Comments Add Comment

प्रधानमन्त्रीको पर्यटकलाई आहृवान : नेपाल सुरक्षित छ, ढुक्कसँग घुम्न आउनुहोस्

Ghumphir Years 2073

१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य रहेको बताएका छन् । पर्यटकीय गन्तव्यमा भूकम्पको प्रभाव अत्यन्त न्यून रहेको बताउँदै उनले ढुक्कसँग नेपाल भ्रमणमा आउन विदेशीलाई आहृवान गरे ।

‘भूकम्पले १५ प्रतिशत पर्यटकीय गन्तव्यमा मात्र असर पारेको हो, सबै ठाउँमा होइन’ प्रधानमन्त्री ओलीले भने- ‘तर, यस्तो हल्ला फैलियो, नेपालमा घुमफिर गर्न जानै नसकिने गरी क्षतविक्षत भएको छ ।’

‘घुमफिर वर्ष २०७३’ को औपचारिक सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भूकम्पपछि पनि नेपाल पूर्ण रुपमा सुरक्षित रहेको र विश्वको प्रमुख पर्यटकीय गन्तव्य नै कायम रहेको दाबी पारे ।

भुकम्पले नेपाल पूरै ध्वस्त भएको भयो भनेर अन्तर्राष्ट्रिय जगतमा ठूलो हल्ला मच्चाएका कारण पर्यटक आवागमनमा कमी आएको प्रधानमन्त्रीको ठहर छ । उनले हल्लामा विश्वास नगर्न पर्यटकलाई आग्रह समेत गरे ।

‘भूकम्पले मुलुकमा असाधारण क्षति भएपनि त्यसलाई सम्हालेका छौं’ प्रधानमन्त्रीले भने- ‘हामी भौतिक क्षतिको पुनःनिर्माणमा लागिसकेका छौं ।’ घुमघामका लागि नेपाल राम्रो गन्तव्य भएको प्रधानमन्त्रीको भनाई छ ।

प्रकृतिक सुन्दरता, पशुपंक्षी, संस्कृति र हिमालप्रेमीका लागि नेपाल संसारमै उत्कृष्ट गन्तव्य भएको प्रधानमन्त्रीले बताए । बुद्धको जन्मभूमि, पशुपतिनाथ मन्दिर, हलेसी मक्तिनाथ लगायतका दर्जनौं प्रशिद्ध धार्मिक स्थलहरु नेपालमै रहेको उनको भनाई थियो ।

नेपाल पर्वतारोही, पदयात्री, प्रकृतीप्रेमीका लागि उत्तम गन्तव्य रहेको प्रधानमन्त्रीले बताए । नेपालमा विश्वमै दुर्लभ मानिएका एकसिंगै गैंडा, हात्ती, बाघ, रेड पाण्डा लगायत पाइने हुँदा वाइल्ड लाइफ टुरिजमका लागि पनि उक्त रहेको उनको भनाई छ ।

घमफिर वर्षको सुभारम्म अवसर पारेर भृकुटीमण्डपमा नेपालको विविधता झल्काउने तस्वीरहरु प्रर्दशनीमा राखिएको छ । प्रर्दशनी नेपाल टुरिजम बोर्ड र फोटो जर्नालिष्ट क्लबको संयुक्त आयोजनामा सुरु भएको हो ।

कार्यक्रममा सहकारी तथा गरिवी निवारणमन्त्री चित्रबहादुर केसी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द प्रसाद पोखरेल, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment