Comments Add Comment

वैदेशिक रोजगारीमा गएका १२१ नेपालीले आत्महत्या गरे

रविन्द्र घिमिरे

२५ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको एकै वर्ष एक हजार जनाको मृत्यु भएको छ । मृत्यु हुने कारणहरु धेरै छन्, जसमध्ये आत्महत्या एउटा प्रमुख कारक बन्ने गरेको छ । एकैवर्षमा १ सय २१ जना नेपालीले विदेशमा आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा मलेसिया गएका नेपाली कामदार बढी छन् ।

death causes (1)
कतारमा रोजगारीका लागि पुगेका अर्घाखाँची बाङ्ला-३ देउरालीडाँडाका ३५ बर्षीय शंकर बीसीले गत डिसेम्बरमा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरे । सानै उमेरमा बाबु गुमाएका विपन्न परिवारका शंकर कतार पुगेको २ वर्ष भएको थियो ।

तलब राम्रो नभएका कारण उनले कतार जाँदाको सबै ऋण पनि चुक्ता गर्न सकेका थिएनन् । परिवारका लागि भन्दै विदेशी भूमिमा संघर्ष गरिरहेका शंकरको सपनामा त्यतिबेला ठूलो बज्रपात भयो, जब उनले ऋण तिर्न नेपाल पठाएको रकम लिएर श्रीमती गायब भएको खबर सुने ।

शंकरले न टेक्ने ठाउँ भेटे, न समाउने हाँगो । घर फर्किने बेलामा थप ऋण लाग्ने भएपछि उनले विदेशी भूमिमै गलामा पासो लगाउनुको विकल्प नै देखेनन् र मृत्यु रोजे ।

कुन देशमा कतिले गरे आत्महत्या ?

वैदेशिक रोगजार प्रर्वद्धन बोर्डको तथ्याङ्कलाई हेर्ने हो भने सन् २०१५ मा मात्रै रोजगारीका लागि विदेशिएका १ सय २१ जनाले आत्महत्या गरेका छन् ।

एक वर्षमा मलेसियामा मात्रै ५४ जनाले आत्महत्या गरेका छन् । यसैगरी साउदीमा २१ जना नेपालीले आत्महत्या गरेका छन् भने कतारमा यो संख्या १५ जना छ । कुवेतमा मृत्यु भएका ४३ मध्ये १२ जनाले आत्महत्या गरेको देखिन्छ ।

दक्षिण कोरियामा १० जना युवाले आत्महत्या गरे भने युएईमा ८ जनाले आत्महत्या गरे ।

कुन कारणले कतिको मृत्यु ?

सन् २०१५मा विदेशी भूमिमा एक हजारभन्दा बढी नेपालीले मृत्युवरण गर्दा अन्य कारणहरु पनि प्रधान बनेका छन् । वैदेशिक रोजरगारीका क्रममा रहेका २सय ४८ जनाको मृत्यु प्राकृतिक कारण भएको छ ।

वैदेशिक रोजगारीमा गएकामध्ये एक वर्षमा हृदयाघातका कारण १ सय २२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सडक दुर्घटनामा परेर मृत्यु हुने नेपाली कामदारको संख्या १ सय १८ छ

एक वर्षमा ‘कार्डिक एरेष्ट’ (मुटु, फोक्सो लगायतमा एक्कासी समस्या ) का कारण २ सय ५१ जनाको मृत्यु भएको छ ।

दिनभर बाहिरको गर्मीमा काम गरेर आउने र कोठामा आउना साथ एयर कन्डिस्नर खोलेर सुत्ने गरेका कारण धेरै नेपाली कार्डिक एरेष्टको शिकार हुने गरेको ग्राण्डी इन्टरनेशनल हस्पिटलका कार्डियोलोजिष्ट डाक्टर मिलन प्रकाश श्रेष्ठल बताउँछन् ।

त्यसैगरी मादक पदार्थका रुपमा विभिन्न केमिकलहरु मिसाएर खाने तथा एकैपटक धेरै मात्रामा रक्सी खानेलगायतका कारण पनि कार्डिक एरेष्ट हुने गरेको डाक्टर श्रेष्ठको भनाइ छ ।

वैदेशिक रोजगारीमा गएकामध्ये एक वर्षमा हृदयाघातका कारण १ सय २२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सडक दुर्घटनामा परेर मृत्यु हुने नेपाली कामदारको संख्या १ सय १८ छ ।

असन्तुलित खानपान तथा दैनिकी एवं मानसिक तनावका कारण नेपालीहरु विदेशमा हृदयघातको शिकार भएको बोर्डका सहायक निर्देशक पौडेेल बताउँछन् ।

यस्तै ट्राफिक नियमबारे जान्न र त्यसको पालना गर्न खासै चासो नदिने नेपाली आनीबानीका कारणले पनि धेरै नेपालीहरुले सडक दुर्घटनामा परी मृत्यु अंगाल्नुपरेको सहायक निर्देशक पौडेेलले बताए ।

कार्यस्थलमा दुर्घटनामा परेर १ सय ९ जना नेपालीको मृत्यु भएको छ । यसमा बढीजसो निर्माण र औद्योगिक क्षेत्रका मजदुरहरु पर्ने गरेको बोर्डले जनाएको छ ।

कार्यस्थलमा सुरक्षा नअपनाउने र बढी जोखमयुक्त काममा नेपाली कामदारलाई लगाइने कारण कार्यस्थलमा हुने दुर्घटनाबाट अंगभंग हुने क्रम पनि निकै बढेको बोर्डका सहायक निर्देशक पौडेेल बताउँछन् ।

तथ्यांक अनुसार एक वर्षको अवधिमा दैनिक ३ जनाका दरले नेपालीहरुको विदेशमा मृत्यु भएको छ । लुटपाटमा संलग्न हुने समूहबाट तथा व्यक्तिगत रिसिवीमा पनि हत्याका घटना हुने गरेका छन् ।

त्यसैगरी मृत्युदण्ड, प्राकृतिक प्रकोपलगायतका कारण पनि ३८ जना नेपालीले ज्यान गुमाएका छन् । २ सय ४८ जनाको प्राकृतिक मृत्यु भएको छ भने अन्य कारणले ३८ जनाले ज्यान गुमाएका छन् ।

नेपालीले किन गर्छन् विदेशमा आत्महत्या ?

विदेशमा आत्महत्याका घटना पछिल्लो समयमा सामान्यजस्तै बन्नु निकै दुःखद भएको वैदेशिक रोगजार प्रर्वद्धन बोर्डका सहायक निर्देशक दीपेन्द्र पौडेल बताउँछन् । कामका लागि विदेशिएका युवाले विदेशी भूमिमै आत्महत्या गर्ने क्रम पछिल्लो समयमा निकै बढेको छ । पैसा कमाउने महत्वाकांक्षा बोकेर विदेशिनेहरुले विदेशी भूमिमा दुःख पाएपछि आत्महत्या गर्ने गरेको पौडेल बताउँछन् ।

विदेशिएका युवाको पारिवारिक विग्रह पनि विदेशमा आत्महत्या हुने दर बढ्नुको प्रमुख कारण हो

विदेश जाने अधिकांशमा पैसा बोटैमा टिप्न सकिन्छ भन्नेखालको भ्रम हुन्छ । म्यानपावरहरुले पनि त्यसैगरी आश देखाउँछन् । त्यसैको लोभमा जति पनि लगानी गरेर मानिसहरु विदेश पुग्छन् । स्वदेशमा रोजगारीको अवसर नपाउँदा विदेश जानु धेरैको रहर नभएर बाध्यता पनि हो ।

तर, विदेशमा सोचिएजस्तो कमाइ हुँदैन । सहायक निर्देशक पौडेल भन्छन्- ‘काममा आत्सन्तुष्टि नमिलेपछि मानसिकरुपमा कमजोर भएकाहरु डिप्रेशनमा जान्छन् र आत्महत्याको बाटो रोज्छन् ।’

आत्महत्या गर्ने अर्को प्रमुख कारण त्यहाँ काममा हुने खटाइ पनि हो । खाडीको कानुन र त्यहाँका सामाजिक परिवेशसँग वाक्क दिक्क हुनेले पनि आत्महत्या गर्ने गरेको पौडेेलले बताए ।

‘दिनभर काममा खटिनुपर्छ, भनेजस्तो तलब पनि हुँदैन । अर्को देशका मान्छेको खप्की पनि खानैपर्छ । कसैलाई सामाजिकरुपमा पनि त्यहाँ टिक्न गाह्रो हुन्छ ।’ पौडेलले भने ।

विदेशिएका युवाको पारिवारिक विग्रह पनि विदेशमा आत्महत्या हुने दर बढ्नुको प्रमुख कारण भएको पौडेलको तर्क छ । ‘आफूले कमाएको पैसा सदुपयोग भएन भने पनि युवाहरु विदेशमा बिरक्तिन्छन् । श्रीमान वा श्रीमतीसँगै नभएपछि विभिन्न किसिमका पारिवारिक विग्रह र असमझदारीहरु अगाडि आउन सक्छन, जसलाई थेग्न नसक्नेहरुले आत्महत्या रोज्ने गरेको देखिएको छ ।’ पौडेलेले भने ।

यो पनि पढ्नुहोस्

वैदेशिक रोजगारीको पीडा: एक वर्षमा एक हजार नेपालीको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment