Comments Add Comment

नवलपरासीमा एसएलसीको उत्तरपुस्तिका नै पठाइएन

१९ वैशाख, नवलपरासी । अघिल्लो वर्ष लापरवाही गरेको भन्दै नवलपरासीमा परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले एसएलसीको उत्तरपुस्तिका परीक्षणका लागि पठाएको छैन ।

SLC-COPY-CHECKINGगत वर्ष जिल्लाका विद्यालय सञ्चालक र अभिभावकहरुले शिक्षक तथा कर्मचारीहरुलाई प्रभावमा पारेर उत्तरपुस्तिका परीक्षणमा लापरवाही गरेका थिए ।

परीक्षा नियन्त्रण कार्यालयको टोलीले छड्के चेकिङको क्रममा लापरवाही भएको भेटेको थियो । त्यसकै सजायँस्वरुप कार्यालयको बोर्ड बैठकले यसपालि नवलपरासीमा कापि परीक्षण गर्न नदिएको हो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बोर्डको निर्णयअनुसार यस बर्ष नवलपरासीमा उत्तर पुस्तिका नपठाएको बताए । ‘नवलपरासीमा गत बर्ष उत्तरपुस्तिका परीक्षण राम्रो हुन नसकेकाले’ चेतावनीस्वरुप उत्तरपुस्तिका परीक्षणका लागि नपठाएको उनले प्रष्ट्याए ।

जिल्लामा असन्तुष्टि

हाल ६५ वटा केन्द्रमा एसएलसीका उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । काठमाडौं उपत्यकामा एउटा र उपत्यका बाहिर ६४ केन्द्रमा कापि परीक्षण भइरहेको छ ।

कापि परीक्षण गरेवाफत विषयगत शिक्षकहरुले केही रकमसमेत पाउने गर्दछन् । कापि परीक्षण शिक्षकहरुले पढाएअनुसार विद्यार्थीहरुले लेखे कि लेखेनन् भनेर मूल्यांकन गर्ने एउटा माध्यमको रुपमा पनि लिने गरिएको छ ।

तर, यसपालि कापि परीक्षण गर्न नआएपछि जिल्ला शिक्षा कार्यालय नवलपरासीले असन्तुष्टि जनाएको छ । जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले उत्तर पुस्तिका परीक्षणका लागि नवलपरासी नआएको स्वीकार गर्दै त्यसको कारण भने खुलाएनन् । तर उनले घुमाउरो तरिकाले त्यसप्रति असन्तुष्टि भने जनाए ।

घिमिरेले भने, ‘शिक्षकहरुले बर्षदिन पढाइसकेपछि विद्यार्थीहरुले कस्तो लेख्छ, कसरी पढाउनु पर्दोरहेछ भनेर अध्ययन गर्न सजिलो हुने भएकाले उत्तरपुस्तिका परीक्षण गर्न पाउनुपर्छ ।’

उनले यसबारे परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरलाई अनुरोधसमेत गरिएको जानकारी दिए ।

नवलपरासीमा केही वर्ष यता जिल्ला शिक्षा कार्यालय र शिव उच्च मावि स्रोत केन्द्रमा गरी दुई स्थानमा उत्तरपुस्तिका परीक्षण हुने गरेको थियो । दुई बर्ष अघि शिव उच्च मावि स्रोत केन्द्रको उत्तरपुस्तिका परीक्षण केन्द्र पुरस्कृतसमेत भएको थियो ।

तर गत बर्ष कतिपय शिक्षकहरुले आर्थिक प्रलोभनमा पारी फेल भएकालाई पनि पास गराउने र कम अंक आएकालाई धेरै अंक दिने गरेको पाइएको थियो । यस कार्यमा जिल्ला शिक्षा कार्यालयका कर्मचारीको पनि मिलेमतो भएको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment