Comments Add Comment

सीटीइभीटीका हाकिम भन्छन्, अमिन पढ्नोस विदेश जानुपर्दैन

नेपालमै छ रोजगारीको अवसर

amin-land-surveyer
२३ वैशाख, काठमाडौं । सीपमूलक शिक्षा नलिए कति दुःख पाइन्छ भन्ने प्रमाण गतसाता कोरिया जानका लागि लागेको साढे ६० हजारौं युवाको लाइनले दिएको छ । तर, जनकपुरका सरोजकुमार यादवलाई विदेश जानका लागि लामो लाइनमा उभिनुपर्ने अवस्था कहिल्यै आएन र अब आउने पनि छैन ।

कोरिया जानुको साटो २४ वर्षकै उमेरमा नै उनी उदयपुरको कटारी नगरपालिका सरकारी सुविधा लिएर ‘अमिन’ पदमा काम गरिरहेका छन् ।

कोरियामा ३ हजार अदक्ष कामदार कोटामा विदेश जान कसिएका अधिकांश युवामध्ये उच्च शिक्षा लिइसकेका थिए भने ३० काटिसकेका सयौं डिग्रीहोल्डरले पनि रातभर आवेदन केन्द्रमै सुतेर पनि कोरियन भाषा परीक्षाका लागि फारम भरे ।

रोजगारी खोज्दै सयौं डिग्री होल्डर विदेशिनेको लाइनमा उभिरहँदा सीप यादव भने प्राविधिक विषयमा एसएलसी दिएर नै देशमै सजिलै रोजगारी पाए । आफुले बेलैमा सीपमूलक शिक्षा लिने निर्णय गरेकाले नै देशभित्रै रोजगारी पाएको उनी पनि बताउँछन् ।
‘मैले जनकपुरबाट एक वर्षभन्दा बढी लगाएर अमिन विषयमा पढेँ । यसका लागि मैले ४५ हजार खर्च गरेँ,’ उनी भन्छन्-‘सीप सिकेपछि विदेश जानैपर्छ भन्ने छैन, यहाँ पनि अवसर छन् ।’

अमिन बन्नका लागि उनले एसएलसीपछि उनले फेरि टी-एसएलसीकाका लागि १५ महिना मेहनत गरे । टी-एसएलसी पढाइ सकेर उनी धेरै समय भौतारिनै परेन । उनले मौकामा जागिर खुल्दा आवेदन दिए र सरकारी सुविधाको जागिर सुनिश्चित गरे ।

को हो अमिन पद ?

अमिनको काम भनेको जग्गा नापजाँच गर्ने हो । नक्साअनुसार जग्गालाई चिन्ने र छुट्याउने काम अमिन हो । अमिनले निजी जग्गाहरु नाप्ने, त्यसलाई छुट्याउनेसहित चार किल्ला प्रमाणित गर्ने काम गर्छन् ।

यसैगरी बाटाकोे सिमांकन गर्ने, जग्गाका विवाद प्राविधिक रुपमा साम्य गर्ने, सार्वजनिकसहित विभिन्न किसिममा जग्गाहरु पहिचान गर्ने र छुट्याउने लगायतका काम अमिनले गर्छन् । फिल्डमा गएर काम गर्नुपर्ने भएकाले अमिनको काम जति चूनौतिपूर्ण जस्तो लाग्छ उत्तिकै रोमाञ्चक पनि छ ।

आफ्नो कामलाई विवादरहित र पारदर्शी रुपमा गर्ने हो कुनै समस्या नआउने ६ वर्षदेखि दशरथचन्द नगरपालिकामा काम गरिरहेका अमिन महेश भट्ट बताउँछन् । उनी कञ्चनपुरमा अमिन बढेर २०६६ सालदेखि स्थानीय निकायमा सेवामा प्रवेश गरेका हुन् ।

‘आफुले यसै विषयमा अध्ययन गरेर भविष्य खोजेकाले कामबाट सन्तुष्ट पनि छु’ उनी भन्छन्-‘हातमा सीप हुनेलाई सन्तुष्टीको जीवन जीउन खासै गाह्रो पर्ने रहेनछ ।’

रोजगारीको अवसर

अमिन पढ्नेहरुलाई सरकारी सेवा प्रवेश सबैभन्दा राम्रो र सरल अवसर हो । सरकारले सबै नगरपालिका एक-एक जना अमिनको अनिवार्य दरबन्दी सिर्जना गरेको छ ।

amin-land-surveyer2
यसैगरी नापी विभाग अन्तरगतका नापी कार्यालयहरुमा पनि सयौंका संख्यमा अमिनहरु छन् । सरकारले समयम-समयमा अमिन सेवाका लागि आवदेन माग्ने गरेको छ । यसतै अन्य विभिन्न सरकारी अड्डा र आयोजनाहरुमा पनि अमिन नियुक्त गर्ने प्रचलन छ ।

यो पदमा प्राविधिकरुपमा अमिन विषय लिएर पढेकाले मात्रै आवेदन दिन सक्छन् । तर, अमिन पढ्न युवाको आकर्षण विस्तारै बढ्दै पनि छ । मागअनुसार अमिन पढ्ने युवा र सरकारी कोटा नहुँदा लोकसेवा अन्तरगतको प्रतिस्पर्धा गर्नेलाई सहज पनि छ ।

अमिन प्राविधिक पद भएकाले यसमा आवेदन दिएर लड्नेहरुको संख्या न्युन हुने गरेको छ । त्यसैले यो विषयको ‘स्कोप’ बढेको छ । घर जग्गा र घाडेरीको खरिद विक्रीले गति लिइरहँदा यसको महत्व पनि बढ्दैछ ।

स्वरोजगारी

कसैलाई लाग्न सक्छ कि अमिन पढेर सरकारी सेवका प्रवेश गर्न सकिएन भने के गर्ने ? त्यस्तो भयो भने तपाईंसँग अन्य वकल्पहरु पनि हुनेछन् । अमिन पढेपछि रोजगारीको मात्रै हैन, स्वरोजगारीको पनि अवसर हुन्छ ।

तपाईंले आफ्नै लगानीमा जग्गा नापी केन्द्रहरु खोल्न सक्नुहुन्छ । तराईंमा यस्ता सयौं नापी केन्द्रहरु चलिरहेका छन् । यो् सञ्चालनका लागि लागि सरकारी निकायसँग अनुमति भने माग्नुपर्छ । सरकारबाट लाइसेन्स लिएर आफ्नै जनसम्पर्कमा अमिनको काम गर्न सकिन्छ ।

शह तथा शहरउन्मुख गाउँ क्षेत्रमा आवादी बढ्दै गर्दा जग्गाको खण्डीकरण बढ्दैछ । त्यसले जग्गाको स्वामित्वबारे जग्गाधनिबीचको विवाद पनि बढाउँदै लगेको छ ।

यसैका कारण अमिनले खोलेका निजी तवरका केन्द्रमा पनि सेवाग्राहीको चाप हुन्छ । सबैले सरकारी अमिन लगाउँदैनन् । तपाईंले निश्चित सेवा शुल्क लिएर अमिन सेवा दिन सक्नुहुन्छ ।

कहाँ र कसरी पढ्ने अमिन ?

प्राविधिक शिक्षा ता व्यवसायिक तालिम परिषद् (सिटीइभीटी)ले अमिन कोर्षमा १ वर्षे टी-एसएलसीको व्यवस्था गरेको छ । काठमाडौंसहित जनकपुर लगायतका मुख्य-मुख्य शहरहरुमा रहेका प्राविधिक शिक्षालयमा यसको पढाइ हुने गरेको छ ।

यसमा डिप्लोमा पनि पढ्न पाइन्छ ।  डिप्लोमा तहको जिओमेटिक्स इञ्जिनियरिङको पढाइ भने ३ वर्ष अवधिको हुन्छ । अमिन पदमा सरकारी जागिर खान टी-एसएलसीमा अमिन पढ्दा पर्याप्त हुन्छ । केही निजी इन्ष्टीच्युटले पनि अमिन विषयमा पढाइ गरिरहेका छन् ।

टी-एसएलसीमा अमिन पढ्न पढाइका लागि ठूलो खर्च गर्नुपर्दैन । सामान्य विषयभन्दा टेक्निकल विषय पढ्दा केही बढी खर्च हुनु सामान्य नै हो ।

प्रतिवद्ध भएर अमिन कोर्स पढे रोजगारी तथा स्वरोजगारीका लागि कतै भौतारिनु नपर्ने सीटीइभीटीका सूचना तथा अनुसन्धान महाशाखाका प्राविधिक अधिकृत संगम गौतम बताउँछन् ।

‘यो पढेपछि सरकारी जागिर खान पनि गाह्रो छैन’ उनी भन्छन्-‘आफैं केही गर्छु भन्नेलाई पनि यो सीप भएपछि गरी खान अरुको भर पर्नै पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment