Comments Add Comment

बैंकबाट ऋण लिने हो ? पख्नोस्, व्याजदर घट्दैछ

२० वैशाख, काठाडौं । के तपाईँ तत्कालै बैंकबाट ऋण लिने तयारी गरिरहनु भएको छ ? यदि छ भने पख्नोस् ।

ऋण लिन कम्तीमा एक/डेढ महिना ढिला गर्नु नै तपाईका लागि फाइदाजनक हुन्छ । किनभने एक/डेढ महिना पछि बैंकको व्याजदर घट्छ । तपाईले अहिले ऋण लिँदा ९ प्रतिशत पर्ने व्याज असार पहिलो सातादेखि साढे ८ प्रतिशतसम्ममा पाउन सक्नुहुनेछ ।

home-loneतर, मुद्दति निक्षेप राख्ने हो भने तत्कालै राख्नोस् असार सम्म पर्खिनुभयो भने निक्षेपको व्याजदर घट्छ । यसअघि ४ प्रतिशतको हाराहारीमा दिँदै आएका अहिले बैंकहरुले मुद्दति निक्षेपमा ६ प्रतिशतसम्म व्याज दिन थालेका छन् । असारमा यो दर घटेर ५ प्रतिशतको हाराहारीमा पुग्ने बैंकरहरुले बताएका छन् ।

लगानी गर्न मिल्ने रकम (अधिक तरलता) संकुचित हुँदै गएपछि महिनादिन यतादेखि बैंकहरुले निक्षेप र कर्जा दुबैमा व्याजदर बढाएका हुन । तर, यो वृद्धि अल्पकालीन हो ।

‘अधिक तरलताको चाप सकिँदै गएपछि बैंकहरुले निक्षेपको व्याज बढाएको र निक्षेपसँगै कर्जाको व्याजदर पनि बढाएका हुन्,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अनलाइनखबरसँग भने- ‘तपाई ऋण लिने सोचमा हुनुहुन्छ भने असारसम्म पख्नोस व्याजदर घट्छ ।’

चैत पहिलो साता सम्म २ प्रतिशतको हाराहारीमा रहेको वाणिज्य बैंकहरुको अन्तर बैंक करोबारको व्याजदर अहिले बढेर ५ प्रतिशतसम्म पुगेको छ । त्यस्तै, सरकारको ट्रेजरी बिलको व्याजदर पनि बढेको छ ।

‘बैंकहरुले कर्जा र निक्षेपबीचको अनुपात मिलाउन व्याजदर बढाएकाले यो वृद्धि अल्पकालीनमात्रै भएको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए ।

‘अन्तर बैंक सापटी कारोबार र ट्रेजरी बिलको व्याजदर बढ्नु नै बैंकको व्याजदर बढेको प्रमाण हो,’ शाहले भने ।

यसकारण बढ्यो व्याज

बैंकहरु भएको अधिक तरलता सकिएपछि निक्षेप आकषिर्त गर्न बैंकहरुले व्याजदर बढाएको राष्ट्र बैंकको राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले बताए । लगानी गर्न मिल्ने रकम बैंकमा थुपि्रएपछि बैंकहरुले निक्षेपलाई निरुत्साहित गर्न व्याजदर घटाएका थिए ।

३/४ वर्षदेखि बैंकहरुले दिन व्याजदर घट्दो प्रवृत्तिमा रहेपनि भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण लगानीमैत्री वातावरण बन्न नसकेपछि बैंकहरुलाई अधिक तरलताको चरम चाप परेको थियो । जसकारण व्याजदर हदैसम्म घटेको थियो ।

तर, जब भारतीय नाकाबन्दी सकियो तब मुलुकमा आर्थिक क्रियाकलाप बढेको र त्यसयता कर्जाको माग पनि बढेको श्रेष्ठले सुनाए । उनका अनुसार पुस यतामात्रै बैंकहरुले करिब १ खर्ब रुपैयाँ ऋण बढाएका छन् ।

त्यसैगरी, अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले उठाएकोमध्ये ८० अर्ब रुपैयाँ अझै राष्ट्र बैंककै होल्डमा रहेको र सरकारले पनि करिब ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको उनले बताए । श्रेष्ठका अनुसार सबै गरेर सरकारको होल्डमा २ खर्ब रुपैयाँको हाराहारीमा छ ।

शून्य तरलता

श्रेष्ठका अनुसार बैंक स्वयंको कर्जा बढेको छ, मोटो रकम राष्ट्र बैंकमा निक्षेपकारुपमा थन्किएको छ र सरकारले पनि मोटो रकम आन्तरिक ऋण उठाएकाले बैंकहरुसँग भएको लगानी गर्न मिल्ने रकम रित्तिएको छ ।

‘कर्जाको माग बढिरहेको छ तर गएको हप्तादेखि बैंकहरुसँग शून्य तरलता छ,’ उनले भने- ‘त्यसैले निक्षेप आकर्षण गर्न व्याजदर बढाएका हुन् ।’

अहिले बैंकहरुको कर्जा-निक्षेप अनुपात -सीडी रेसियो) ७७/७८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंकहरुलाई यस्तो अनुपात ८० प्रतिशतभन्दा बढी नराख्न निर्देशन नै दिइसकेको छ ।

राष्ट्र बैंकको प्रयास

राष्ट्र बैंकको ठूलो प्रयास पछि व्याजदर बढ्न थालेको कार्यकारी निर्देशक श्रेष्ठले दाबी गरे । अधिक तरलताबाट समस्या सिर्जना नहोस भनेर राष्ट्र चालू आर्थिक वर्षमा मात्रै झन्डै ५ खर्ब अधिक तरलता प्रशोचन गरिसकेको छ ।

‘केही महिनाअघि राष्ट्र बैंकले बैंकहरुको १ खर्ब ५० अर्ब रुपैयाँ अधिक तरलता निक्षेपका रुपमा होल्ड गरेको थियो,’ उनले भने- ‘अहिले राष्ट्र बैंकले ८० अर्ब रुपैयाँ होल्ड गरेको छ, जसमध्ये ६० अर्ब रुपैयाँ वैशाख महिनामै फिर्ता हुँदैछ ।’

यसकारण फेरि घट्छ

राष्ट्र बैंकको होल्डमा रहेको ८० अर्ब रुपैयाँ बाहेक सरकारले बैंकहरुको करिब २ खर्ब रुपैयाँ होल्ड गरेको छ । आर्थिक वर्षको अन्त्यमा आएर सरकारी खर्च बढ्ने भएकाले जेठ दोस्रो सातादेखि भुक्तानी हुन थाल्ने र असारमा फेरि अधिक तरलताको समस्या सिर्जना हुने श्रेष्ठको भनाई छ ।

‘सरकारी खर्च बढ्दा बजारमा पैसा जान्छ, त्यो पैसा बैंकमा निक्षेप भएर आउँछ,’ उनले भने – ‘तर, बैंकहरुले असारमा लगानी नबढाउने भएकाले फेरि अधिक तरलताको अवस्था आउँछ ।’

अल्पकालीन व्याजदरहरु सुधार भइरहे पनि दीर्घकालीन व्याजदर बढ्ने आधार नदेखिएको कार्यकारी निर्देशक श्रेष्ठ र सीइओद्धय शाह र दाहालको भनाई छ ।

‘बैंकसँग पनि पैसा नहुने र सरकारसँग पनि पैसा नहुने भएको भए व्याजदर दीर्घकालीनरुपमा बढ्थ्यो,’ दाहालले भने- ‘तर, हाम्रो सरकारसँग पर्याप्त पैसा छ, उसले खर्च गर्ने वित्तिकै फेरि अधिक तरलताको समस्या आउँछ ।’

राष्ट्र बैंकले विभिन्न मौदि्रक उपकरण प्रयोग गरी अधिक तरलतालाई नियन्त्रणमा लिन सके व्याजदर स्थिर हुने श्रेष्ठले बताए । ‘औषत व्याजदर वाषिर्क मुल्यवृद्धिभन्दा बढी होस भन्ने हाम्रो सोचाइ हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment