Comments Add Comment

कांग्रेसका ‘हार्डलाइनरहरु’ भन्छन्- देउवाले राजालाई बुझाए, सुशीलले कम्युनिष्टलाई

Kulbahadur Govinda Binayadhoj

६ माघ, काठमाडौं । महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा नेताहरुको देश दौडाहा तीव्र भएको छ भने गुट उपगुटहरु निकै सक्रिय भएका छन् ।

सभापतिका लागि सुशील कोइरालाको संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समूहसँगै उपसभापति रामचन्द्र पौडेल पनि अघि सरेका छन् । तर, भित्रभित्रै ठूला नेतै पिच्छेको उपगुट गुट जस्तो देखिन थालेको छ ।

महाधिवेशनको जोडघटाउमा कांग्रेसका हार्डलाइनरहरुको समूह पनि सक्रिय देखिएको छ । १२ औं महाधिवेशनपछि यो समूह नेतृत्व पंक्तिमा थिएन । जसका कारण उनीहरु खासै चर्चामा समेत आएनन् ।

तर, १२ औं महाधिवेशनमा आफ्नो विचार समूहको केन्द्रीय समितिमा सम्मानजनक उपस्थिति गराउने भन्दै हार्डलाइनरहरु देश दौडाहमा छन् ।

उनीहरुले वीपी विचार राष्ट्रिय समाज बनाएका छन्, जसको अध्यक्ष पूर्वमहामन्त्री कुलबहादुर गुरुङ छन् । समाजको उपसभापति गोविन्दराज जोशी, महामन्त्री विनयध्वज चन्द र कोषाध्यक्ष लक्ष्मण घिमिरे रहेका छन् ।

अधिवेशनको तयारीका क्रममा वैतडीमा रहेका कांग्रेस नेता विनयध्वज चन्दले अनलाइनखबरसँग भने-हामी हराएका छैनौं । पार्टीको जिम्मेवारीबाट अलग भएपछि त्यस्तो लागेको होला ।’

उनका अनुसार पार्टी वीपीको विचारबाट विचलित भएको निष्कर्षसहित यो संगठन बनाइएको छ । झण्डै ६५ जिल्लामा संगठन विस्तार भइसकेको छ उनले जानकारी दिए । चन्द भन्छन्, महाधिवेशनमा हाम्रो केहि न केहि प्रभाव रहन्छ । हामीले जसलाई समर्थन गर्छौं, उसैले सभापति जित्छ ।’

निर्णायक बन्ने दाबी

कांग्रेसका हार्डलाइनरहरुले पार्टी सभापतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैनन् । तर, वार्गेनिङ भने सुरु गरेका छन् ।

शेरबहादुर वा सुशीलमध्ये एक किङ मेकर बनेमात्र केबीले जित्ने हो । त्यो सम्भावना छैन

हार्डलाइनर नेताहरुले आफूहरुसँग ४ सय ५० देखि ५ सय मत रहेको दाबी गरेका छन् र केन्द्रीय समितिमा आफ्नो विचार समूहको हिस्सा कति हुने भनेर बार्गेनिङ थालेका छन् ।

हार्डलाइनर नेताहरु सभापतिका लागि आफ्नो समूहका नेता कुलबहादुर गुरुङलाई योग्य मान्छन् । तर, आफ्नो मतले नजित्ने भएकाले उम्मेदवार बनाएर ‘बलिको बोका’ बनाउन नचाहेको उनीहरुको भनाई छ ।

एक नेताले भने, हामीले उहाँलाई जिताउन सक्दैनौं । शेरबहादुर वा सुशीलमध्ये एक किङ मेकर बन्नु भयो भने मात्र केबीजीले जित्ने हो । त्यो सम्भावना छैन ।’

देउवाले राजा र सुशीलले कम्युनिष्टलाई बुझाए

कांग्रेसका हार्डलाइनहरुलाई एक समय राजावादीको आरोप समेत लाग्थ्यो । ‘राजा डेमोक्र्याट हुन सक्छन् । उसँग सहमति गर्न सकिन्छ । तर, कम्युनिष्टहरु कहिल्यै डेमोक्र्याट हुन सक्दैनन् । त्यसैले उसँग सहकार्य गर्नु हुँदैन’ भन्ने मत राखेपछि उनीहरुलाई राजावादी भनिएको थियो ।

कांग्रेसका हार्डलाइनरहरु सभापतिका तेस्रो दावेदारका रुपमा देखिएका रामचन्द्र पौडेलप्रति त्यति सकारात्मक देखिदैनन् । पौडेलले कुनै पदको लोभ देखाए कुनै पनि बेला मैदान छाड्न सक्ने उनीहरुको बुझाइ छ

तर, अहिले राजा छैन् । उनीहरु अब लोकतान्त्रिक पार्टीहरु एक ठाउँमा आउनु पर्ने मत राख्न थालेका छन् । कांग्रेसले एमाले र एमाओवादीसँग गरेको सहकार्य उनीहरुलाई पटक्कै मन परेको छैन । र, यो गलत भयो भनिरहेका छन् ।

हार्डलाइनर समूहका नेता चन्द सुशील कोइराला र शेरबहादुर देउवा मध्ये को उपयुक्त भनेर आफूहरु लेखाजोखा गरिरहेको बताए । उनले भने, देउवामाथि प्रजातन्त्र राजालाई बुझाएको आरोप लागेको छ भने अहिले सुशीलजीले सबै कुरा कम्युनिष्टलाई दिनु भएको छ ।’

कोइरालाले पार्टी सभापति भएपछि संगठन लथालिङ्ग पारेको र निर्णय गर्न नसकेको उनको आरोप छ । देउवाले त्यस्तो निर्णायक भूमिका पाएका छैनन् ।

कांग्रेसका हार्डलाइनरहरु सभापतिका तेस्रो दावेदारका रुपमा देखिएका रामचन्द्र पौडेलप्रति त्यति सकारात्मक देखिदैनन् । पौडेलले कुनै पदको लोभ देखाए कुनै पनि बेला मैदान छाड्न सक्ने उनीहरुको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment