चीन सरकारले अगाडी सारेको एक क्षेत्र एक सडक परिकल्पनामा नेपाल एक हिस्सा हुन पाएकोमा दुई देश बीचको ऐतिहासिक दौत्य सम्बन्ध तथा आर्थिक सम्बन्धले थप उचाई लिनेमा म पूर्णरुपमा विश्वस्त छु । साथै शील्करोड इकोनोमिक वेल्टको प्रवर्द्धनबाट हाम्रा आपसी व्यवसायिक सम्बन्ध अझ बढी परिणाममुखी हुने हाम्रो विश्वास छ ।
यसबाट सांच्चिकै नेपाल, चीन तथा दक्षिण एशियाकै व्यवसायिक पारवहन विन्दूको रुपमा रुपान्तरण हुने हाम्रो विश्वास छ । नेपाल र चीन बीच विशेष आर्थिक मार्गको शुभारम्भ तथा त्यसको आधुनिकीकरणबाट दुवै देशका जनताका साथै समग्रमा यो क्षेत्रनै लाभान्वित हुने हाम्रो विश्वास छ ।
व्यापारः
मित्रराष्ट्र चीन नेपालको प्रमुख व्यापारिक साझेदार पनि हो । तर नेपालको चीनसँगको व्यापार घाटा निकै उच्च रहेको कुरामा हामी सवै जानकार छौं । आर्थिक वर्ष सन् २०१४-१५ को व्यापार घाटा करिव ९९० मिलियन अमेरिकी डलर रहेको थियो ।
उक्त आर्थिक वर्षमा नेपालले चीन तर्फ करिव २३.७ मिलियन अमेरिकी डलरको वस्तु तथा सामानहरु निर्यात गरेको थियो भने चीनबाट करिव १०१३.७ मिलियन अमेरिकी डलरको वस्तु तथा सामानहरु आयात गरेको थियो । मित्र राष्ट्र चीन सरकारले करिव ८ हजार नेपाली उत्पादनहरुलाई दिएको शुन्य भंसार महशुलको सुविधाप्रति चिनिया सरकारमा आभार प्रकट गर्दछौं ।
चीन सरकारले उपलव्ध गराएको यस सुविधाबाट नेपाली उत्पादनहरुको चीनमा निर्यात प्रवर्द्धन तथा व्यापार अभिवृद्धिमा भरपुर उपयोग गरी व्यापार घाटा कम गर्ने महत्वपूर्ण औजार बन्नु पर्ने हाम्रो धारणा छ ।
बढ्दो व्यापार घाटा कम गर्न तथा नेपाली वस्तुहरुको चीनमा निर्यात बढाउनका लागि हामी चिनियां लगानीकर्ताहरुलाई नेपालमा वस्तु तथा सेवा उत्पादन गरि त्यसलाई चीन तथा दक्षिण एशियाको वजारमा निर्यात गर्न हामी खूला रुपमा आव्हान गर्दछौं ।
यति वेला नेपाल आर्थिक रुपमा अत्यन्त कमजोर रहेको र नीतिगत रुपमा वाह्य लगानीका लागि अत्यन्त सहज वातावरण भएकाले नेपालमा लगानी गरि नेपालको आर्थिक विकासमा सहयोग गर्न हामी चिनियाँ निजी क्षेत्रलाई विशेष आग्रह गर्दछौं ।
व्यापार मेला तथा प्रदर्शनीः
नेपाल उद्योग वाणिज्य महासंघले हरेक वर्ष नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ । यस वर्षको पाँचौ अन्तराष्ट्रिय व्यापार मेला हिजो मात्र सकिएको छ । उक्त मेलामा करिव ३०० वटा स्टलहरु मार्फत वस्तु तथा सेवाहरुको प्रर्दशनी गरिएको थियो भने उक्त मेलामा चीनबाट करिव ९० वटा कम्पनीहरुका साथै १२० जना चिनिया व्यवसायिक प्रतिनिधिमण्डलको सहभागिता रह्यो ।
यसबाट उक्त मेला प्रति चिनिया व्यवसायीहरुको निकै धेरै अभिरुची रहेको पाइयो । म यस अवसरको भरपुर उपयोग गर्दै यहाँ उपस्थित हुनुभएका चिनियां उद्यमी व्यवसायी तथा लगानीकर्ताहरुलाई अर्को वर्षको उक्त मेलामा अझ बढी सहभागिताका लागि हार्दिक आमन्त्रण समेत गर्दछु ।
नेपालमा लगानीका अवसरहरुः
एशियाका आर्थिक शक्ति राष्ट्रहरु चीन तथा भारतको बीचमा रहेको करिव ३ करोड जनता वसोवास गर्ने सुन्दर देश नेपालमा लगानीका असिमित अवसरहरु रहेका छन् । साथै पुरै दक्षिण एशिया क्षेत्रनै सिंगो वजारको रुपमा रहेको छ ।
यी सम्भावनालाई नै देखेर नेपाल उद्योग वाणिज्य महासंघले केही महत्वपूर्ण लगानीका क्षेत्रहरु उर्जा तथा जलविद्युत, पर्यटन, खानी तथा खानीजन्य, कृषि, पूर्वाधार, सूचना तथा संचार प्रविधि तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख लगानीका क्षेत्रको रुपमा प्रवर्द्धन गरिरहेको छ ।
उर्जाः
नेपाल र चीन बीच उर्जा क्षेत्रमा सहकार्यका प्रशस्त अवसर तथा सम्भावनाहरु रहेका छन् । जसबाट समग्र दक्षिण एशियाकै बढ्दो उर्जा मागलाई संवोधन गर्न सकिन्छ । त्यसैगरि चीनको लगानी तथा प्राविधिक सहयोगमा नेपालमा सौर्य उर्जा, थर्मल उर्जा, वायू उर्जा, जियोथर्मलका क्षेत्रको विकास तथा उपयोगको अनगिन्ती सम्भावना रहेका छन् । म यस महत्वपूर्ण अवसरमा सम्पूर्ण चिनिया लगानीकर्ताहरु, प्रवुद्ध उद्यमी व्यवसायीहरुलाई नेपालमा उर्जा क्षेत्रमा लगानीका लागि आव्हान गर्दछु ।
पर्यटनः
नेपाल र चीन बीचको सहकार्यमा गर्न सकिने अर्को महत्वपूर्ण क्षेत्र भनेको पर्यटन हो । नेपालमा पर्यटन अर्को महत्वपूर्ण आकर्षणको क्षेत्र पनि हो । शान्तिका प्रतिक भगवान गौतमवुद्धको जन्मभूमी नेपाल वौद्धधर्मावलम्वीहरुका लागि अत्यन्त पवित्र स्थल पनि हो । यो सवैभन्दा आकर्षणको थलो पनि हो । वौद्ध परिक्रमको अवधारणालाई दुवै पक्षको सहकार्यमा अगाडी बढाउन सकिने प्रशस्त सम्भावना छ ।
नेपालबाट चीनका महत्वपूर्ण शहरहरु जस्तो ल्हासा, छेङदु, ग्वाङझाउ र कुनमिङसंग प्रत्यक्ष हवाई सम्पर्क विस्तार भएका कारण चिनियां पयर्टकहरुका लागि नेपाल एक प्रमुख गन्तव्य हुन सक्दछ जहांबाट दक्षिण एशियाका अन्य देशहरुमा समेत भ्रमण गर्न सहज हुनुको साथै दक्षिण एशियाली पर्यटकहरुलाई चीन भ्रमण गर्ने प्रमुख स्थल समेत ।
खानी तथा खानीजन्य क्षेत्रः
नेपाल हिमालय क्षेत्रमा अवस्थित देश को । यस देशको उत्तरी क्षेत्र निकै लामो पर्वतमालाहरुले ढाकेको छ । नेपालको यो सवैभन्दा महत्वपूर्ण क्षेत्र पनि हो । यस क्षेत्रमा निकै उच्च गुणस्तरका खानीजन्य उत्पादनहरु, वहुमुल्य पत्थरहरुको भंडारण रहेको छ । यस अवसरमा अथाह भंडारण रहेका यस्ता वहुमुल्य उत्पादनहरुको खोजी तथा उत्खननमा चिनियां सहयोगका लागि म हार्दिक आव्हान गर्दछु ।
कृषिः
त्यस्तै सहकार्यको सम्भावना रहेको अर्को महत्वपूर्ण क्षेत्र कृषि हो । कृषि उत्पादन, वनजन्य उत्पादनहरुको विकासमा महासंघले चिनियां संयुक्त लगानी तथा प्रविधिमा थुप्रै काम गर्न सक्ने सम्भावना रहेको छ । यस क्षेत्रमा चिनियां लगानी, प्रविधि तथा प्रविधिगत तौरतरिकाहरुको उपयोग मार्फत नेपालले ठूलो लाभ उठाउन सक्ने सम्भावना तर्फ विशेष ध्यानाकर्षण गराउदछु ।
पूर्वाधार विकासः
कुनमिङ र छेङदुबाट नेपाल हुंदै दक्षिण एशिया जोड्ने व्यापारिक मार्गको परिकल्पनाबाट यस क्षेत्रको आर्थिक विकासमा निकै ठूलो तरंग ल्याउने छ । यसलाई मनन गरि नेपालमा आधुनिक शहरी पूर्वाधार निर्माण, भवनहरु तथा ड्याम्स, सडक तथा पूलपुलेसाहरु लगायत अन्य महत्वपूर्ण क्षेत्रको निर्माणमा चिनिया अनुभव, प्रविधि तथा लगानीका लागि म विशेष आग्रह गर्दछु ।
यस्तै गरी, सूचना तथा संचार प्रविधि, शिक्षा तथा स्वास्थ्य तथा यससंग सम्बन्धित अन्य केही क्षेत्रहरु नेपालमा लगानीका लागि सवैभन्दा उर्वर र आकर्षक क्षेत्रहरु हुन ।
सिल्क रोड इकोनोमिक बेल्ट निर्माणको अभियान, सरकार तथा निजी क्षेत्र दुवैबाट सबैभन्दा बढी लगानी हुने परियोजना हो । यस वृहद परियोजना अन्तरगत लगानीका लागि निकै धेरै क्षेत्रहरु खुला गर्ने हाम्रो विश्वास छ ।
विशेष आर्थिक क्षेत्रः
हामी नेपालमा चिनियां लगानी प्रवर्द्धनमा सहकार्यको लागि अत्यन्त उत्साही छौं । विशेष गरि विशेष आर्थिक क्षेत्रमा चिनले हासिल गरेको अनुभवका आधारमा नेपाल चिन सिमा नजिक रहेका नेपाली भूभागमा विशेष आर्थिक क्षेत्र निर्माणका लागि बढीभन्दा बढी चिनियाँ लगानीको अपेक्षा हामीले गरेका छौं । यस्ता क्षेत्रमा उत्पादन हुने वस्तुहरुको चिनमा निर्यात मार्फत यसले दुवै देशका जनता लाभान्वित हुने विश्वास नेपाली निजी क्षेत्रको रहेको छ ।
महासंघ र सीसीपीआइटीको सम्बन्धः
म यस समयको भरपुर उपयोग गर्दै यो अत्यन्त महत्वपूर्ण वैठकको आयोजना गर्ने आयोजक सीसीपीआइटी र नेपाल उद्योग वाणिज्य बीचको आपसी सम्बन्धका विषयमा केही वोल्न चाहान्छु । सन् २००२ को नोभेम्वर ३० मा आपसी लाभका क्षेत्रमा सहकार्य गर्ने उद्देश्य सहित एक सहमतीपत्र (एमओयू) मा दुवै संस्था बीच हस्ताक्षर भई व्यापार, लगानी तथा आर्थिक सहयोगका क्षेत्रमा सहकार्य हुंदै आएको छ ।
निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघले सीसीपीआइटीको आयोजनामा कुनमिङमा प्रत्येक वर्ष हुने चीन दक्षिण एशिया व्यवसायिक फोरम तथा छेङदुमा हुने दक्षिण एशिया सिचुवान व्यवसायिक प्रवर्द्धन राउण्ड टेवल कन्फरेन्समा नेपालको तर्फबाट सक्रिय रुपमा भाग लिंदै आएको छ ।
महासंघले कुनमिङमा आयोजना हुने चीन साउथ एशिया एक्सोमा नेपाली व्यवसायी प्रदर्शनकर्ताहरुको सहभागिताको व्यवस्थापन गर्दै आएको छ । सन् २०१५ मा आयोजना भएको नवौं चाइना साउथ एशिया वीजनेश फोरममा भाग लिनुको साथै सोही समयमा आयोजना भएको २२औं कुनमिङ मेला तथा दोश्रो चाइना साउथ एशिया एक्स्पोमा महासंघले नेपालका तर्फबाट नेपाल पेभिलियनको निर्माणका साथै नेपाली सांस्कृतिक कार्यक्रम आयोजनाको व्यवस्थापन गरेको थियो । तत्कालिन सम्माननीय प्रधानमन्त्री सुशिल कोइराला उक्त मेलामा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन आउनु भएको थियो ।
आगामी दिनहरुः
म यस महत्वपूर्ण बैठकको भरपुर उपयोग गर्दै महासंघ र सीसीपीआइटी बीच आगामी सहकार्यका केही क्षेत्रहरुका वारेमा केही प्रस्ताव राख्न चाहान्छु ।
· हामीले आगामी दिनमा व्यापार तथा लगानी सम्बन्धी विशेष मेला तथा प्रर्दशीनको आयोजनामा जोड दिनुपर्छ ।
· नेपाल चीन व्यापार, आर्थिक तथा संस्कृतिक सहयोगका क्षेत्रमा संयुक्त अध्ययन प्रकाशन गरिनु पर्छ ।
· आपसी अनुकुलतालाई समेत हेरेर महासंघको स्वर्ण महोत्सव वर्षका अवसरमा नेपालमा नेपाल चीन लगानी सम्बन्धी सेमीनारको आयोजनाका लागि महासंघ व्यग्र प्रतिक्षामा रहेको छ ।
· चाइना साउथ एशिया वीजनेश फोरम तथा चाइना साउथ एशिया एक्सोका माध्यमबाट दक्षिण एशियामा आर्थिक समृद्धि ल्याउने कार्यका लागि महासंघले सदैव ती कार्यक्रमहरुमा महत्वपूर्ण रुपमा आफ्नो सहभागिता जनाउंदै आएको र महासंघले आगामी दिनमा पनि निरन्तर लागि रहने छ ।
मलाई आशा छ, यस महत्वपूर्ण बैठक पश्चात हाम्रा सम्बन्ध तथा सम्पर्क अझ बढी वाक्लिदै जानुको साथै महासंघ र सीसीपीआइटी तथा निजी क्षेत्रका माध्यमबाट समेत आउंदा दिनमा निकै धेरै ठोस परियोजनाहरुको थालनी भई दुवै देशका जनताहरु लाभान्वित हुने छन् ।
आफ्नो मन्तव्यलाई समापन गर्नुअघि, यस किसिमको बैठक आयोजना गर्न सहयोग दिने नेपाल तथा चीन सरकार, सीसीपीआइटीलाई विशेष धन्यवाद दिन चाहान्छु । मलाई विश्वास छ, हामी बीच स्थापित आपसी सम्बन्धबाट केही संयुक्त लगानीका परियोजनाहरुलाई मूर्तरुप दिन तथा आपसी व्यवसायिक सम्बन्धलाई थप प्रगाढ वनाउन सफल हुने आशा एवं विश्वास प्रकट गर्दछु ।
अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषदले वेइजिङमा आयोजना गरेको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले गरेको सम्बोधन ।
प्रतिक्रिया 4