Comments Add Comment

श्रममन्त्रीको प्रश्नः १ लाखको जागिर छोडेर ३० हजारका लागि किन विदेसिएको ?

२८ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले कतिपय युवाहरु नेपालमै १ लाख पारिश्रमिक पाउने जागिर छाडेर  २५/३० हजार रुपैयाँको जागिरका लागि विदेसिने गरेको बताएका छन् । उनले यस्तो किन भइरहेको छ ? भन्ने विषय खोज्ने बेला आएको बताए ।

‘हिजो मात्रै बुटवलका ३ सय उद्योगीसँग मेरो छलफल भयो, धेरैले काम गर्ने जनशक्ति पाइएन भनेर गुनासो सुनाउनुभयो,’ बिष्टले भने,’तर यहाँ काम पाइएन भन्दै बेरोजार बस्ने र विदसिनेको संख्या पनि सानो छैन, किन यस्तो भइरहेको छ ?’

उनले श्रमप्रति सम्मान जगाउन नसक्दा युवा पलायनको समस्या बढ्दै गएको बताए । बिष्टले नेपालभित्रै पनि काम दिनेहरुले श्रमिक नपाउने र श्रमिकले पनि काम नपाउने दोहोरो अवस्था सिर्जना भएको भन्दै यसलाई हल गर्न सरकारले विभिन्न नीगितत व्यवस्थामा सुधारको प्रयास थालेको बताए ।

उनले श्रमिकको न्युनतम् पारिश्रमिक बढाएको, समाजिक सुरक्षा कार्यक्रम ल्याएको र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लागू गरेको भन्दै विस्तारै यस्तो विडम्बनापूर्ण अवस्थाको अन्त्य हुने बताए ।

‘हामीले ७५३ रोजगार संयोजक माग्दा २५ हजारको आवेदन पर्‍यो, परीक्षामा ५ सय मात्रै पास हुनुभयो,’ उनले भने,’अब जनशक्तिलाई सक्षम बनाउने मुद्दा पनिसँगै लैजानुपर्ने देखेका छौं ।’

मन्त्री बिष्टले त्यसै लागि देश र बजारलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने गरी सीप विकास गर्ने केन्द्रहरु खोल्न लागिएको उनले बताए ।

‘प्रहरीको जागिर छाडेर विदेसिने पनि वर्षमा ५ हजार माथि हुनेरहेछन्, सशस्त्र प्रहरीमा अहिले पनि ८ हजार दरबन्दी यस्तै कारण खाली रहेछ,’ मन्त्री बिष्टले भने,’विस्तारै श्रमलाई सम्मान गर्ने  सोचको विकास हुँदै गयो भने यस्तो समस्या हट्नेछ । साथै श्रमिकलाई न्युनतम् जीवनयनापनका लागि आवश्यक पारिश्रमिक र सुविधा दिने कुरामा पनि सरकारको ध्यान गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment