२२ बैशाख, भैरहवा । समाजिक संजाल फेसबुकबाट चिनजान भई विवाह गरेका एक व्यक्तिको उनकै श्रीमतीले हत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार साथीको रुपमा एक वर्षदेखि फेसबुकमा कुराकानी गर्दा गर्दै रुपन्देही पडसरी ८ का २१ वर्षीय विजय थापा र रुद्रपुर गाविस गरगरे गाउँकी अस्मिता थापाबिच प्रेम सम्बन्ध थियो । उक्त प्रेम सम्बन्ध गत पुस महिनामा विवाहमा परिणत भयो । तर विवाह पश्चात उनीहरु बिच झगडा सुरु भयो ।
प्रायः श्रीमान श्रीमतीबीच भइरहने खटपट गत सोमबारपनि भएको थियो । थापाले मादर्थपदार्थ सेवन गरी घरको छतमा सुतिरहेको श्रीमतीकहाँ पुग्दा उनीहरुबीच वादविवाद सुरु भयो । फेसबुकबाट चिनजान भई विवाह गरेका विजय थापाको लागि त्यही सोमबारको रात अन्तिम बन्न पुग्यो ।
वादविवादसँगै दुई जना घरको छतमा अलग अलग सुते । घरका अन्य परिवारका सदस्य घर भित्र कोठामा सुतेका थिए । श्रीमानले अन्यदिन झै सामान्य झगडा मानेपनि श्रीमती अस्मिताले भने त्यसलाई इगोको रुपमा लिइन् र श्रीमानको हत्या गर्ने योजना बनाइन् ।
श्रीमान थापा सुतेपछि श्रीमती अस्मिताले करिब साढे २ बजे टाउकोमा जाँतो प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले बताए ।
श्रीमतीले श्रीमान थापाकोे हत्या गरेपछि घटना लुकाउनका लागि थापाको शरीरलाई छतबाट तल फाली समान्य मृत्यु भएको समेत देखाउने प्रयास गरेको प्रहरी अनुसन्धानमा खुलेको प्रवक्ता कार्कीले बताए । अभियुक्त अस्मिता थापालाई नियन्त्रयणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4