२० वैशाख, काठमाडौं । जंगलमा लागेको डढेलो निमाउने प्रयास गर्दा एक महिनामा दश जनाभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।
झन्डै २५ जना स्थानीय वन उपभोक्ता आगोबाट पोलिएर अस्पतालको शैयामा छट्पटाइरहेका आजको गोरखापत्र दैनिकमा समाचार छ ।
स्थानीय व्यक्तिले रुखका स्याउला समातेर वन डढेलो नियन्त्रण गर्न खोजेको प्रयास असफल भएपछि वन डढेलोका घटना ज्यानमारा दुर्घटनाका रुपमा विकसित हुन थालेका छन् ।
गुल्मी,सल्यान,रामेछाप,दाङ,सुर्खेत,पाल्पा लगायतका जिल्लामा आगो निभाउने क्रममा खटिँदा ज्यान गुमाउनु परेको हो । गुल्मी,बर्दिया,डोटी,रसुवा,सिन्धुपाल्चोक लगायतका जिल्लामा आधा दर्जनभन्दा बढी बस्ती स्वाहा भएका छन् ।
वनबिभागका महानिर्देशक रेशम बहादुर डाँगीले आफूहरुसँग आगो नियन्त्रणका लागि केही विकल्प बाँकी नरहेको बताउदै यसका लागि जनचेतना जगाउनेबाहेक अरु केही गर्न नसक्ने समेत बताए । उपकरण र जनशक्ति नहुँदा डढेलो निभाउने क्रममा धनजनको क्षति व्यहोर्नु परेको समेत उनले स्विकारेका छन् ।
आगो नियन्त्रणको लागि सरकारी निकायसँग हेलिकप्टर पनि छैन भने लामो दुरीमा पानी फाल्न सक्ने दमकल र दक्ष जनशक्ति पनि छैनन् । सरकारी निकायले पनि स्याउला समातेर आगो निभाउन पर्ने अवस्थाका कारण केहि दिनयता देशभरि नै आगलागीका घटनाले मानवीय र अन्य भौतिक क्षति पुर्याएको छ ।
प्रतिक्रिया 4