Comments Add Comment

सय युवती हेर्दा पनि जीवनका लागि भेटिइनन् ‘उजेली’

jiwan rishi and om dai
नायक जीवन लुइटेलका लागि खोजी गरिएकी ‘उजेली’ फेला नपर्दा अहिले निर्देशक ऋषि लामिछानेलाई हैरानी भएको छ । अनलाइनखबरको कार्यलयमा आएका ऋषिले भने-‘सय यूवती हेरिसक्यौं, तर ‘उजेली’ भेटिएकी छैनन् ।’

वास्तवमा यी ‘उजेली’को हुन्, यीनको चर्चा गरौ । ‘उजेली’ एक पात्र हुन्, जसले यही नाममा बन्न लागेको नयाँ चलचित्रको शिर्ष भूमिकामा काम गर्नेछिन् । ऋषि लामिछानेको निर्देशनमा ओम ध्वज राइले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘उजेली’का लागि नायिकाको खोजी गरिएको हो ।

यसका निर्माता र निर्देशक नयाँ यूवती नै लिने सोचमा छन् । चलचित्रको कथा पूर्ण रुपमा गाउँले परिवेशमा तयार हुनेछ । ऋषिले ‘उजेली’ बन्ने यूवतीका बारेमा भने-‘उनीमा सत प्रतिशत अभिनय छ भने सुन्दरता पनि त्यस्तै हुनुपर्छ । नेपाली नारीको प्रतिनिधित्व गर्ने, नेपाली सपना देख्ने र नेपालमै बाँच्ने यूवतीको भूमिकामा हामीले ‘उजेली’लाई प्रस्तुत गर्नेछौ ।’

चलचित्रका लागि अर्जुन पोख्रेलले संगीत भरिसकेका छन् भने जगदिश्वर थापाले कथा पनि तयार पारिसकेका छन् । मुख्य भूमिकामा काम गर्ने यूवती पाएको खण्डमा १५ दिन भित्र सुटिङ सुरु गर्ने योजना निर्देशकको छ ।

निर्माता ओमध्वजले यस भन्दा अगाडि भिडियो चलचित्र बनाइसकेका छन् । उनी लामो समयदेखि सिंगापुरमा बस्दै आएका छन् । नायक जीवन लुइटेल अमेरिकाबाट आए लगतै उनलाई चलचित्रमा अनुवन्धित गरिएको हो ।

नेपाली चलचित्र क्षेत्रमा सफल चलचित्र निर्माण गर्दै आएका ऋषिका लागि ‘उजेली’ बन्ने यूवती को होलिन्, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment