Comments Add Comment

प्रचण्ड र बादलबीच १२ बुँदे समझदारी, संसदलाई उपयोग गर्ने रणनीति

prachanda & badal

२९ वैशाख, काठमाडौं । पार्टी एकताको प्रयासमा रहेका एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीको बादल समूहबीच राजनीतिक कार्यदिशाबारे समझदारी भएको छ ।

एमाओवादी स्थायी समितिको बैठकमा बैचारिक राजनीतिक विषयमा भएको १२ बुँदे भएको सहमतिबारे जानकारी गराइएको छ । जसमा एमाओवादी नेताहरु केही सुझाव दिएका छन् र पारित भएको छ ।

स्रोतका अनुसार पार्टी एकतापछि मुख्य राजनीतिक कार्यदिशा ‘पूँजीवादी क्रान्तिलाई पूर्णता दिँदै समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने’ तय गरिएको छ । नयाँ संविधानमा नै मुलुक समाजवाद उन्मुख भनिएको छ र एमाओवादीले पूँजीवादी क्रान्तिको कार्यभार पूरा भइसकेको निष्कर्ष निकालेको थियो ।

तर, बादल माओवादीसँग पार्टी एकता गर्ने भएपछि उनीहरुको मागअनुसार ‘पूँजीवादी क्रान्तिलाई पूर्णता दिँदै’ भन्ने थपिएको छ । बाँकी महाधिवेशनमा गएर संश्लेषण गर्दै जाने भनिएको छ ।

एमाओवादीको एकतामा आउने दलहरुले नयाँ संविधान स्वीकार गरेका छन् । संविधानमा भएको संघीयता, गणतन्त्र, समानुपातिक समावेशी र धर्मनिरपेक्षता लगायतका विषय माओवादी जनयुद्ध र जनआन्दोलनका उपलब्धि भन्दै त्यसको रक्षा र संस्थागत गर्दै अघि बढ्ने १२ बुँदेमा उल्लेख छ ।

तर, संसदीय व्यवस्था प्रतिक्रियावादीको भएको भन्दै यसविरुद्ध सरकार, सदन र सडकमा संघर्ष गर्दै जाने समझदारी भएको छ । एमाओवादी उच्च स्रोतले भन्यो, ‘यो संसदीय व्यवस्था मुलतः प्रतिक्रियावादीहरुको हो । त्यसको उपयोग गर्दै अघि बढ्ने कार्यदिशा बनाइएको छ ।’

सुरुमा यो नौ बुँदे थियो । बादल माओवादीसँग छलफल गरेर १२ बुँदे बनाइएको छ । अब एकता प्रक्रियामा रहेका माओवादीहरुको संयुक्त बैठक बसेर अन्तिम रुप दिने तयारीमा रहेको स्रोत बताएको छ ।

जेठ १ गते केन्द्रीय समिति बैठक आह्वान

एकीकृत नेकपा माओवादीले माओवादी पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको एमाओवादी स्थायी समिति बैठकले मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, मातृका यादव र मणि थापा नेतृत्वको माओवादीहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको हो ।

स्थायी समितिको बैठकको निर्णय अनुमोदन गर्न आउँदो जेठ १ गते केन्द्रीय समिति बैठक पनि बोलाइएको छ ।

मोहन वैद्य एकतामा आउने-नआउने टुंगो लागिसकेको छैन । तर, उनको पार्टीबाट रामबहादुर थापा ‘बादल’को नेतृत्वमा बहुमत केन्द्रीय सदस्यहरुले एमाओवादीसँग पार्टी एकताको निर्णय गर्दैछन् । मंगलबार नै एकताको निर्णय गर्ने तयारीमा रहेका रामबहादुर थापा बादल समूहले वैद्यसँग अन्तिमपटक छलफल गर्ने भन्दै आउँदो जेठ २ गतेको बैठक कुर्ने भएका छन् ।

मणि र मात्रिकासँग छलफल

एमाओवादीले मातृका यादव नेतृत्वको माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । यसबारे आज शीर्ष तहमा वार्ता हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment