Comments Add Comment

प्रवासी पत्रकारिताको विषयमा महासंघ गम्भीर

FNJ-UAE
युएई । नेपाल पत्रकार महासंघ प्रवासी नेपाली पत्रकारिताको विषयमा गम्भीर भएको केन्द्रिय सचिव संगीता खड्काले बताएकी छिन् । यस विषयमा महासंघमा छलफल चलाइने उनले दुबईमा घोषणा गरेकी छिन् ।

नेपाल पत्रकार महासंघ युएईले शुक्रबार दुबईमा आयोजना गरेको एक अन्र्तक्रिया कार्यक्रममा उनले नेपालमा पत्रकारिता गरिरहेका पत्रकारको बिमाको क्रम सुरु भैसकेको जानकारी दिँदै प्रवासमा रहेका पत्रकारका विषयमा के गर्न सकिन्छ भन्ने बिषयमा नेपाल पुगेपछि छलफल चलाइने उनले जानकारी दिएकी छिन् ।

उनले सूचना विभागले वितरण गर्ने प्रेस पासका विषयमा पनि छलफल गर्ने जानकारी दिएकी छिन् । नेपाल पत्रकार महासंघले नेपाल बाहेक आठ वटा देशमा शाखा विस्तार गरेको जानकारी दिँदै खड्काले नेपालमा कुनै पत्रकारलाई समस्या पर्दा सहयोग गर्न स्वतस्फुर्त रुपमा विदेशस्थित शाखा सक्रिय हुने गरेको स्मरण गर्दै नेपालबाट पनि प्रवासमा बस्ने पत्रकारको अवस्थाका बारेमा सोचिनु पर्ने बताएकी छिन् ।

पत्रकार महासंघको वर्तमान कार्यसमितिको पहिलो प्राथमिकतामा श्रमजिवी पत्रकारका समस्या समाधान गर्ने भए पनि मुलुकको विषम परिस्थितिका कारण उल्लेख्य काम हुन नसकेको खड्काले बताएकी छिन् ।

नेपाल पत्रकार महासंघ अन्र्तगतका शाखामा हरेक माघ र फागुनभित्र वाषिर्क भेला र चैत्र सम्ममा महासंघको वाषिर्क साधारण सभा पनि हुने उनले जानकारी दिएकी छिन् ।

नेपाल पत्रकार महासंघले नेपाल सरकारसँगको सहकार्यमा पत्रकार कल्याणकारी कोष अगाडि बढाएको र प्रवासमा रहेका शाखाको सहयोगमा पत्रकार विपत कोष पनि स्थापना गरेर अगाडि बढाउने प्रकृया सुरु भएको खड्काले जानकारी दिइन् ।

नेपाल पत्रकार महासंघ युएईका कार्यबाहक अध्यक्ष त्रिलोचन कोइरालाको अध्यक्षता तथा सचिव लक्ष्मण खनालको सञ्चालनमा भएको कार्यक्रममा केन्दि्रय प्रतिनिधिद्वय एकेन्द्र थापा, भुपराज बस्याल, शाखा कोषाध्यक्ष मेघराज सापकोटा, सहसचिव हरि नेपाली, मोहन बस्याल लगायतले सहभागिता जनाउँदै विभिन्न जिज्ञासा राखेका थिए ।

कार्यवाहक अध्यक्ष कोइरालाले प्रवासका पत्रकारिताको अवस्था र चुनौतीका विषयमा जानकारी दिँदै प्रवासी पत्रकारहरुको क्षमता विकासका कार्यक्रमका लागि पत्रकार महासंघले ध्यान दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment