Comments Add Comment

कीर्तिमानी पौडिबाज गौरिकालाई एनआरएनको बधाई

Gaurika-sing

२९ माघ, काठमाडौं । १२ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पौडीमा एक रजतसहित ब्यक्तिगत चार पदक दिलाएर कीर्तिमान राखेकी गौरिका सिंहलाई गैर आवासीय नेपाली संघ (एनआरएन)ले बधाई दिएको छ ।

गैरआवासीय नेपाली गौरिकाले पहिलोपटक साग प्रतियोगितामा पौडी खेलमा नेपाललाई पदक दिलाइन् भने एकै खेलाडीले धेरै पदक प्राप्त गरेर अर्को कीर्तिमान पनि राखेकी छन् ।

‘नेपालको तर्फबाट प्रतिस्पर्धा गरिरहेकी गौरिकाले १३ बर्षकै उमेरमा आफ्नो मातृभूमीका लागि दिएको योगदानप्रति गैरआवासीय नेपाली संघ गौरिका र उनको परिवारलाई हार्दिक बधाइ ज्ञापन गर्दछ,’ एनआरएन प्रवक्ता रन्जु थापाले  बिज्ञप्ति निकालेर भनेकी छिन्, ‘यो खबरले सम्पूर्ण नेपालीसँगै गैरआवासीय नेपाली समुदायलाई हर्षित तुल्याएको छ ।’

गैरआवासीय नेपाली संघले लामो समयदेखि बिदेशमा बसोबास गरिरहेका नयाँ पुस्ताका नेपाली प्रतिभाहरुलाई नेपालको राष्ट्रिय टीममा समावेश गर्न पहल गर्दै आइरहेको थियो ।

तुलनात्मकरुपमा सुविधा र स्रोतसाधन सम्पन्न ठाउँमा पहुँच भएका र उत्कृष्ट तालिम प्राप्त गरेका नयाँ पुस्ताका गैरआवासीय नेपालीहरुलाई टीममा समावेश गर्दा उनीहरुको नेपालप्रतिको लगाव बढ्ने र मुलुकले पनि फाइदा लिने हाम्रो बिश्वासलाई गौरिकाले थप बल प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । उनले गैरआवासीय नेपाली प्रतिभालाई प्रोत्साहन र सहजीकरण गर्न पनि सरकार र सम्बन्धित निकायलाई अपिल गरेकी छिन् ।

‘आगामी दिनमा गैरआवासीय नेपाली समुदायबाट गौरिकाजस्तै नेपाली नागरिकताधारी प्रतिभाहरुलाई नेपालको प्रतिनिधित्व गराउन यसले थप हौसला मिल्ने बिश्वास हामीले लिएका छौं,’ एनअारएनले भनेको छ, ‘नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् लगायतका निकायहरुलाई गैरआवासीय नेपाली प्रतिभालाई प्रोत्साहन र सहजीकरण गर्न पनि हामी हार्दिक अपिल गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment