Comments Add Comment

आर्यन र नम्रताको सम्वन्धः मित्रताको सीमाभित्र कि बाहिर ?

Aaryan and Namrata (2)

चिरञ्जीवी पौडेल
१४ माघ, काठमाडौं । आर्यन सिग्देल र नम्रता श्रेष्ठ ‘रिल जोडी’ हुन् । तर, यतिबेला किन-किन, कता-कता रियल जोडी झैं देखिएका छन् ।

यो ‘क्लासिक जोडी’ अहिले अनामनगरस्थिति एउटा गल्लीभित्र रहेको एउटा घरको एउटा कोठाभित्र एउटा सोफामा बसेर एकसाथ मुस्कुराइरहेको छ । नयाँ फिल्म रिलजपूर्वको व्याकुलताका बीच पनि दुवै ‘कुल’ देखिएका छन् । बाहिर मौसम पनि आज ‘कुल’ नै छ । कुल मिलाएर भन्दा, सबै चिज अनुकुल छ ।

‘मेरो एउटा साथी छ’ फिल्मबाट सुरु भएको उनीहरुको सहयात्रा अहिले वास्तविक जीवनमा पनि मेरो एउटा साथी छ भन्ने स्थितिसम्म पुगेको छ । मेरो एउटा… पछि उनीहरुले दुईवटा फिल्ममा मात्रै सँगै काम गरेका छन् । र, पनि उनीहरुको तुलना विगतका भुवन केसी-तृप्ती, राजेश हमाल-कृष्टी जस्ता हिट जोडीसित गर्न थालिएको छ ।

दुवै गर्वसाथ भन्छन्, ‘हामी एक-अर्कालाई सबैभन्दा सुहाउने अन-स्क्रिन जोडी हौं ।’

०००

‘तपाईंहरुको पहिलो भेट कहिले/कहाँ भएको हो ?’

जवाफ आर्यनले दिए ।

‘मेरो एउटा साथी छ’ को सेटमा नै होला ।

तर, नम्रताले तत्कालै सच्याइन् । ‘होइन, त्योभन्दा अघि एउटा म्युजिक भिडियोमा सँगै काम गरेका थियौं ।’

‘ए साँच्चि त’ भन्दै आर्यनले टाउको कन्याए । उदित नारायणले गाएको एउटा गीतको म्युजिक भिडियो उनीहरुले सँगै मोडलिङ गरेका रहेछन् । त्यसैको म्युजिक भिडियो सुटिङका क्रममा उनीहरुको पहिलो भेट भएको रहेछ । त्यतिबेला आर्यनको पहिले फिल्म किस्मत रिलिज भइसकेको थियो भने नम्रताको पहिलो फिल्म सानो संसार रिलिजको तयारीमा थियो । नम्रताले किस्मत हलमा हेरिकी थिइन् भने आर्यनले नम्रताका थुप्रै म्युजिक भिडियो टेलिभिजनमा हेरेका थिए ।

आर्यनले त भुलिसके, तर नम्रतालाई सो गीतको बोल याद छ, ‘लाजको लाली बोकेर आइदेउ न…।’ दुई दिनसम्म गीतको सुटिङ हुँदा उनीहरुबीच खासै हिमचिम भएन । आर्यनले नम्रतालाई खासै भ्यालु दिएनन् भने नम्रता त लाजको लाली दलेरै बसेकी थिइन् । काम सिध्याएर दुवैजना बाटो लागे ।

Namrata Shrestha (3)

०००

‘मेरो एउटा साथी छ’ मा निर्देशक सुदर्शन थापाले दुवैलाई फेरि एक ठाउँ ल्याए । यहि फिल्म उनीहरुको मित्रताको ‘टर्निङ प्वाइन्ट’ बन्यो ।
हाई बजेटको उक्त फिल्म लामो समय लगाएर देशका विभिन्न स्थानमा सुटिङ गरिएको थियो । सुटिङका क्रममा आर्यन पनि खुल्दै गए भने नम्रताले पनि लाजको लाली पुछ्दै गइन् । पोखरादेखि इलाम र घलेगाउँदेखि कुलेखानीसम्म पुगेर सुटिङ गर्दा यी दुई अच्छा दोस्त बनिसकेका थिए ।

त्यतिबेला दुवै अविवाहित थिए । दुवै जवान थिए, भन्नैपरेन ।

‘नजिक हुँदै जाँदा लभ पर्ला जस्तो भएन ?’

‘नेभर’ आर्यनले तुरुन्तै गम्भीर जवाफ दिए, ‘त्यस्तो झुकाव भएको भए हाम्रो सम्वन्ध यति दिगो हुँदैनथ्यो ।’

नम्रताले सही थापिन् ।

‘एलियनलाई मैले कहिले पनि त्यो रुपमा हेरिनँ ।’

मेरो एउटा साथी छ मा आर्यन र नम्रताको जोडीलाई दर्शकले रुचाए । फिल्मले व्यवसायिक सफलता पनि पायो । दुवैलाई भविष्यका नम्बर १ नायक र नायिकाका रुपमा पनि हेरियो । आजका दिनमा, आर्यन सम्भवतः नेपालका नम्बर १ नायक नै हुन् । नम्रताको करिअरलाई भने एउटा स्क्याण्डलले ह्याम्पर गर्‍यो र नम्बर १ को स्थान कब्जा गर्न चुकिन् । यद्यपि, विस्तारै पुनरुत्थान गर्दैछिन् ।

छानेर मात्रै फिल्म खेल्ने छवी बनाएका आर्यनले दुई वर्षअघि आफैं फिल्म निर्माणमा हात हाले । नोभेम्बर रेनमा उनले नायिका बनाए नम्रतालाई ।

‘त्यो फिल्ममा कसलाई नायिका बनाउने भन्ने दोधार नै भएन हामीलाई,’ आर्यन भन्छन्, ‘फिल्मको स्त्रिmप्ट लेख्दादेखि नै मेरो जोडीमा नम्रतालाई सोचिएको थियो ।’ आर्यनले नम्रतालाई हिरोइन छान्नुका थुप्रै कारण छन् । जसलाई आर्यनले बुँदागत रुपमा यसरी बताउछन् ।

१. फिल्मको स्त्रिmप्टले नै नम्रताको माग गरेको थियो ।

२. नम्रताको नम्र व्यवहार र ‘प्रोफेस्नालिज्म’ बाट आर्यन पहिलेदेखि नै प्रभावित थिए ।

३. नेपाली फिल्म इन्डस्ट्रीमा आफूलाई सबैभन्दा म्याच गर्ने हिरोइन नम्रता नै हुन् भन्नेमा उनी ढुक्क भइसकेका थिए ।

४. दुवै एक अर्कालाई राम्रोसित बुझेका असल मित्र भएका हिसाबले काम गर्न पनि सहज होला भन्ने आर्यनलाई परेको थियो ।

५. निर्देशक पनि नम्रताकै पक्षमा थिए ।

नभन्दै नोभेम्बर रेनमा यो जोडीको खुबै तारिफ भयो । आर्थिक रुपमा पनि आर्यनलाई फलिफाप भयो । लगातार दुईवटा हिट फिल्म खेलेपछि दुवैलाई लाग्यो, ‘हामी सुहाउँदो मात्र नभएर लक्की जोडी पनि हौं ।’

Aaryan Sigdel (3)

यसैबीच, आर्यनले विहे गरे आफ्नी प्रेमीका सपनासित । तर, कथाले कुनै नयाँ मोड लिएन ।

‘आर्यनले विहे गर्दा तपाईंलाई भित्र चसक्क दुखेन ?’ नम्रतालाई सोधियो ।

‘दुख्यो दुख्न त,’ नम्रताले खित्खिताउँदै भनिन्, ‘तर, एलियनको विहेको कारण होइन ।’

दुख्नुको कारण अर्कै रहेछ । आर्यनको बिहेताका उनी बिरामी थिइन् । आर्यनको बिहेकै दिन उनको अपरेसन रहेछ । नम्रताको भनाइमा दुखाईको रहस्य विहे नभएर ‘अपरेसन’ थियो ।

विहेपछि पनि आफूहरुबीचको निकटतामा कुनै कमि नआएको एकै स्वरमा बताउँछन् उनीहरु ।

‘पहिले लभ परेको भए बिहेपछि हाम्रो सम्वन्ध टुट्न सक्थ्यो होला,’ आर्यन भन्छन्, ‘त्यस्तो केहि नभएकाले सम्वन्ध ज्यूँका त्यूँ रह्यो ।’
आर्यनलाई सोधियो, ‘नम्रतासित तपाईंको निकटतालाई लिएर घरमा श्रीमतीबाट कहिल्यै घुमाउरो असन्तुष्टी प्रकट भएको छ कि छैन ?’
नम्रता पो जवाफ दिन तम्सिन् ।

‘यस्तो हो,’ उनले व्याख्या गरिन्, ‘विहे अगाडी नै उहाँलाई थाहा थियो कि एलियन कलाकार हो भन्ने । त्यस हिसाबले अरु हिरोइनहरुसित संगत हुन्छ भन्ने त माइन्ड मेकअप पहिल्यै थियो होला ।’
आर्यनले पानीमा हिउँ थप्दै भने, ‘म घरभित्र पसेपछि एउटा श्रीमान हुन्छु भने घरबाहिर निस्केपछि कलाकार हुन्छु । उनले प्रश्न उठाउने ठाउँ नै छैन ।’
उनले प्रमाण पनि पेस गरे, ‘हामी दुवै जना नमी र मेरो फिल्म सँगै बसेर हेरिरहेका हुन्थ्यो । उनलाई त्यस्तो केहि परेको भए पक्कै हाम्रो फिल्म खुशी भएर हेर्दिन थिइन् होला ।’

आर्यनकी पत्नी सपनासित नम्रताको सामान्य चिनजान मात्रै छ । प्राय समुहमा भेट मात्रै भेट हुने भएकाले अन्तरंग सम्वन्ध नभएको नम्रताले बताइन् ।

नम्रतालाई कहिल्यै घरमा खाना खान बोलाउनुहुन्न ? भन्ने प्रश्नमा आर्यनले खित्खिताउँदै जवाफ दिए, ‘मेरै घरमा खाने टुंगो हुँदैन ।’

‘तपाईं चैं कहिले बिहे गर्ने ?’ यो नम्रतालाई सोधिएको प्रश्न ।

‘म विवाहको विषयमा एकदमै पोजिटिभ छु,’ उनले भनिन् । तर, यो कस्तो जवाफ हो ?

मैले सोधेको कहिले बिहे गर्नुहुन्छ ?

उनले फेरि पनि सिधा जवाफ दिइनन् । प्रश्नको छेउछाउ मात्रै हिँडिन्, ‘विवाह गर्नुपर्छ भन्ने लागेको छ । मेरो नजिकका मानिसहरु विहे गरेर एकदमै खुशी भएको देखेकी छु ।’

‘फेरि नयाँ प्रेमी भेटाउनु भएको गसिप चलिरहेको छ नि ?’ यो प्रश्न सोध्दा उनी मरिगए बोल्न मानिनन् ।

आजका दिनमा आर्यन र नम्रता एक अर्काको प्रशंसा गरेर थाक्दैनन् । दुवैलाई एक-अर्कामा पाएका अवगुण कोट्याउन भनियो । तर, मरिगए मानेनन् । प्रशंसाको चाहिँ बिस्कुन नै सुकाए ।

०००

नम्रता आर्यनका बारेमा:

१. आफ्नो कामप्रति एकदमै जिम्मेवार छन् । उनलाई मिडियाहरुले एउटा अल्लारे र गैरजिम्मेवार कलारकारको छवी बनाइदिएकोमा अचम्म लाग्छ । यो एउटा ‘मिथ’ मात्र हो ।

२. हरदम रमाइला छन् । उनीसित काम गर्दा मैले कहिल्यै बोर फिल गर्नुपरेको छैन ।

३. पर्सनालिटी पनि राम्रो छ । जे लुगा लगाए पनि सुहाउछ । तर, लुगा मिलाएर लगाउन अल्छि गर्छन् । छुस्स पालेको दाह्री पनि अति सुहाएको छ ।

४. मेरो मनको कुरा उनी पहिल्यै बुझ्छन् । उनीसित मेरो केमेस्ट्री मात्र होइन, म्याथम्याटिक्स पनि मिल्छ ।

आर्यन नम्रताका बारेमा

१. अति कोमल हृदयकी छिन् । दुःखी मान्छे देख्नै सक्दिनन् । जसलाई पनि सहयोग गर्न तम्सिन्छिन् ।

२. कामप्रति अत्यधिक लगाव छ । सिकाउनलाई धेरै मिहिनेत गर्नै पर्दैन । इशारा गरे पुग्छ ।

३. अभिनय पनि बेजोड छ । जस्तोसुकै भूमिकामा फिट हुन सक्छिन् र आफ्नो चरित्रमा न्याय गर्न भरपुर प्रयास गर्छिन् ।

४. सुन्दर पनि उत्तिकै छिन् । उनका आँखाहरुले नै धेरै कुरा बोल्छन् ।

यो आर्यनलाई नम्रताले बोलाउने ‘निक नेम’ हो, एलियन अर्थात् अर्को ग्रहको प्राणी । तर, यसमा नम्रताको ‘लजिक’ अर्कै छ, ‘एउटा तोते बोल्ने बच्चाले आर्यन भन्यो भने एलियन सुनिन्छ नी, कति राम्रो लाग्छ ।’ उनले माया गरेर भन्ने गरेकी हुन् रे ।

‘मैले माया गरेको मान्छे पो हो त,’ उनले आउँदो फिल्म क्लासिकको डाइलग बोलिदिइन् । आर्यनले चाहिँ नम्रतालाई ‘माया गरेर’ नमी भन्छन् ।

आर्यनले अब अरुले बनाएका फिल्ममा नखेल्ने घोषणा गरिसकेका छन् । अब उनी आफ्नै ब्यानरको फिल्ममा मात्रै खेल्ने छन् ।

‘तपाईंले बनाउने सबै फिल्ममा हिरोइन त नम्रतालाई नै होला होइन ?’ भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिए, ‘९९ सय प्रतिशत नमी नै हुन्छ । स्क्रप्ट अलिअलि तोडमोड गरेर भए पनि उनलाई सुट हुने बनाउँछु ।’

भनेपछि अब कलिउडका अरु हिरोइनले आर्यनसित फिल्म खेल्छु भनेर सपना देख्ने दिन गए ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment