
२२ वैशाख, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले गरेको अनुगमनमा निजी विद्यालयहरुले चर्को शिक्षण शुल्क असुलेको भेटिएको छ । बुधबार ललितपुरमा गरिएको अनुगमनमा निजी विद्यालयहरुले सरकारी मापदण्ड मिच्दै चर्को शुल्क असुलेको भेटिएको हो ।
चापागाउँस्थित युलेन्स स्कुलले कक्षा १ मा पढ्ने विद्यार्थीका अभिभावकरुबाट मासिक शुल्क २८ हजार रुपैयाँसम्म असुलेको पाइएको छ । अनुगमनमा सहभागी नेपाल विद्यार्थी संघका नेता युपी लामिछानेले भने, ‘कक्षा १ मै यति धेरै पैसा असुलिन्छ भने माथिल्ला कक्षामा झन् कति होला ? हामी त छक्क पर्यौं ।’
मनोमानी शुल्क नउठाउन विद्यालय सन्चालकहरुको ध्यानाकर्षण गराउँदा पनि अटेर गरेको भन्दै बुधबारदेखि नेबिसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत संगठनले अनुमगन सुरु गरेका छन् । अनुगमन टोलीमा अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल, नेबिसंघका लामिछाने, विद्यार्थी नेताहरु, जेपी यादव, अनिल किशोर घिमिरेलगायत छन् । उनीहरुसँगै ललितपुरका विद्यालय निरीक्षक सुरेन्द्र भट्ट पनि छन् ।
सरकार बचाउमा
विद्यार्थी संगठनले अनुगमन थालेपछि सरकार भने बढी शुल्क असुल्ने विद्यालयको बचाउमा देखिएको छ । शिक्षा मन्त्रालयले विद्यार्थी नेताहरुलाई अनुगमन छाडेर वार्तामा आउन आग्रह गरेको छ ।

विद्यार्थी नेताहरु अनुगमनमै रहेकाबेला शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले टेलिफोन गरी अनुगमन छाड्न र वार्तामा आउन भनेका थिए । तर, विद्यार्थी नेताहरुले अनुगमन नछाड्ने अडान लिएका छन् ।
नेबिसंघ प्रवक्ता लामिछानेले भने, ‘वार्तामा जानका लागि हामी अनुगमन रोक्दैनौं । वार्ता र अनुगमन सँगसँगै चल्छ ।’
जिल्ला शिक्षा कार्यालयको बेवास्ता
निजी विद्यालयहरुले मनोमानी शुल्क लिए पनि जिल्ला शिक्षा कार्यालयले भने आँखा चिम्लिएको नेताहरुले बताएका छन् । ‘ललितपुरको जिल्ला शिक्षा कार्यालयले शुल्क सम्बन्धि नयाँ मापदण्डबारे परिपत्र नै गरेको रहेन छ,’ लामिछानेले भने, ‘राजधानीकै हालत यस्तो छ भने अरु जिल्लामा झन् कस्तो स्थिति होला ।’
उनले निजी विद्यालय र जिल्ला शिक्षा कार्यालयको मनोमानीबारे थप तथ्यहरु बाहिर ल्याएर भण्डाफोर गर्ने चेतावनी दिए ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4