Comments Add Comment

यो हो लुम्बिनीको पहिलो पाँचतारे होटेल

एक अर्ब ३५ करोड लगानीमा पवन प्यालेस

Hotel-Pawan-Palace,-Five-Star,-Lumbini
पवन प्यालेसको स्केच

२६ वैशाख, लुम्बिनी । भैरहवामा पवनको पेडाबाट प्रख्याती कमाएका पवनकुमार हलुवाईले लुम्बिनीमा पाँचतारे होटल बनाइरहेका छन् । तिब्र रुपमा निर्माण भइरहेको पवन प्यालेस लुम्बिनी क्षेत्रकै पहिलो पाँचतारे होटल हुनेछ ।

होटल पवन प्यालेस भैरहवाबाट लुम्बिनी जाने सडकमा पर्सा चोकबाट एक किलोमिटर पूर्वतिर बन्दैछ । होटलमा एक अर्ब ३५ करोड लगानी हुने हलुवाईले अनलाइनखबरसँग बताए । ‘सुरुमा हामीले एक अर्ब २५ करोडको योजना बनाएका थियौं, भूकम्प र नाकाबन्दीका कारण १० प्रतिशत लागत थपिने अनुमान छ’ उनले भने ।

ढाई विगाहा क्षेत्रफलमा फैलिने होटलमा सुविधा सम्पन्न एक सय ४७ रुमहरु रहनेछन् । जसमध्ये स्टान्डर्ड किङ रुम २३, स्टान्डर्ड ट्वीन रुम ७६, डिलक्स किङ रुम १०, डिलक्स ट्वीन रुम २०, स्वीट रुम ९ र प्रेसिडेन्सियल स्वीट रुम एउटा हुनेछन् ।Hotel-Pawan-Palace,-Five-Star,-Lumbini-1

होटलको भवन सात तलाको हुने हलुवाईले जानकारी दिए । अहिले तेस्रो तलाको ढलान गर्नका लागि अन्तिम तयारी हुँदैछ । होटलका कोठाहरु सन् २०१७ को अक्टोबरसम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको छ । स्पा, ब्यांक्वेट हल, स्वीमिङ, हेल्थ क्लव लगायतका सुविधाहरु २०१८ आखिरीसम्म थपिसक्ने उनको भनाई छ ।

होटलको बाहिरी आवरण नेपाली कला संस्कृती झल्किने खालको हुनेछ । भित्री साजसज्जा र सेवा सुविधाहरु आधुनीक खालका हुनेछन् । बुद्धिष्ट पर्यटकलाई लक्षित गरेको हुँदा होटलमा क्यासिनो राख्ने सोँचाई नरहेको हलुवाईले बताए । क्यासिनो बाहेक एउटा पाँचतारे होटलमा हुनुपर्ने सबै सेवा सविधाहरु पवन प्यालेसमा हुनेछन् ।

होटलमा पाँच यस र दुई सय जना अटाउने दुईवटा सुविधा सम्पन्न ब्यांक्वेट हल बनाइने छ । लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका ठूला सभासम्मलेनका लागि पवन प्यालेस उपयुक्त हुने हलुवाईको विश्वास छ । ‘अहिले लुम्बिनीमा राम्रो हल नहुँदा बुद्ध सम्मेलन काठमाडौंमा गर्नुपरेको छ’ उनले भने- ‘यदी लुम्बिनीमा ठूला सभाहल भैदिएको भए यहीँ सम्मेलन गर्न पहल गथ्र्यौं ।’

Hotel-Pawan-Place-Lumbini,5-Star-hotel

होटलमा ३२ जना अटाउने चाइनिज रेष्टुरेन्ट हुने छ । २६ जना क्षमताको बार, ४८ जना अटाउने कफी लाउञ्ज, २० जना क्षमताको सिगार लाउञ्ज, ११० जना क्षमताको डाइनिङ रेष्टुरेन्ट, ११६ जना क्षमताको रुफ टफ नेपाली रेष्टुरेन्ट, २२ जना क्षमताको प्राइभेट डाइनिङ हुने हलुवाईले जानकारी दिए ।

सुरक्षा सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै हलुवाईले होटलको सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्ने बताए । होटलको भवन भूकम्प प्रतिरोधी हुनेछ । एउटा राम्रो पाँचतारे होटलमा अपनाइने सुबै सुरक्षा ‘नम्स’ अपनाउने उनको भनाई छ । होटलमा स्क्यानिङ राखेर मान्छे र ब्यागेज चेकिङको व्यवस्था गर्ने उनको योजना छ ।

विशिष्ट पाहुनालाई उच्च सुरक्षा व्यवस्था चाहिने हुँदा यसतर्फ विशेष ध्यानदिने हलुवाई बताउँछन् । होटलमा तालिमप्राप्त सुरक्षा गार्ड राखिने छ । जसले गर्दा भोली लुम्बिनीमै अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न सकियोस । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सभा सम्मेलनहरु बढ्ने विश्वास गरिएको छ ।

विश्वकै चर्चित पर्यटकीय गन्तव्य लुम्बिनीमा अहिलेसम्म रात विताउने गुणस्तरीय पर्यटक भित्राउन सकिएको छैन । आफुहरुको लक्ष्य धेरै रात लुम्बिनीमा विताउने गुणस्तरीय पर्यटक भित्राउनु रहेको हलुवाई बताउँछन् । अहिले लुम्बिनीमा भारतीय बाटो हुँर्दै पर्यटक आउने र लुम्बिनी घुमेपछि रात विताउन भारतमै फर्किने गरेका छन् ।

हलुवाईका अनुसार लुम्बिनी भ्रमणमा आउने ९० प्रतिशत पर्यटकलाई हृयान्डिल गर्ने ट्राभल एजेन्सी भारतीय रहेका छन् । जसले गर्दा बुद्ध नेपालमा जन्मिए पनि लाभ भारतले लिइरहेको छ । नेपाली ट्राभल एजेन्सीलाई फेसिलेसन गरेर सिधै नेपालमा बुद्धिष्ट पर्यटक भित्राउन पहल गर्नुपर्ने हलुवाईको भनाई छ ।

अहिले लुम्बिनी आउने पर्यटकमध्ये ६० प्रतिशत सोही दिन फर्किन्छन् । बाँकी ४० प्रतिशतको बसाई एक दिनको मात्र हुन्छ । अब लुम्बिनी क्षेत्रमै पर्यटकले ४/५ रातसम्म विताउने गरी प्याकेज बनाउनुपर्ने आवश्यकता रहेको हलुवाईले सुनाए ।

नेपालमा खासगरी चीन, थाइल्यान्ड, सिंगापुर, जापान, कोरिया, इन्डोनेसिया, भेइतनाम, म्यानमार, श्रीलंका लगायतका मुलुकहरुबाट बुद्धिष्ट पर्यटक आउने गरेका छन् ।

‘होटल पवन प्यालेसका शत् प्रतिशत पर्यटक नै बुद्धिष्ट हुनेछन्, सबै पर्यटक खर्चालु र विशिष्ट हुनेछन्’ हलुवाईले भने- ‘यसका लागि ट्राभल एजेन्सी परिचालन गरेर आफै मार्केटिङमा उत्रिने छौं ।’ पवन प्यालेसले रुमहरु १० हजार रुपैयाँभन्दा माथि बिक्री गर्ने लक्ष्य राखेको छ ।

होटलमा बुद्धिष्ट पर्यटकलाई पर्यटकलाई लक्षित गरिएको हुँदा मेडिटेसनका लागि हलसमेत बनाइने हलुवाईले बताए । जहाँ पर्यटक मेडिटेसन गरेर आफुलाई शान्त बनाउन सकुन् ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने वित्तिकै बुद्धिष्ट पर्यटक सिधै लुम्बिनीमा आउने विश्वास गरिएको छ । नेपालमा हवाई भाडा चर्को भएको हुँदा पर्यटक भारत हुँदै लुम्बिनी आइरहेका छन् । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि हवाई भाडा घट्ने अपेक्षा गरिएको छ ।

तस्वीरः कबिन अधिकारी/अनलाइनखबर

यो पनि पढ्नुस्

भैरहवाको कोसेली: पवनको पेडा

बुटवलमा खुल्दैछन् स्तरीय होटल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment