+
+

भारतीय राजदूतका अगाडि रामचन्द्र नरम, सुजाता गरम

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १२ गते ३:४०

rishi

चिरञ्जीवी पौडेल

११ माघ, काठमाडौं । मञ्चको दायाँ कुनामा थिए कांग्रेस सभापतिका आकांक्षी तथा वर्तमान उपसभापति रामचन्द्र पौडेल । बायाँ कुनामा थिइन्, कांग्रेसकै केन्दि्रय सदस्य तथा सभापतिकै आकांक्षी (?) सुजाता कोइराला । यद्यपि यो कांग्रेसको पार्टी कार्यक्रम होइन ।

सुजाताको छेउमा भारतीय राजदूत रणजित रे थिए भने रामचन्द्रको छेउमा थिए परराष्ट्रमन्त्री कमल थापा । सबै जनाको केन्द्रमा चाहिँ रातो गलबन्दी लगाएर प्रफुल्लित मुद्रामा आसिन थिए, उही ऋषि धमला ।

धमलाकै आयोजनामा भारतको गणतन्त्र दिवसका उपलक्ष्यमा नेपाल-भारत सम्वन्धबारे अन्तरक्रिया हुँदै थियो । कार्यक्रममा कांग्रेसका दुई नेता थिए भने एमाले नेताको उपस्थिति थिएन ।

‘आजको दिनमा’ धमलाले आफ्नै शैलीमा शुरु गरे, ‘भारतमा गणतन्त्र आएको ६७ वर्ष पूरा भएको छ ।’ ‘यतिबेला हाम्रो सामु हुनुहुन्छ, साँच्चिकै नेपाल-भारत सम्वन्धलाई सुमधुर बनाउन अहोरात्र लागिपर्नुभएका, एक्सिलेन्सी भारतीय एम्बास्डर रणजित रे ।’

‘आजको दिनमा हामीलाई थाहा छ, उहाँकै कार्यकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकपटक होइन, दुई-दुईपटक नेपाल भ्रमण गर्नुभयो । उहाँकै कार्यकालमा नेपालमा भुकम्प आउँदा भारतले साँच्चिकै कति ठूलो सहयोग गर्यो ।’

राजदूतको यति प्रशंसा गरेपछि उनले नेपाल-भारत सम्वन्धका विशेषताबारे अलिकति चर्चा गरे । ‘जस्तो कि हामीलाई थाहा छ,’ उनले राजदूत रेतर्फ हेर्दै भने, ‘नेपाल र भारत भनेको सामाजिक, राजनीतिक, सांस्कृतिक र कल्चरल सम्वन्ध भएका देश हो ।’

त्यसपछि उनी चिन्तित बन्दै भने, ‘आजका दिनमा, दुई देशबीचको सम्वन्धमा चिसोपना आएको छ ।’

‘तर, नेपालमा संविधान संशोधन भएपछि भारतले वेल्कम गरेको अवस्था छ । पछि दुई देशबीचको सम्वन्ध अब नया उचाईका साथ सुमधुर हुने विश्वास मैले लिएको छु,’ उनले तत्कालै फेरि खुशी व्यक्त गरे ।

सुजाता आक्रामक

sujata koirala

धमलाको सक्षिप्त संवोधनपछि कांग्रेस नेतृ सुजाताले बोलिन् । उनले पनि भारतीय राजदूतको प्रशंसाबाटै कुरा सुरु गरिन् तर, विस्तारै भारत र मधेस आन्दोलनप्रति आक्रामक बन्दै गइन् ।
‘रणजित रेसँग हाम्रो पुरानो सम्वन्ध छ’ कोइरालाले भनिन्-‘जनआन्दोलनका बेला म यहाँबाट भागेर भारत जाँदा उहाँले सहयोग गरेर गुन लगाउनु भएको थियो ।’

त्यसपछि उनले भारतको नेपाल नीतिको आलोचना गरिन् । उनले नेपालमा संविधान संशोधन भइसक्दा पनि समस्या समाधान नहनु रहस्यमय देखिएको बताइन् । ‘सबै माग पूरा हुँदाहुँदै पनि थर्काउने काम भइरहेको छ,’ कोइरालाले भनिन्, ‘यसले हामीलाई गम्भीर बनाएको छ ।’

उनले राणाकालदेखि नै कांग्रेसको मधेससित राम्रो सम्वन्ध भएको र अहिले आएर यसलाई टुटाउने षडयन्त्र गरिएको आरोप लगाइन् । ‘त्यो सम्वन्ध विगार्न ठूलो षडयन्त्र भइरहेको छ,’ उनले भनिन्, ‘कांग्रेस मधेसमा टुट्यो भने नेपाल कमजोर हुन्छ भन्ने कतिपयको धारणा रहेको छ ।’

मधेस कब्जा गर्नका लागि मधेसी मोर्चाले सुनियोजित षडयन्त्र गरिरहेको पनि कोइरालाले दाबी गरिन् । अहिले नेपालमा रहेको समस्या समाधान गर्न भारतले तत्काल कदम चाल्नुपर्ने उनले बताइन् । भारतको पहलबिना नेपालमा शान्ति र स्थायित्व नआउने पनि उनले धारणा राखिन् ।

अन्तिममा उनले भनिन्, ‘नेपाललाई कमजोर पार्न ठूलो ग्राण्ड डिजाइन छ । यसलाई असफल पार्नुपर्छ ।’

परराष्ट्रमन्त्री थापालाई रेको ‘बधाइ’

ranjit ray

सुजातापछि भारतीय राजदूतले रेको बोल्ने पालो आयो । उनले निर्धक्क हिन्दीमा भाषण गरे । सुरुमा आफ्नो देशको गणतन्त्र दिवसका अवसरमा कार्यक्रम गरेको भन्दै रेले धमलाप्रति आभार प्रकट गरे ।

त्यसपछि उनले अपेक्षितरुपमा दुई देशबीच कायम रहेको रोटीबेटीको सम्वन्धमाथि प्रकाश पारे । राजदूतले भने, ‘धेरैले सोध्छन् भारतले नेपालमा के चाहन्छ ? यो सही प्रश्न होइन । सोधिनुपर्छ नेपाल के चाहन्छ ? नेपालको चाहना नै भारतको चाहना हो ।’

भारतीय राजदूतले बोल्दा सबैको चासो थियो, नाकाबन्दीका विषयमा के भन्लान् ? राजदूतले दुई देशबीचको सम्वन्धमा सकारात्मक विकास भएको भन्दै मञ्चमै रहेका परराष्ट्रमन्त्री कमल थापालाई बधाइ दिए ।

‘अहिले केहि सकारात्मक नतिजा आएको छ’ संविधान संशोधनतर्फ ईंगित गर्दै उनले भने, ‘यसका लागि उहाँ (उपप्रधानमन्त्री थापा) को ठूलो योगदान छ । उहाँले यसैका लागि दुई-दुई पटक भारत भ्रमण गर्नुभयो । समस्या समाधानको दिशातर्फ रहेकोमा उहाँलाई बधाइ दिन्छु ।’

नेपालको प्राकृतिक स्रोत उपयोगका लागि भारतको साथ अनिवार्य रहेको भन्दै उनले दुई देशबीचका परियोजनाहरुलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

‘मैले राजदूतको पदमा बसेर यो कुरा बोल्नुहुन्छ कि हुँदैन, तर बोल्दैछु,’ भन्दै उनले भारतले जहिले पनि नेपालका आन्दोलनकारी शक्तिलाई सघाएको विषयमा टिप्पणी गरे । राजदूत रेले भने, ‘पञ्चायतकालमा कांग्रेसले भारतमा बसेर आन्दोलन गर्यो, हामीले उनीहरुलाई उचालेको आरोप लाग्छ । प्रजातन्त्र आएपछि माओवादीले भारतमा लुकेर जनयुद्ध गरे, हामीले उनीहरुलाई संरक्षण दिएको आरोप लाग्छ । अहिले मधेसी दलहरुले नाकामा बसेर आन्दोलन गरिरहेका छन्, हामीले सघाएको आरोप लाग्छ ।’

आजको सम्वोधनमा राजदूत रेले ‘नेपालमा बढ्दो भारतविरोधी भावना’ प्रति चिन्ता व्यक्त गर्न भने छुटाए ।

असझदारी हट्नै आँट्योः थापा

kamal thap

भारतीय राजदूतबाट पाएको प्रशंसाबाट हौसिएका परराष्ट्रमन्त्री कमल थापाले पनि भारतको खुलेर प्रशंसा गरे ।

नेपालमा भुकम्प जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राहतमा तत्कालै देखाएको अग्रसरता र पुनर्निर्माणमा घोषणा गरेको सहयोगका लागि उनले धन्यवाद दिए । ‘दुई देशबीचको सम्वन्धमा यदाकदा उतारचढाव हुन्छ, यसलाई अस्वभाविक ठान्नु हुँदैन,’ उनले भने ।

केहि महिनायता दुई देशबीचको सम्वन्धमा उत्पन्न चिसोपना विस्तारै मेटिन थालेको पनि उनले बताए । थापाले भने, ‘यो कुरा भन्दा आज मलाई सन्तोष हुन्छ कि दुवै देशको साझा प्रयासबाट सम्वन्धको न्यानोपना विकास भएको छ । असमझदारीको कालो बादल हट्दै गएको छ ।’

मधेसका बाँकी माग पनि पूरा हुन्छन्ः रामचन्द्र

ramchandar paudel

अन्तिम वक्ता नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेस आन्दोलनप्रति नेपाली कांग्रेस सबैभन्दा उदार रहेको उल्लेख गरे ।

आफ्नै पार्टीकी नेतृले एकछिन अगाडी मधेस आन्दोलनलाई हाँक दिएको सुनेका पौडेलले भने, ‘नेपाली कांग्रेसकै अग्रसरतामा संविधान संशोधन भएको हो । उहाँहरुले अझै केहि मागहरु बाँकी छन् भन्नु भएको छ । ती मागहरुलाई पनि प्याकेजमा सम्वोधन गर्न कांग्रेसले अग्रसरता लिन्छ ।’

राजदूतले सोधेः मन्त्रीपरिषदको निर्णय के हो ?

सबैको बोल्न पालो सकिएपछि आयोजक धमलाले उपस्थित पत्रकारहरुसित वक्ताहरुलाई प्रश्न सोध्न आग्रह गरे । राजदूत रेलाई सोधियो-‘नेपालमा संविधान संसोधन भएपछि नाकाबन्दी खुल्छ भनिएको थियो । संविधान संशोधन भयो, नाका कहिले खुल्छ ?’

पत्रकारले नेपालीमा सोधेको प्रश्नलाई ऋषि धमलाले राजदूतलाई हिन्दीमा उल्था गरेर सुनाउन खोजे, ‘नाकाबन्दी कब खुल्ताहे ?’ यद्यपि राजदूत रे आफैं नेपाली राम्रोसित बुझछन् ।

रेले हिन्दीमा जवाफ दिए, ‘यो प्रश्न मलाई होइन, मधेसी दलहरुलाई सोध्नुस् । उहाँहरुले सीमामा धर्ना बसेर अवरोध गरिरहनु भएको छ । हामीले त संविधान संशोधनलाई सकारात्मक नै भनेका छौं । अब बाँकी विषयहरु पनि सुल्झाउनुपर्नेमा जोड दिएका छौं ।’

‘बाँकी विषय के-के हुन् त ?’ पत्रकारको प्रश्न आयो ।

‘मन्त्रीपरिषदले के-के निर्णय गरेको थियो ?’ उनले प्रतिप्रश्न गरे ।

अर्का पत्रकारले सोधे, ‘अब प्रधानमन्त्रीको भारत भ्रमण के हुन्छ ?’

भारतीय राजदूत रेले प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारत तयार रहेको बताए । उनले भने-‘हामी भ्रमण मिति तय हुने प्रतिक्षामा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?