Comments Add Comment

बंगुरको खोरमा भेटियो लागु औषध, ५ जना पक्राउ

Chitwan-District-Police

३० वैशाख, चितवन । चितवनमा लागु औषधसहित पाँच जना पक्राउ परेका छन् । चितवन प्रहरीको लागु औषध नियन्त्रण अभियान अन्तर्गत गत मंगलबार र बुधबार पाँच जनालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले बताए ।

प्रहरीले मंगलबार बिहान भरतपुरको ८ नम्बर वडाबाट भरतपुर ९ बस्ने २८ वर्षीय अशोक प्रकाश थापामगर, भरतपुर १२ का रचन कार्की र भरतपुर १२ कै २३ वर्षीय शम्भु विकलाई पक्राउ गरेको छ । भरतपुर ८ सल्यानीमा रहेको आले र्फम हाउसमा बिक्री वितरणको लागि लागु औषध लुकाइ राखेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट नाइट्राजेपाम पाँच सय ट्याब्लेट, एक किलो पाँच सय ३० ग्राम गाँजा, स्पास्मो प्रोक्भोन एक सय ५२ क्याप्सुल र लागु औषध कोरेक्स जस्तो देखिने चार लिटर तरल पदार्थ बरामद भएको कुँवरले बताए ।

फार्म हाउसमा पुग्दा अशोक प्रकाशले बंगुरको खोरमा लुकाइ राखेको अवस्थामा लागु औषध फेला परेको र उनैको बयानका आधारमा लागु औषध खरिद विक्रीमा संलग्न कार्की र विकलाई समेत पक्राउ गरिएको कुँवरको भनाइ छ ।

त्यसैगरी, भरतपुर १० बाट बुधबार बिहान दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेघौली ८ का २५ वर्षीय विनोद चौधरी र सुमन गुरुङ छन् । उनीहरुको साथबाट १८ थान डाइजेपाम, १८ थान ब्रफिनफिर्न र १८ थान फेनारगन बरामद भएको छ ।

भरतपुर ओरालोमा प्रहरीलाई देखेर भाग्दै गरेको अबस्थामा शंका लागेर चौधरीलाई नियन्त्रणमा लिइएको र उनको बयानका आधारमा गुरुङलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

लागु औषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेका पाँचै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment