Comments Add Comment

वालकृष्ण ढुंगेलको प्रश्नः प्रचण्ड साइरन बजाउँदै हिँड्ने, मैले जेल जानुपर्ने ?

'टाउको काटेर ल्याउ भन्ने देउवाले जेल जानु नपर्ने ?

Balkrishna-Dhungel१३ वैशाख, काठमाडौं । जनयुद्धकालीन मुद्दामा अदालतले दोषी ठहर्‍याएपछि ओखलढुंगाका एमाओवादी पूर्वसभासद वालकृष्ण ढुंगेल यतिबेला लुकीलुकी हिँडिरहेका छन् । ढुंगेलकै पार्टीको हातमा गृहमन्त्रालय छ, तर ढुंगेल भूमिगत छन् ।

भूमिगत अवस्थामै हिँडिरहेका बेला ढुंगेलसँग अनलाइनखबरकर्मीको भेट भयो । कुराकानीका क्रममा उनले प्रचण्ड, बाबुराम, मोहन वैद्य, शेरबहादुर देउवा, वामदेव गौतम, कल्याण श्रेष्ठ, खिलराज रेग्मी र दुर्जकुमार राईसमेतको नाम लिए ।

‘हिजो हामी गणतन्त्रका लागि युद्ध लडिरहँदा चुनजुम्रा मारेर बस्नेहरु अहिले सत्तामा पुगेका छन्, सिंहदरबारदेखि शीतलनिवाससम्म उनीहरु नै छन् । अनि हामी गणतन्त्रवादीहरुचाहिँ तिनका लागि जेल गइदिनुपर्ने ?’ ढुंगेलले आक्रोश पोखे ।

‘तर, तपाईले उज्जन श्रेष्ठ भुवनको हत्या गरेको होइन ? मान्छे मारेपछि त जेल जानै पर्‍यो नि हैन र ?’ यस्तो प्रश्नमा ढुंगेल अझै तात्तिए- ‘के प्रचण्ड, वैद्य र बाबुराम मेरा कार्यकर्ता हुन् ? के जनयुद्धको कमाण्डर हुँ थिए ? म त उनीहरुको कार्यकर्ताका हुँ ।’ उनले थपे- ‘जनयुद्धमा मान्छे मारिएकै हुन्, हामीले पनि मार्‍यौं, सत्ता पक्षले पनि मार्‍यो ।’

ढुंगेलले अगाडि भने- ‘प्रचण्ड अहिले प्रहरीको गाडी अघि-पछि लगाएर साइरन बजाउँदै, सुतेका मान्छेलाई ब्युँझाउँदै हिँडिरहेका छन्, अनि बालकृष्ण ढुंगेलले चाहिँ जेल गइदिनुपर्ने ? बाबुराम र मोहन वैद्यले जेल जानु नपर्ने, मैले मात्रै किन ? शक्ति बस्नेतलाई गृहमन्त्री बनाउन म जेल गइदिनुपर्ने ? यो कसरी न्यायसंगत हुन्छ ?’

आफ्नो पार्टीका नेताहरुको नाम लिँदालिँदै ढुंगेल देउवातिर खनिए । उनले भने- ‘त्यसबेला हाम्रो टाउको लिएर आउन निर्णय गर्ने शेरबहादुर देउवा जेल जानुपर्दैन ? नेपालको संविधानमा कहाँनेर लेखिएको थियो कि सरकारले टाउको ल्याउनेलाई पुरस्कारको घोषणा गर्न पाइन्छ ? बालकृष्ण ढुंगेलले जेल जानुपर्छ भने देउवाले पर्दैन ? त्यसबेलाका गृहमन्त्री वामदेवहरुले जेल जानुपर्दैन ?’

जनआन्दोलनका बेला जनतामाथि गोली चलाउने दूर्जकुमार राई यतिबेला सशस्त्र प्रहरीको कमाण्डर बनेको ढुंगेलले बताए ।

यति भनिसकेर ढुंगेलले नेपाली सेनाका कुमार लामाको नाम लिए । सेनाले त्यसबेला सरकारको आदेश पालना गरेर मान्छे मारेको ढुंगेलले बताए । ‘टाउको ल्याउन आदेश दिनेहरुचाँहि सत्तामा हालीमुहाली गरिरहेका छन्, कर्णेल कुमार लामालाई जेल हालिएको छ, ‘ढुंगेलले अनलाइनखबरसँग भने- ‘म त भन्छु, आदेशको पालना गर्ने लामालाई अन्याय भइरहेको छ ।

जनयुद्धकालमा माओवादी र राज्य पक्ष दुबैले मान्छे मारेको ढुंगेलले बताए । ‘दुबै पक्षले मान्छे मारेकै हो, युद्ध भनेकै मर्ने मार्ने हो,’ उनले भने, विगतमा कांग्रेसले पनि मान्छे मार्‍यो, सुशील कोइरालाले प्लेन अपहरण गरे, अहिलेका एमाले नेताहरु पनि टाउको काटेरै आएका हुन् ।’

अदालतमाथि आपत्ति

जनयुद्धको समाप्तिपछि भएको शान्ति सम्झौताअनुसार युद्धकालका घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत् टुंगो लगाइनुपर्नेमा नियमित अदालती प्रक्रियाबाट आफूहरुलाई जेल हाल्ने निर्णय गर्नु शान्तिसम्झौताको मर्म विपरीत भएको ढुंगेलले दाबी गरे ।

‘नियमित अदालतबाटै जनयुद्धकालीन मुद्दाको टुंगो लगाउने हो भने किन चाहियो शान्ति सम्झौता ? किन चाहियो सत्य निरुपण तथा मेलमिलाप आयोग ? ढुंगेलले भने- ‘कल्याण श्रेष्ठले प्रधानन्यायाधीशबाट विदा हुनेबेलामा अदालतमा भएका मुद्दा सत्यनिरुपणमा नसर्ने आदेश दिएर गएका छन्, यो शान्ति सम्झौताको मर्म विपरीत छ ।’

कल्याण श्रेष्ठले जस्तै खिलराज रेग्मीले पनि अदालतलाई शान्ति सम्झौताको मर्म विपरीत प्रयोग गरेको ढुंगेलको आरोप छ । उनी भन्छन्- अब हामी अदालतविरुद्ध आन्दोलनमा उत्रन्छौं, हामी अदालतबाट अन्यायमा पर्‍यौं ।

अदालत पीडित संघ गठन

यसैवीच सत्य निरुपण आयोगले हेर्नुपर्ने मुद्दा नियमित अदालतले हेरेको भन्दै ढुंगेल लगायतका ओखलढुंगाका माओवादी नेताहरुले ‘जनयुद्धकालीन मुद्दामा अदालत पीडित संघ’ गठन गरेका छन् ।

Balkrishna-Dhungel1
ढुंगेलसँग एमाओवादी ओखलढुंगाका अध्यक्ष बाबुराम गौतम

संघको केन्द्रीय संयोजकमा ओखलढुंगा एमाओवादी अध्यक्ष बाबुुराम गौतम छन् भने बालकृष्ण ढुंगेल सदस्य छन् । १३ सदस्यीय कार्यसमितिमा पूर्वसभासद केशव राई, वैद्य माओवादीका मोहन खड्का, एमाओवादी कोषाध्यक्ष चम्पा कार्की, एलिसा कार्की, शंकर गिरी लगायत छन् ।

अदालत पीडित संघको सल्लाहकारमा विप्लव माओवादीमा रहेका अभिवक्ता एकराज भण्डारी छन् । संघले सर्वोच्च अदालतविरुद्ध आन्दोलन गर्ने र खिलराज रेग्मी एवं कल्याण श्रेष्ठको घर घेराऊ गर्नेसम्मका आन्दोलनको तयारी गरिरहेको ढुंगेलले अनलाइनखबरलाई बताए ।

अदालत पीडित संघका संयेाजक बाबुराम गौतमले शान्ति सम्झौता र संविधानको मर्म र भावना अनुसार अदालतमा रहेका मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमा सर्नुपर्ने बताए ।

साथै क्रान्तिको अवधिमा भएका घटनामा कसैलाई पनि जेल पठाउन नहुने उनले बताए । कुमार लामालाई पनि जेल हाल्नु न्यायसंगत नभएको गौतमले दाबी गरे ।

अदालतविरुद्ध आन्दोलनमा उत्रनु हास्यास्पद भएन र ? यो प्रश्नमा गौतम र ढुंगेल दुबैले विगतमा एमालेका नेताहरुले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायलाई फाँसी दे भन्दै सडकमा नाराबासी गरेको जवाफ दिए । आफूहरुले अदालतविरुद्ध कसैलाई फाँसीको माग नगर्ने र शान्तिपूर्ण आन्दोलन गर्ने उनीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment