Comments Add Comment

बस्नेतको नाक र पुनको घुँडो

shakti basnet and ganesh pun

नेपाल दुःखहरुको संग्रहालय । शासक वर्ग यो दुःखको अक्षय मुहान । तर अचम्म, यस घडीमा मिसावटी गठबन्धने शासनका दुई सदस्य आफूलाई देशका दुःखीहरुमध्ये सबैभन्दा दुःखी ठान्छन् । यी अतिशय दुःखी हुन्- गृहमन्त्री शक्ति बस्नेत र आपूर्तिमन्त्री गणेशमान पुन ।

लड्ने स्वयंले बिर्सिसकेको जनयुद्ध लडेर आएका यी बस्नेत र पुन आफूलाई लर्तरो मानिस र चानचुने मन्त्री ठान्दैनन् । यी आफूलाई मानिस मध्येका अब्बल मानिस र मन्त्री मध्येका प्रतिभावान्, समर्थवान्, क्रियाशील एवं कार्यकुशल मन्त्री ठान्छन् । तर, दुर्भाग्य, जता हेर्‍यो, यिनलाई खेद्ने मात्रै छन् । पेरिसडाँडा गयो, यिनलाई जिउँदो फट्याङ्ग्रोलाई भोका कमिलाको गोलोले झैं घेर्छन् र झम्टा मार्छन् । लाजिम्पाट गयो, यिनले दह्रो खप्की खान्छन् । मिडिया हेर्‍यो, यिनमाथि कटाक्ष र निन्दाको घनघोर वर्षा हुन्छ ।

यो सब हेर्छन्, सुन्छन् र यी दुई मनुवा क्रुद्ध मुद्रामा गम खान्छन्- चीज ठीक छैन । चीजलाई हेर्ने तरिका ठीक छैन । आफूमन्त्रीहुँदा कोही डाहाले जलेको छ । आफ्नो सामथ्र्य र कार्यकुशलता स्वीकार गर्न नसकेर कोही दुराग्रहगस्त छ । आफूलाई आफ्नो काम कति राम्रो लाग्छ, तर न राम्रो देखिदिने एउटा आँखो छ, न राम्रो भनिदिने एउटा मुख छ । जताततै खिसिट्यूरी छ, निन्दा छ, खेदो छ । तसर्थ चीज निश्चय नै गलत छ ।

गृहमन्त्री शक्ति बस्नेत र आपूर्तिमन्त्री गणेशमान पुन बेचैन मनोदशामा मनमनै तर्क गर्छन्- मन्त्रीको पदीय दायित्व निर्वाह गर्न के मात्रै गर्न बाँकी छ र ? हिजो राजाले पञ्चहरुलाई निर्देशन दिएझैँ मातहतका प्रहरी र कर्मचारीहरुलाई घरिघरि कति राम्रो निर्देशन दिइएकै छ । कर्तव्यपरायण होऊ । शान्ति सुरक्षा चुस्त दुरुस्त राख । इन्धन वितरणको उचित प्रवन्ध गर । विनम्र भावले जनताको सेवा गर । कसैले कतै गुनासो गर्ने ठाउँ नराख । बस्, मन्त्रीले गर्न सक्ने यत्ति न हो ।

तर, गर्नुपर्ने र गर्न सकिनेजति गर्दागर्दै पनि कतैबाट जस छैन । खालि अपजस । खालि खोइरो । खालि खेदो । कसैमा पनि चीजलाई हेर्ने द्वन्द्ववादी दृष्टि छैन । जतिसुकै बिरलाकोटी किन नहोस्, व्यक्तिको सामर्थ्य र कार्यकुशलताका सीमा हुन्छन् । प्रहरी र कर्मचारीको इमानका सीमा हुन्छन् । राज्यमा श्रोध साधनका सीमा हुन्छन् । वितरण व्यवस्थामा खोट हुन सक्छन् । मातहतका सेवकहरुका नियतमा खोट हुन सक्छन् । यी यावत् सीमा र खोटहरुबीच कसले के गर्‍यो, कति गर्‍यो, कसरी गर्‍यो, चीजलाई हेर्ने त यसरी पो हो । जटिल विषयका छिद्रहरुमा पस्दै नपसी अल्छेहरुका भुत्ते आँखाले चीजलाई हेरेपछि चीजभित्रको द्वन्द्वात्मक यथार्थ कसरी देखिन्छ ?

Khagendra
खगेन्द्र संग्रौला

बरा बिचरा मन्त्री बस्नेत र मन्त्री पुनको दुःखको मुहान इन्धन भएको छ । इन्धन अर्थात् इन्धन वितरणको चौतर्फी व्यथिति । बस्नेत परे इन्धन वितरणको थलोमा शान्ति-सुरक्षा र नीति-नियमको पालना गराउने प्रहरीगणका कमाण्डर । पुन परे चाहिँदो इन्धन आपूर्तिको चाँजो मिलाउने कर्मका कमाण्डर । क्षुब्धलोक एक मुखले भन्छ- यिनको कमाण्डरी खत्तम छ । भुक्तभोगी लोक चिच्याउँदै पोल खोल्छ- प्रहरी आफैं कालोबजारको रक्षक र लाभ प्राप्तकर्ता बनेको छ । मातहतका प्रहरीको ताल यस्तो छ, गृहमन्त्री शक्ति बस्नेत कहाँ छ ?

यसरी यत्रतत्र आक्रोशको आगो बलेका स्वरहरु सुनिन्छन् । अभावग्रस्त लोक सुनी जानेको कुरा कहन्छ- आयल निगम आफैं भ्रष्टाचारको अखडा बनेको छ, आपूर्तिमन्त्री गणेशमानपुन कहाँ छ ?

मन्त्री बस्नेत र मन्त्रीपुन यी कटाक्ष र आक्रामक स्वरहरु सुन्छन्, दिक्क हुन्छन् र सुस्केरा हाल्दै भन्छन्- चीज ठीक छैन । चीजलाई हेर्ने दृष्टिकोण ठीक छैन ।

मन्त्री बस्नेतलाई मातहतका प्रहरीमाथिको आरोपमा पटक्कै विश्वास छैन । मन्त्री पुनलाई एमाओवादी डन बनेर इन्धन हिनामिनामा लाग्यो भन्ने फत्तुरमा झन् विश्वास छैन । कुरो सुन्दा पुनलाई जङ चल्छ । माओवादी जनसेना हुन सक्छ, जुधारु वाइसीएल हुनसक्छ, जनसेवक हुनसक्छ, इन्धन लुटेर जनतालाई ठग्ने डन कसरी हुनसक्छ ? यो असम्भव छ । बस्नेत सही थाप्छन्- हो कमरेड, यो असम्भव छ । चीज ठीक छैन । चीजलाई हेर्ने आँखो ठीक छैन ।

बस्नेत र पुन चीजलाई ठीक पार्न गम्भीर मुद्रामा गम खान्छन् । र, आफूमाथिका आरोपहरुको स्थलगत जाँच गर्न डट्ने अठोट गर्छन् । डटने, सत्य-तथ्य पत्ता लगाउने, झूठको खण्डन गर्ने, आफ्नो छवि सुधार्ने, पार्टीका अनुहारको दाग मेट्ने र चीजलाई चारैतिर ठीक पार्ने ।

कुरैकुरामा इन्धन वितरणस्थलमा छद्म औतारमा जाने मतो भयो । गृहमन्त्री बस्नेत असईको औतारमा जाने, आपूर्तिमन्त्री पुन माओवादी डनको औतारमा उत्रिने । जाने, प्रहरी र माओवादी डनको भूमिका आफैं खेल्ने, प्राप्त कठोर तथ्यका आधारमा झूठा आरोपहरुको खण्डन गर्ने र लोकदृष्टिमा आफूलाई सही सिद्ध गर्ने ।

शीरमा टोप, आङमा बर्दी, पाउमा बूट, कम्मरमा पिस्तोल, हातमा वाकीटकी- मन्त्री बस्नेत ट्याक्क असई बने । शीरमा उल्टो क्याप, कटीमुनि होल्र्याङे जाँघे, छाती खुला भएको कमिज, कानमा मुन्द्रो- मन्त्री पुनले एमाओवादी डनको औतार धारण गरे । बस्नेतका चित्तमा गृहमन्त्री भूमिगत भयो र चित्तको सतहमा असई उत्रियो । पुनको मस्तिष्कमा आपूर्तिमन्त्री नेपथ्यमा पन्छियो र अग्रभागमा डन खडा भयो । यी दुई छद्मभेषी बिहान सखारै जनसेवी नेपाल ग्यास डिपो, वैकुण्ठ नगरीमा शानका साथ हाजिर भए ।

‘आयो, आयो,’ ड्यूटीमा नयाँ लर्दु असईलाई देखेर ग्यासको लाइनमा खुल्दुलीका लहरहरु उठे । नयाँ डनलाई देखेर लाइनवाले जनहरु तर्सिए- ‘लौ साथमा अर्को मैमत्त मिचाहा आयो ।’ लाइनको अगाडि अघि नै सनातनी डनहरु जम्मा भएका थिए । नयाँ असई र नयाँ डनसँग तिनको प्रेमपूर्ण हस्त मिलन भयो, स्नेहमय मुस्कान आदान-प्रदान भयो । यस्तो लाग्यो मानौं तिनका माझ पुरानो र गाढा मितेरी साइनो छ ।

डिपोमा स्थान र हैसियतका हिसाबले मानिसरु दुई कित्तामा बाँडिए । लाइनमा उभिने शासितहरु र लाइन बाहिरका शासकहरु । असई बस्नेत र डन पुन ट्याक्क शासक महलमा दर्ता भए । असई बस्नेतले विस्फारित नजरले वातावरण नियाले । उनका तामसी दृष्टिमा लाइनमा उभिएकाहरु तुच्छ जीव देखिए । र, आफ्नो वरिपरिका डनहरु सच्चा र अच्छा मानव ।

डन पुनले छाती तन्काएर सुसेलो हाल्दै आफ्नो पहिचान प्रस्तुत गरे । किन हो, थाहा छैन, लाइनमा एकाएक हल्का उत्तेजनाको लहर तरिङ्गत भयो । असई बस्नेत सन्किए । र, उनी कठोर स्वरमा कुर्लिए- ‘त्याँ हल्ला गर्ने होइन । म यहाँ छु ।’ डन पुनले निधार नचाउँदै असईसापको ध्वाँसलाई टेको दिए ।

नेपाल ग्यासको गाडी आयो । ग्यासडिपोमा खलबली छायो । लाइन हुत्तिएर अघि सर्‍यो । गाडी वरिपरि मानिसको टनाटन घुइँचो लाग्यो । अव्यवस्थाको मौका छोपेर डनहरुले सिलिन्डर उडाए । असई बस्नेतले मग्नमुद्रामा रमिता हेरे । नवोदित डन पुनले पुराना डनहरुलाई सघाए । लाइनका सिधासादा जन आकाश चिरिने गरी चिच्याए । असईलाई शासकत्व वोध भयो । र, उनले हिटलरी पोजका साथ आदेश दिए- ‘लाठी….’ निमुखाहरुमाथि हल्का लाठी चार्ज भयो । महिलाहरु लछार-पछारमा परे । वृद्धवृद्धाहरु धकेलिएर भूमिसात भए । र, सिलिन्डरहरु बाहुबलीहरुका शिकार भए ।

वातावरण जब किञ्चित शान्त भयो, असई बस्नेतका चित्तको पिँधबाट गृहमन्त्री बस्नेतको चेतावनी आयो- ‘ज्यादती कम गर्नू, असईमाथि हमला भए चोट म गृहमन्त्रीका थाप्लामा पर्छ ।’

डन पुनलाई मस्तिष्कको नेपथ्यबाट उस्तै चेतावनी प्राप्त भयो- ‘अत्तिचार नगर्नू, नयाँ डन कुटिँदा म आपूर्तिमन्त्री धुलाइमा पर्छु ।’

नेपाल ग्यासको अर्को गाडी आयो । र, उही उपक्रम दोहोरियो । शासक महलको बाहुबल प्रयोग, महिलाहरु लछार-पछार, वृद्धवृद्धाहरु भूमिसात्, सिलिन्डरहरुमाथि डनहरुको धावा ।

ग्यासको अर्को गाडी आयो, र फेरि पनि कुरो उही भयो । ‘नयाँ असई राछ्छेस रैछ,’ लाइनमा सन्तापयुक्त क्रोधका लहरहरु उठे । ‘नयाँ डन झनै खतरा, ‘क्रोधमाथि क्रोधको लहर खप्टियो । ग्यासको अर्को गाडी आयो । र, उही कुत्तु कथाको हुबहु पुनरावृत्ति भयो । लाइनका लाटासीधा जनको धैर्यको बाँध टुट्यो । र, ती बिच्केको अरिङ्गालको गोलोझैं शासक डप\mप\mामाथि खनिए । असई बस्नेत कुटिए, डन पुन गोदिए । बस्नेतको नाक बाङ्गयिो, पुनको घुँडो खुकुलियो । ज्यान जोगाउ अभियानमा असई बस्नेतले आर्तनाद गरे- ‘म गृहमन्त्री शक्ति बस्नेत हुँ । गुहार, गुहार, मलाई बचाऊ ।’

पुनले घुँडो मुसार्दै कोकोहोलो मच्चाए-‘आपूर्तिमन्त्री गणेशमान पुन । मारे, मारे, मलाई बचाऊ ।’  अचम्म भयो, पलभरमै मानौं कतै शून्यबाट झरेर सादा पोशाकमा सुरक्षाकर्मीहरुको झुण्ड हाजिर भयो, र त्यसले असई बस्नेत र डन पुनको मूल्यवान् ज्यान बचायो ।

बेलुका गृहमन्त्रीशक्ति बस्नेत र आपूर्तिमन्त्री गणेशमान पुन ग्यास डिपोको यथार्थ परिस्थितिको स्थलगत निरीक्षणको मूल्याङ्कन गर्न जुटे । बस्नेतको बाङ्गो नाक नकौरोले छोपिएको छ, पुनको हात खुकुलिएको घुँडो मुसार्नमा व्यस्त छ । शरीर थिलथिला छन्, आँखासामु अन्धकार छ । न आँखामा चमक छ, न अनुहारमा कान्ति, न ओठमा बोली ।

चीज के रहेछ, मान्यवर ? सन्नाटा भङ्ग गर्दै सिलिङबाट जिज्ञासु माउसुलीले सोध्यो । अवाक्-अवाक् गृहमन्त्री बस्नेत र उदास-उदास आपूर्तिमन्त्री पुनले आँखा झिमिक्क नपारी ट्वाँ परेर एकअर्कालाई हेरे, हेरिरहे । द्वन्द्ववादी दृष्टिले नियाल्दा आखिर चीज के रहेछ त, मान्यवर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment