Comments Add Comment

दुबईमा नेपालीको सफलताको कथा: चालकदेखि व्यवसायीसम्म

ramesh_shrestha

– रामप्रसाद ढुंगेल
त्रिभुवन विश्वविद्यालयबाट बीबीएस गर्ने पहिलो ब्याचका विद्यार्थी हुन्, रमेश श्रेष्ठ । उनी एकाएक गाउँबाट गायब भए,साथीभाइ-आफन्तलाई लाग्यो- उनी युरोप वा अमेरिकातिर अध्ययनका लागि गए ।

रमेश जिल्लामा चिनिएका व्यापारी थिए । त्यसैले धेरैको अर्को अनुमान थियो, उनी व्यापारकै सिलसिलामा बिदेसिए । तर, रमेश भने दुबई पुगेका थिए । सन् २००८ मा दुबई आएका उनी तीन वर्ष यतै हराए । अहिले सफल व्यवसायी बनेका छन् ।

द्वन्द्वको चपेटामा परेपछि

स्याङ्जाका रमेशको पुख्र्यौली रूपमै आर्थिक, सामाजिक, राजनीतिक पृष्ठभूमि मजबुत थियो । उनका बुवा गुप्तबहादुर श्रेष्ठ भारतीय रिटायर्स आर्मी, स्थानीयस्तरमा व्यापारी, समाजसेवी तथा गाविसअध्यक्ष समेत भइसकेका । रमेशले बहुराष्ट्रिय उत्पादन पेप्सी, पोखरा नुडल्स तथा अन्य नेपालकै चर्चित ब्रान्डको जिल्लाकै डिलरसिप लिएर व्यापार गर्दै थिए । यातायात व्यवसायदेखि विभिन्न खाद्य सामग्रीको व्यापार गरिरहेका थिए ।

तर, देशमा चलेको माओवादी सशस्त्र द्वन्द्वको चपेटामा उनी परे । माओवादी कार्यकर्ताले उनका दुई मालवाहक ट्रकमा आगजनी गरेपछि उनी लाखौंको घाटामा परे । त्यही क्षतिपूर्ति गर्न उनी सुटुक्क दुबई आएका थिए ।
दुबईस्थिति डेस्टिनी वान वान कन्सल्टेन्सीको कार्यालयमा रमेशले आफ्नो विगत सम्झिए ।

‘गाउँको व्यापार सालोलाई जिम्मा लगाएर सवारीचालकको काम गर्ने भिसामा आएको हुँ,’ रमेश विगत भन्छन्, ‘गाउँमा मेरै पसलमा काम गर्ने एकजना दाइसँगै आएको हुँ ।’

दुबई आएपछि उनी आफन्त, छिमेकी, साथीभाइ कसैको सम्पर्कमा आएनन् । आक्कलझुक्कल कोही चिनजानकाले भेटिहाले भने व्यापारको सम्भाव्यता अध्ययनका लागि घुम्न आएको बताउँथे । रमेश भन्छन्, ‘मेरो त डिएनएमै व्यापार छ कि के हो  यहाँ आएर व्यापारिक अवस्था, सम्भावना र चुनौतीको अध्ययन गरिरहेँ ।’

प्रस्ट वक्ता, युवा जोस र जाँगर भएका श्रेष्ठले ट्राभल तथा टे्रडिङको क्षेत्रमा स्लिपिङ पार्टनरहरूसँग काम गरिरहेका थिए ।
उनले युएईमा बढ्दै गएको नेपाली कामदारको माग पूर्ति गर्ने काम नै सहज ठाने । विश्व बजारमा सरल, सस्ता, इमानदार, बहादुर, मिलनसार तथा विश्वसनीय कामदारको रूपमा परिचय बनाएका नेपालीलाई युएई आउने वातावरण उनले आन्तरिक रूपमा गरेकै थिए ।

‘यो तीन वर्ष व्यापारिक क्षेत्रको अनुभव संगाल्दै बित्यो । सुरुमा युएईमा रहेका प्रतिष्ठित कम्पनीमा चिनजानका मान्छेलाई आकर्षक तलबमा ल्याउन पहल गरेँ,’ रमेश भन्छन्, ‘कामदारको माग अत्यधिक बढ्न थालेपछि संस्थागत तथा औपचारिक रूपमै नेपालमा म्यानपावर खोल्ने निष्कर्षमा पुगेँ ।’

नर्सहरूलाई निःशुल्क लाखौंको जागिर

नेपालमा औपचारिक रूपमा रिक्रुटिङ एजेन्सी स्थापना गरेर नेपालका मात्र नभएर भारत, फिलिपिन्स, भियतनाम, श्रीलंका, म्यानमार, इन्डोनेसिया, पाकिस्तानका कामदारलाई उनले युएई झिकाउँथेँ ।

‘सामान्य कामदारदेखि सेक्युरिटी गार्ड, क्लिनर्सदेखि सुपरभाइजर, केयरगिभरदेखि स्थापित हस्पिटलमा नर्सका लागि कामदार ल्याएँ,’ रमेश भन्छन्, ‘नेपालमा दुई वर्ष काम गरेका नर्सलाई एक रुपैयाँ सर्भिस चार्ज नलिई युएई ल्याउँछु ।’

युएईका स्थापित हस्पिटल र क्लिनिकहरूमा आफूले झिकाएका ३८ जना नर्सले अहिले सफलतापूर्वक काम गरिरहेको उनी बताउँछन् ।
‘उनीहरूले मासिक लाख रुपैयाँभन्दा बढी कमाइरहेका छन्,’ रमेश भन्छन्, ‘अहिले १५ नर्सहरू केही साताभित्रै मेरो नेपालमा रहेको डेस्टिनी ह्युमन रिसोर्स प्रालिमार्फत आउन लागेका छन् ।’

के हो डेस्टिनी वान वान कन्सल्टेन्सी ?

युएईको बर्जुमानमा रहेको डेस्टिनी वान वान कन्सल्टेन्सी स्ान् २०१३ मा स्थापना भएको हो । यो नेपाल सरकारको मान्यताप्राप्त रिक्रुटिङ एजेन्सी डेस्टिनी ह्युमन रिसोर्स प्रालिको शाखा कार्यालय हो । यो एचआर कन्सल्टेन्सी स्थापना गरेपछि २०१३ देखि २०१५ सम्म असीमित कामदारलाई युएईमा जागिरका झिकाएको रमेश बताउँछन् ।

‘युएई सरकारलाई करिब ८५ लाख रुपैयाँ धरौटी राखेर स्थापना भएको नेपालीको पहिलो एचआर कन्सल्टेन्सी नै डेस्टिनी वान वान एन्ड एचआर कन्सल्टेन्सी हो,’ रमेश भन्छन्, ‘आन्तरिक रूपमा भिजिट भिसामा युएई आएर काम नपाएकालाई पनि क्षमता अनुसारको काम खोजिदिने डेस्टिनी वान वान एन्ड एचआर कन्सल्टेन्सीले गरेको छ ।’

रमेश सरकारले गत असारमा गरेको निःशुल्क भिसाको अवधारणालाई अवैज्ञानिक भन्छन् । ‘यसलाई सम्बन्धित देशहरूसँग औपचारिक छलफल गरेर निश्चित मापदण्ड तोकेर मात्र लागू गर्नुपर्छ,’ रमेश भन्छन् । रोजगारका लागि विदेश जान चाहने नेपाली कामदारलाई गाउँगाउँका एजेन्टमार्फत नभई सीधै एजेन्सीमा सम्पर्क गर्दा सरल शुल्क लाग्ने श्रेष्ठले दाबी गरे ।

 समाजसेवा

रमेश समाजसेवामा रुचि राख्छन् । आफ्ना पिताको समाजप्रतिको सेवाभावबाट प्रभावित श्रेष्ठ गरिब, अपांग र असहायलाई निरन्तर सेवा गरिरहेको बताउँछन् ।

‘हरेकपटकको नेपाल भ्रमणमा सामाजिक सेवाको क्षेत्रमा काम गर्ने केही न केही संस्था वा व्यक्तिलाई सहयोग प्रदान गर्दै आएको छु,’ रमेश भन्छन्, ‘पछिल्लोपटक ललितपुरमा रहेको छहारी बालगृहलाई एनआरएनमार्फत सहयोग जुटाउने काम गरेँ । तर, प्रचारका लागि सहयोग गर्नुहुन्न भन्ने मेरो मान्यता छ ।’

रमेश एनआरएन युएईका उपाध्यक्ष पनि हुन् भने स्याङजा सेवा समाज युएई लगायत अन्य विभिन्न सामाजिक संस्थामा आबद्ध छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment