेश सरकार खरायो गतिमा दौडने बताए । ‘सुरुमा विकासको जग हाल्न समय लागेको हो । अब विकासको गति खरायो गतिमा दौडन्छ,’ उनले भने ।

कास्की र स्याङ्जामा १९ वटा पुल

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयले कास्की र स्याङ्जामा १९ वटा पुल निर्माण गरिरहेको छ । यो आर्थिक वर्षमा कास्की र स्याङ्जामा ३२ वटा पुल निर्माण सुरु गर्ने योजना मन्त्रालयको छ । त्यसमध्ये १९ पुल निर्माणको चरणमा प्रवेश गरेको हो ।

पूर्वाधार विकास कार्यालयमार्फत कास्कीमा ११ र स्याङ्जामा ८ पुल यसै वर्ष निर्माण सुरु भइरहेका छन् । पूर्वाधार विकास कार्यालय कास्कीले स्याङ्जासमेत हेर्छ ।

देश संघीयतामा गइसकेपछि यसरी दुई जिल्लालाई एउटै कार्यालयले हेर्दा एउटै योजनाले दुबैतिर समेट्न सकिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले बताए । ‘पुल, बाटो र अन्य विकास निर्माणको गति धमाधम बढाइरहेका छौं । यसै वर्ष कास्कीका १९ वटै पुल निर्माण सुरु गर्दैछौं,’ मरहट्टाले भने, ‘अब एउटै बाटोमा कास्कीतिर पिच हुने, स्याङ्जातिर नहुने खालको विभेद हुँदैन ।’

७ वटा पुलको टेन्डर भइसकेको छ । ३ वटा निर्माणधीन छन् भने २ वटा टेन्डरमा जाँदै छ भने बाँकी पनि यसै वर्ष थाल्ने योजनामा मन्त्रालय छ । भौतिक पूर्वाधार मन्त्रालयले प्रदेशमा पुल निर्माणका लागि यो आर्थिक वर्षका लागि ७५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment