Comments Add Comment

भूकम्पको पीडा बिर्सँदै पर्यटन व्यवसायी

Barpak-earthquake-center-of-nepal-29१० वैशाख, काठमाडौं । नेपाली पर्यटनले विस्तारै गति लिँदै थियो, त्यहीबेलामा एक्कासी भूकम्प गएपछि स्वात्तै सुस्तायो । भूकम्पले पुरातात्विक सम्पदा, पदमार्ग र होटल तथा ट्रेकिङ रुटमात्रै भत्काएन, नेपाल क्षतविक्षत भएको गतल सन्देश विश्वभर फैलिन पुग्यो ।

अहिले वर्षदिन पुगेपछि भूकम्पले पर्यटन क्षेत्रमा पुर्‍याएको भौतिक क्षति त विस्तारै पुरिँदैछ, तर भूकम्पपछि विश्व बजारमा फैलिएको गलत सन्देश मेटाउन हामीलाई लामै समय लाग्ने देखिन्छ । भूकम्प गएको एक वर्ष पुगिसक्दा समेत हामीले ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्न सकेका छैनौं ।

भूकम्पले प्रमुख पर्यटकीय क्षेत्रहरु लाङटाङ, मनास्लु, सगरमाथा, अन्नपूर्ण आधार शिविर, काठमाडौं उपत्यकाका ऐतिहासिक तथा सांस्कृतिक धरोहरमा क्षति पुर्‍याएको थियो । खासगरी लाङटाङ र मनास्लु, गौरीशंकर, लामाबगर, रोल्वालिङ क्षेत्रको पदमार्ग, होटल तथा ट्रेकिङ लजमा धेरै क्षति भएको थियो ।

‘विस्तारै भूकम्पले भत्किएका संरचनाहरु पुनर्निर्माण गर्ने काम भइरहेको छ’ नेपाल टुरिजम बोर्डका सदस्य कृष्ण अर्यालले अनलाइनखबरसँग भने- ‘भूकम्पले सबैभन्दा बढी क्षति पुर्‍याएको भनिएका लाङटाङ, मनास्लु लगायतका क्षेत्रहरुमा पनि सुरक्षित रुपमा पर्यटक लैजान सकिन्छ ।’

भूकम्पपछि रोकिएको सगरमाथा आरोहणका लागि अहिले सयौं आरोही सगरमाथा आधार शिविर पुगिसकेका छन् । अहिले सगरमाथामा आइसफलको बाटो बनाउने काम भइरहेको छ ।

गत वर्ष सगरमाथा आरोहणका लागि गएका धेरै आरोहीहरु भूकम्पपछि हिमपहिरो जाँदा हाताहात भएका थिए । तर, भूकम्पले धेरै ठूलो असर नपारेको हुँदा यो सिजनमा सगरमाथा आरोहण सफल रुपमा सम्पन्न हुने पर्यटन विभागको भनाइ छ ।

भूकम्पले भत्काएका होटल, लज तथा पदमार्ग मर्मत गर्ने काम भइरहेको अर्यालले बताए । ‘कतिपय संरचनाहरु स्थानियले बनाइरहेका छन्, कतिपय संरचना व्यवसायिक संस्थाहरुले बनाउने भएका छन्, कतिपय संरचनाहरु राज्यले बनाइरहेको छ’ उनले भने- ‘पर्यटकका लागि नेपालका सबै ठाउँहरु सुरक्षित भइसकेका छन्, खान बस्नका लागि होटल तथा लजहरु पनि तयार भइसकेका छन् ।

भूकम्पले अन्नपूर्ण र खुम्बु क्षेत्रमा खासै क्षति पुर्‍याएको छैन । नेपालमा ट्रेकिङ गर्न आउने कुल पर्यटकमध्ये अन्नपूर्ण क्षेत्रमा ६० प्रतिशत पुग्ने गर्छन् । सगरमाथा क्षेत्रमा २० प्रतिशतको हाराहारी पदयात्री पुग्छन् भने बाँकी २० प्रतिशत पदयात्री लाङटाङ, मनास्लु, गौरिशंकर, धौलागिरी लगायतका रुटहरुमा पुग्ने गर्छन् ।

यतिबेला पर्यटन व्यवसायीमा भूकम्पको पीडा र त्रास करिव ९० प्रतिशत हटिसकेको अर्यालको भनाइ छ । भूकम्पले पर्यटकीय जिल्ला दोलाखमा ठूलो क्षति पुर्‍याएको थियो । सदरमुकाम चरिकोट र जिरीमा रहेका अधिकांश होटल तथा लजहरु भत्किएका थिए ।

अहिले ९० प्रतिशत होटलहरु सञ्चालनमा आइसकेको क्षेत्रीय होटल संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए । भूकम्पले दोलखाका ५० प्रतिशत होटलहरु ध्वस्त भएका थिए । ती होटलहरु नयाँ भूकम्प प्रतिरोधी भवन बनाएर सञ्चालनमा आइसकेको उनको भनाइ छ । दोलखामा करिव १०० वटा पर्यटकीय होटलहरु सञ्चालनमा छन् ।

सम्पदाहरु अझै बनेनन्

काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय प्रोडक्ट ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुमा भूकम्पले ठूलो क्षति पुर्‍यायो । भूकम्पका कारण देशभरका ५८१ व्टा मठमन्दिर र सम्पदाहरु क्षतिग्रस्त छन् ।

पुरातत्व विभागका अनुसार १३७ वटा प्राचीन स्मारक र मठमन्दिर ध्वस्त भ एभने ४४ सम्पदामा आंशिक क्षति पुगेको छ ।

काठमाडौंमा सबैभन्दा बढी मठमन्दिर र सम्पदाको क्षति भएको छ । काठमाडौंमा १९७ वटा सम्पदामा क्षति पुगेकामा ३५ वटा सम्पदा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

विभागका अनुसार भूकम्पका कारण १७ वटा जिल्लाका सम्पदामा क्षति पुगेको छ । ललितपुरका ७०, भक्तपुरका ४२, काभ्रेका ३७ तथा गोरखाका ३५ वटा सम्पदामा क्षति पुगेको छ ।

तर, भूकम्प गएको एक वर्ष वितिसक्दा समेत यी सम्पदाको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन् । पुनर्निर्माण प्राधिकरणले पूर्णता पाउन ढिलाइ भएपछि सम्पदाको पुनर्निर्माणको काममा पनि ढिलाई भएको पुरातत्व विभागको भनाइ छ ।

यी सम्पदाहरुको मर्मत सम्भार तथा पुनर्निर्माणका लागि ७ अर्ब रुपैयाँभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ ।

सम्पदाहरुको पुनर्निर्माण भूकम्प गएकै दिन वैशाख १२ गतेबाट औपचारिक रुपमा सुरु गर्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । ‘हामीले ५ वटा सम्पदाको काम १२ गतेबाट थालनी गर्छौं’ उनले भने- ‘प्रधानमन्त्री सहित प्रमुख दलका शिर्ष नेताहरुले सम्पदा पुनर्निर्माणको काम सुरुवात गर्नुहुनेछ ।’

सबै राजनीतिक सक्ति पुनर्निर्माणमा एकै ठाउँमा छन् भन्ने सन्देश प्रवाह गर्नका लागि सामुहिक शिलान्यासको व्यवस्था मिलाइएको हो । पुरातत्वले १०४ सम्पदाको डिजाइन गरेर स्वीकृत गरिसकेको छ । ४९ सम्पदा पुनर्निर्माणका लागि टेन्डर अहृवान भइसकेको दाहालले बताए ।

खुल्लामञ्चबाट पर्यटकलाई आहृवान गरिने

पर्यटन मन्त्रालयले भूकम्प गएको दिन वैशाख १२ गते खुलामञ्चमा भव्य कार्यक्रम आयोजना गर्ने भएको छ ।

पर्यटनसँग सरोकार राख्ने सरकारी निकाय, पर्यटनसँग सम्बन्धित संघसंस्था, पर्यटन व्यवसायी, पर्यटकलगायतको बाक्लो उपस्थिति हुने पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए ।

‘नेपाल सुरक्षित भएको सन्देश प्रवाह गर्नका लागि खुल्लामञ्चमा कार्यक्रम गर्न लागेका हौं’ मन्त्री पोखरेलले भने- ‘विश्वभरिका पर्यटकलाई नेपाल सुरक्षित छ,  भ्रमणमा आउनुस् भनेर आहृवान गर्न भव्य समारोह आयोजना गर्न लागेका हौं ।’

भूकम्पको त्रासदीलाई विदाइ गरी सुखद भविष्यको कल्पनासहित कार्यक्रम आयोजना गर्न लागिएको हो, कार्यक्रम नेपाल पर्यटन बोर्डले आयोजना गर्न लागेको हो । कार्यक्रममा सोही दिन नेपाल आउने पर्यटकलाई स्वागत गरी दिउँसोको खाना खुवाउने मन्त्री पोखरेलले बताए ।

पर्यटकलाई नेपालका कला संस्कृति र झाँकी प्रस्तुत गरेर मनोरञ्जन दिलाई भूकम्पको त्रासदी हटाउने योजना छ । पर्यटकलाई खुल्लामञ्चमै खाना खुवाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment