३ चैत, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा मधेसी र पहाडी समुदायबीचको सद्भाव प्रमुख राजनीतिक दलहरुले बिगार्न खोजेको आरोप लगाएका छन् । पहाडी र मधेसी समुदायबीचको सम्बन्ध विगार्नकै लागि ठूला दलले मधेसका जिल्लामा पहाडका जिल्ला जोडेर प्रदेश बनाएको तर्क महतोको छ ।
सद्भावना पार्टीले आफ्नो २६औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष महतोले प्रमुख दलहरुले पहाडी र मधेसी समुदायबीचको सम्बन्ध विगार्नका लागि आफूहरुलाई पहाडी समुदायविरोधीको रुपमा प्रस्तुत गरेको बताए ।
उनले पूर्वमा झापा, मोरङ्ग र सुनसरी तथा पश्चिममा कैलाली र कञ्चनपुरका वासिन्दाले मधेसका जिल्ला रहने प्रदेशबाट अलग हुन नचाहेको दाबी गर्दै मधेसका जिल्लालाई पहाडका जिल्ला रहेको प्रदेशमा गाभिए पनि मधेशको जमिन कसैले पनि उठाएर लान नसक्ने भनाई राखे ।
सद्भावनाका अध्यक्ष महतोले आफूहरुले मुलुक विखण्डन गर्नका लागि नभइ राष्ट्रिय एकता मजबुत पार्नका लागि आन्दोलन गरेको भन्दै अबको आन्दोलनमा सरकारलाई झुकाउने दाबी गरे ।
कार्यक्रममा मानवअधिकारकर्मी दमननाथ ढुंगाना, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले मधेसी मोर्चाको मागलाई सरकारले बेवास्ता गर्न नहुने धारणा राखे । उनीहरुले आफ्ना माग पूरा गर्नका लागि दवाब दिने नाममा जनताले कष्ट पाउने गरी बन्द र हड्तालका कार्यक्रम नगर्न मधेसी नेताहरुलाई आग्रह गरे ।
प्रतिक्रिया 4