शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

‘ब्लड प्रेसर लो’ भनेका प्रधानमन्त्री बैठकमा व्यस्त

केपीको साटो माधवले गरे भीमकाय बुद्ध मूर्तिको शिलान्यास

अनलाइनखबर

KP Oli

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सुनसरीको औराबनी गाविस जाने कार्यक्रम थियो । त्यहाँका जनताले प्रधानमन्त्रीको प्रतिक्षा गरिरहेका थिए ।

तर, त्यहाँ झुल्किए पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । प्रधानमन्त्री ओली बिरामी भएकाले कार्यक्रममा सहभागी हुन नसकेको सन्देश प्रवाह भयो । के विराम लागेछ प्रधानमन्त्रीलाई ? स्थानीयको जिज्ञासालाई एमाले कार्यकर्ताहरुले समाधान गर्दै भने, प्रधानमन्त्रीको ब्लड प्रेसर लो भयो, त्यसैले कार्यक्रममा आउन सक्नुभएन ।

के प्रधानमन्त्री ओलीको रक्तचापमा गडबडी भएकै हो त ? यसबारे जिज्ञासा राख्दा प्रधानमन्त्री कार्यालय स्रोतले ठाडै अस्वीकार गर्दै भन्यो, ‘केको ब्लड प्रेस लो हुनु ? आज धेरैवटा बैठकहरु परेकाले उहाँ सुनसरी जान नपाउनुभएको हो । बैठक बस्दा बस्दै प्लेन छुटिहाल्यो, आयोजकले हेलिकोप्टरको व्यवस्था गरेका थिएनन् ।’

प्रधानमन्त्री ओली सोमबार तीनवटा बैठकमा सहभागी भए । सोमबार नै मन्त्रिपरिषदको बैठक बस्यो । संवैधानिक परिषदको बैठक पनि सोमबार नै बस्यो । त्यसैगरी राष्ट्रिय योजना आयोगको पनि बैठक बस्यो ।

स्रोतका अनुसार पछिल्ला दिनहरुमा प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । उनी एकैदिन धेरैवटा बैठकमा सहभागी हुन सक्ने अवस्थामा छन् ।

प्रधानमन्त्री ओलीले सुनसरीमा गौतम बुद्धको ६० फिट अग्लो मूर्तिको शिलन्यास गर्ने कार्यक्रम थियो । सुनसरीलाई लुम्बिनीको झल्को दिने भन्दै एमाले नेताहरुकै अगुवाइमा बनाइन लागेको यो मूर्तिको शिलान्यासमा ओली सहभागी हुन नभ्याउने भएपछि माधव नेपाल सहभागी भएका हुन् ।

मूर्तिको शिलान्यास सकेर नेता नेपाल बिराटनगरमा आयोजित लोकतान्त्रिक फोरमको प्रथम महाधिवेशनमा आतिथ्य गर्न पुगेका छन् ।
प्रधानमन्त्री केपी ओली झापाको दमकमा बुद्धको विशाल मूर्ति बनाउन चाहन्छन् । तर, एमाले नेतृ भगवती चौधरीले आफ्नो गृहजिल्ला सुनसरीमा एशियाकै ठूलो बुद्ध मूर्ति बनाउने भन्दा प्रधानमन्त्रीलाई बोलाएकी थिइन् ।

बुद्धको मूर्ति शिलान्यास गर्ने क्रममा एमाले नेता माधव नेपालले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । तर, त्यस्तो सहमतिको सरकार केपी ओलीकै नेतृत्वमा बनाउनुपर्ने र यही सरकारमा कांग्रेस लगायतका दलहरु सहभागी हुनुपर्ने नेता नेपालले जोड दिएका छन् ।

यसरी बन्दैछ सुनसरीमा बु्द्धको भीमकाय मूर्ति

Buddha

सुनसरी जिल्लाको औराबनी गाबिस वडा नम्बर ९ स्थित ग्रामथानमा महत्वाकांक्षी गुरुयोजनाका साथ नयाँ लुम्बिनीको झल्को दिने गरी बुद्ध पर्यटकीय क्षेत्र निर्माणको काम अघि बढेको हो ।

वुद्ध पर्यटकीय स्थल निर्माण समितिकी अध्यक्ष भगवती चौधरीले राष्ट्रिय गौरवका रुपमा विकास गर्ने लक्ष्यका साथ मूलुककै नमूना पर्यटकीय क्षेत्र निर्माण गरिने बताएकी छन् ।

बुद्धबारे अफवाह फैलिरहेका बेला बुद्धभूमि नेपालको प्रचार-प्रसार गर्न तथा शान्तिको सन्देश दिने क्षेत्रका रुपमा बुद्ध पर्यटकीय क्षेत्रले काम गर्ने चौधरीले बताइन् । ‘यहाँ बुद्ध सर्किट बनेपछि बुद्ध सम्बन्धी प्रचार हुने गरेका गलत र भ्रामक कुराहरु निस्तेज बन्न सहयोग पुग्नेछ’ उनले भनिन् ‘बुद्धका वाणीहरुको अनुसरण गर्न र शान्तिको सन्देश फैलाउन यही बुद्ध भूमिबाट सबैलाई मार्गदर्शन हुनेछ ।’

नयाँ पर्यटकीय गन्तव्यका रुपमा मूलुकको पर्यटन प्रवर्द्धनमा समेत यस क्षेत्रले भूमिका खेल्ने उनको भनाइ छ । ‘राजनीतिक मुद्दा पूरा गर्दै मुलुक आर्थिक समृद्धितर्फ अघि बढेको योबेला यस्ता पर्यटकीय धरोहरहरु समृद्धिका आधार बन्न सक्छन्’ उनले बताइन् ।

एमाले केन्द्रीय सदस्य एवं पूर्वसभासद समेत रहेकी चौधरीको पहलमा सुरु भएको पर्यटकीय क्षेत्र निर्माणका लागि निजी श्रोतहरुबाट आर्थिक संकलन भइरहेको बताइएको छ । निर्माणका लागि सरकारले समेत सहयोगको आश्वासन दिएको चौधरीको भनाइ छ ।

दश वर्षे गुरुयोजना अनुसार अघि बढेको काम पहिलो दुई वर्षमा पर्यटकीय क्षेत्रका रुपमा बन्ने स्वरुप निर्माण गरिने बताइएको छ । यो स्थल सुनसरीको दुहबी बजारबाट ६ किलोमिटर पश्चिम-दक्षिण क्षेत्रमा अवस्थित छ । यो परियोजना कुल ३५ करोड लागत अनुमानका साथ काम प्रारम्भ गरिएको हो ।

ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक पर्यटकीय धरोहरका रुपमा यस क्षेत्रलाई विकास गर्ने लक्ष्य राखिएको छ ।

हिन्दु देवताका मूर्ति पनि राखिने, थारुको संस्कृति झल्काइने

Buddha-Sunsari-Scktchस्थानीय गढीवनको नाममा रहेको करिब ११ विघाहा क्षेत्रफलमा बुद्ध सम्बन्धी सम्पूर्ण विषयहरुलाई समेटेर पर्यटकीय स्थल बनाउन लागिएको हो ।

यस क्षेत्रमा मूख्य मूर्तिका रुपमा ६० फिट अग्लो वुद्धको प्रतिमा बन्नेछ । ध्यान गर्नका लागि प्रार्थना हलसमेत बन्नेछ । यस्तै गार्डेन पनि बन्नेछ । नजिकै रहेको ट्याङ्ग्रा खोलामा र्याफ्टिङ गर्न सकिने दाबी गरिएको छ । यहाँ गौतम बुद्धका सम्पूर्ण महिमाहरुको संघालोका रुपमा मनोरम क्षेत्रहरु बन्ने निर्माण पक्षले जनाएको छ ।

फरक-फरक धर्मको समान अस्तित्वको समेत झल्को पाइने गरी बुद्ध क्षेत्रमा हिन्दुहरुका आस्थाका देवता शिव-पार्वतीका मूर्तिहरु समेत बनाइने भएको छ । धार्मिक सहिष्णुताका लागि र सबै धर्मको सह अस्तित्वका लागि यस्तो गर्न लागिएको चौधरीले बताइन् ।

यस्तै विभिन्न जातजातिका सांकृतिक विविधताहरु समेत समेटिने बताइएको छ । थारु संस्कृति लगायत स्थानीय समुदायको संस्कृतिसमेत यहाँ अध्ययन गर्न पाइने भएको छ । यहाँ बुद्धसम्बन्धी तथा स्थानीय थारु समुदायका विषयमा संग्रहित संग्रहालयसमेत बन्ने भएको छ ।

यस्तै भ्युटावर, पार्क, पजल बँगैचा, पानीको फोहरा लगायतका क्षेत्रहरु बन्दैछन् । प्राचीन थारु राजा रुपनारायणको वासस्थलको रुपमा रहेको धार्मिक किंबदन्ती रहेको यो स्थानमा ग्रामथानको समेत संरक्षण गरेर बुद्ध पर्यटकीय क्षेत्र निर्माणको काम अघि बढाइने चौधरीले जानकारी दिइन् ।

२०७३ वैशाख २० गते १६:३८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • मुन्धुमसाबा लेख्नुहुन्छ    |   २०७३ वैशाख २० गते १७:३६

    देशमा नक्कली धर्मको कुरा गरेर देश विकास असम्भव / नेपाल र सारासंसार को धर्म नै मुन्धुम हो
    मुन्धुम बाहेक अरु धर्म सबै नक्कली बनाउती मात्र हुन् / मुन्धुम भनेको आदिमा उज्यालो र अँध्यारो , रात र दिन आकास र पृथ्वी शोर्ग र नोर्ग छोरा र छोरी भाले र पोथी सारा सृष्टीकर्ता नै
    मुन्धुम हो त्यो बुद्द ,बिष्णु ,राम ब्रामंड यी सबैको सृष्टिकर्ता पनि मुन्धुम नै हो ?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this