+
+

फुर्सदिलो सरकारः मामुली कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरुको लस्कर

चिरञ्जीवी पौडेल चिरञ्जीवी पौडेल
२०७३ वैशाख २९ गते २३:१०

Kp-oli-and-Kamal-Thapa

२९ वैशाख, काठमाडौं । सरकारका मन्त्रीहरु कत्ति फुर्सदिला छन् भन्ने एक झलक बुधबार याक एन्ड यति होटलमा देखियो । परराष्ट्र मन्त्रालयले विदेशी राजदूतहरुलाई नियमित ब्रिफिङका लागि आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै चार उपप्रधानमन्त्री र कम्तिमा तीन मन्त्री उपस्थित भए ।

देशको समसामयिक अवस्था र सरकारका गतिविधिबारे जानकारी गराउन विदेशी राजदूतहरुलाई डाकिएको कार्यक्रममा सरकारका मन्त्रीहरु ह्वार्रह्वार्ति जानुको कुनै तुक भने देखिएन । परराष्ट्रमन्त्री कमल थापाबाहेक सबै मन्त्रीहरुको भूमिका शून्य थियो ।

Minister

कार्यक्रममा थापासहित चार उपप्रधानमन्त्रीहरु चित्रबहादुर केसी, विजयकुमार गच्छदार, टोपबहादुर रायमाझी र भीम रावल उपस्थित भए । यसैगरी कानूनमन्त्री अग्नी खरेल, शान्तिमन्त्री एकनाथ ढकाल, भूमिसुधारमन्त्री रामकुमार सुब्बाको उपस्थिति थियो । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री थापा मञ्चमा थिए भने अरु सबै मन्त्री दर्शकदीर्घामा ।

‘तपाईं यो कार्यक्रममा आउनुको प्रयोजन के हो ?’ अनलाइखबरले उपप्रधान एवं सहकारीमन्त्री चित्रबहादुर केसीलाई प्रश्न गर्‍यो । उनले जवाफ दिए, ‘प्रधानमन्त्रीले बोल्ने कार्यक्रममा उहाँलाई साथ दिन आएको हुँ ।’

परराष्ट्रमन्त्री कमल थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठ सरकारले आयोजना गरेको कार्यक्रम भएकाले अत्यधिक संख्यामा मन्त्रीहरुको उपस्थिति स्वभाविक भएको बताउँछन् । उनले भने, ‘भ्याउनेहरु आउनुभयो, अरु मन्त्रीहरु बेफुर्सदीले गर्दा आउन सक्नुभएन ।’

एकतर्फी कार्यक्रम

विभिन्न मुलुकका राजदूत र कटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको कार्यक्रम भने एकतर्फी थियो ।

शुरुमा परराष्ट्र सचिवको स्वागत भाषण, त्यसपछि परराष्ट्रमन्त्रीको बि्रफिङ र अन्त्यमा प्रधानमन्त्रीको सम्वोधन । कार्यक्रम सकियो । बोलाइएका दूतहरुले न आफ्ना धारणा राख्न पाए न कुनै जिज्ञासा ।

उद्देश्य अस्पष्ट

बुधबार आयोजना गरिएको कार्यक्रमको उद्देश्य प्रष्ट थिएन । सरकारले के सन्देश दिन नेपालस्थित कूटनीतिक नियोग र दातृ निकायका प्रमुख तथा प्रतिनिधि भेला गराएको हो भन्ने अन्त्यसम्म पनि खुल्न सकेन ।

परराष्ट्रमन्त्रीले समाचार बाचन गरेझै लामो लिखित सम्वोधन बाचन गरे, जसमा अधिकांश नेपालका आन्तरिक विषयहरु थिए, जून (पुनर्निर्माणबाहेक) विदेशीहरुलाई सुनाइराख्न आवश्यक थिएन ।

पछिल्लो घटनाक्रमले सरकार अस्थिर भएको सन्देश अन्तर्राष्ट्रिय स्तरमा गएकाले त्यसलाई तोड्न गरिएको भनौं भने परराष्ट्रमन्त्रीको बि्रफिङले यो विषयमा प्रवेश नै गरेन । भलै प्रधानमन्त्री ओलीले आफ्नो मौखिक सम्वोधनमा सरकार संकटमा नरहेको भन्दै आउँदो संसदीय निर्वाचनसम्म यो सरकारले नै निरन्तरता पाउने आशय व्यक्त गरे ।

परराष्ट्रमन्त्रीको लिखित सम्वोधनमा प्रायजसो पुरानै कुरा छन् । नेपालको संविधान समावेशी रहेको, भूकम्पपछिको पुनर्निर्माणमा सरकार जोडतोडले लागेको, मानवअधिकारप्रति सरकार प्रतिवद्ध रहेको जस्ता सन्देश अन्तर्राष्ट्रिय समुदायका लागि नयाँ होइनन् ।

यसपटक स्थानीय चुनावको विषय थप भएको छ । सरकारले चुनावको तयारी भइरहेको बताएको छ ।

परराष्ट्र मन्त्रालयले विदेशी कूटनीतिज्ञहरुलाई बोलाएर ब्रिफिङ गर्नु सामान्य र नियमित प्रचलन हो । कुनै खास परिस्थितिबारे अन्तर्राष्ट्रिय समुदायलाई सन्देश दिन वा सहयोग आह्वान गर्न यस्तो भेला बोलाउनु सामान्य हुन्छ ।

अथवा, कुनै विषयमा अन्तर्राष्ट्रिय समुदायमा रहेको भ्रम तोड्न र उनीहरुको धारणा बुझ्नलाई अन्तरक्रिया गर्न सकिन्छ । यसअघि तीन महिना अगाडि मात्र सरकारले विदेशी समुदायलाई यस्तै बि्रफिङ गरेको थियो ।

तर, बुधबारको भेला कुन आशयले गरिएको हो प्रष्ट भएन । परराष्ट्रमन्त्री थापाका सल्लाहकार श्रेष्ठले देशको समसामयिक अवस्थाबारे बि्रफिङ गर्न राजदूतहरुलाई डाकिएको बताए ।

लेखकको बारेमा
चिरञ्जीवी पौडेल

पौडेल अनलाइनखबर डटकमका पूर्व एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?