Comments Add Comment

यी मन्त्रीलाई राजतन्त्र चाहियो रे !

संविधानको खिल्ली उडाउँदै मन्त्रीको झण्डा हल्लाउँदै

demonastration_royalist1४ वैशाख, काठमाडौं ।  राप्रपा नेपालका तर्फबाट स्थानीय विकास सहायक मन्त्री बनेका विराज विष्टले शनिबार नारायणहिटी राजदरबार अगाडि असंवैधानिक हरकत देखाएका छन् । सहायकमन्त्री विष्टले राजदरबारको मूलगेटमा झाडू बोकेर नेपालमा राजतन्त्र आवश्यक रहेको बताए ।

विष्ट गणतन्त्र नेपालको नयाँ संविधानअनुसार सपथ खाएर मन्त्री पदमा आसीन भएका हुन् । उनले गणतन्त्रात्मक संविधान अनुसार सपथ खाएका छन् । संविधानतः कोही पनि नागरिकलाई अहिलेको संविधान मान्दिँन भन्ने हक हुन्छ । तर, संविधानमा सपथ खाएर गणतन्त्रको विरोध गर्नु सोभनीय एवं नैतिक कार्य होइन ।

‘शाही युवा शक्ति’को ब्यानरमा शनिबार नारायणहिटी परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । त्यहाँ सयपत्री फूलको माला लगाएर उपस्थिति जनाएका  संघीय मामला तथा स्थानीय विकास सहायक मन्त्री विष्टले प्रत्येक नेपालीको मन र मष्तिकमा राजसंस्था रहेको भन्दै राजसंस्थाविनाको राज्यको कल्पना गर्न नसकिने बताए ।

सरसफाइ अभियानमा सहभागी हुने क्रममा उपस्थित युवाले ‘राजा आउ देश बचाउ’ भन्ने नारा लगाएका थिए । सहभागीहरुले गणतन्त्र अफापसिद्ध र असफल साबित भइसकेको दाबी गरेका थिए । सहायकमन्त्री विष्टले युवाहरुको हौसला बढाएका थिए ।

बहालवाला मन्त्री भएर पनि गणतन्त्र र संविधानको खिल्ली उडाउने बिराज विष्ट राप्रवा नेपालका निवर्तमान सहअध्यक्ष केशरबहादुर विष्टका छोरा हुन् । केशरबहादुर विष्ट पार्टीबाट कारवाहीमा परिसकेका छन् । राप्रपा अध्यक्ष कमल थापाले विष्टपुत्रलाई पनि कारवाहीको तयारी गरिरहेका छन् । मन्त्री विष्टराप्रपा नेपालका केन्द्रीय सदस्य समेत हुन् ।
संविधान नमाने पनि भत्ता र सत्ताको लोभ

demonastration_royalist2
सहायकमन्त्री विष्टले संविधान र गणतन्त्रको विरोध गर्दै राजतन्त्रको वकालत गरे पनि उनीलाई मन्त्री बनेर झण्डा हल्लाइरहन निकै ठूलो रहर लागेको छ । राप्रपा नेपालले उनलाई कारवाहीस्वरुप मन्त्रीबाट फिर्ता बोलाउँदा पनि उनी मन्त्रीको कुर्सीमा लिसो जसरी टाँसिइरहेका छन् ।

पार्टीमा ठूलो योगदान गरेका आधारमा नभई कमल थापाले केशरबहादुृर विष्टको आग्रहमा विराजलाई मन्त्री पदमा विराजमान गराएको भन्दै राप्रपा नेपालकै त्यागी नेताहरुले असन्तुष्टि जनाउँदै आएकाछन् ।

केशरबहादुर विष्टका छोरा विराजजस्तै राप्रपा नेपाल छाडेर समानान्तर राप्रपा खोलेका स्व. पदमसुन्दर लावतीकी बुहारी बबिना मोक्तान लावती अहिलेसम्म राप्रपा नेपालकै सांसद छिन् ।

पदमसुन्दरका छोरा समानान्तर राप्रपामा लागेर कमल थापाविरुद्ध सक्रिय भए पनि अध्यक्ष थापाले बबिनाको समानुपातिक सांसद पद खोसेका छैनन् । तर, केशरबहादुरमाथि कारवाही भएपछि समानान्तर राप्रपातिर झाडू बोक्दै हिँड्न थालेकाले मन्त्री बिराजको पद धरापमा परेको छ ।

पार्टी र संविधान पनि नमान्ने तर मन्त्री पद पनि नछाड्ने विराजमाथि अब कारवाही हुने राप्रपा नेपालका एक नेताले बताए ।

शनिबार नारायणहिटी अगाडि भाषण गर्दै सहायक मन्त्री विष्टले पार्टीको एजेण्डामा अडिग रहँदा रहँदै  आफूलाई फिर्ता बोलाइनु दुःखद भएको र राप्रपा नेपालले एजेण्डा छाडे पनि आफूहरुले सिद्धान्त, निष्ठा कहिले पनि परित्याग नगर्ने, संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा अविचलित अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment