Comments Add Comment

कमरेड बादलतिर फर्केका तीर जस्ता प्रश्नहरु

के आधारमा जानुभएको थियो, के आधारमा फर्किदै हुनुहुन्छ ?

Ram Bahadur Thapa Badal

माओवादी आन्दोलनमा होमिएका नेताहरुले जहिल्यै पनि आफूहरुलाई बिभाजित गराउनमा विदेशी खुफिया एजेन्सीहरुको ठूलो हात रहेको बताउने गरेका छन् । पार्टीभित्रै त्यस्ता एजेन्सीका चम्चाहरू भएको गम्भीर किसिमका आरोप-प्रत्यारोपहरु सतहमै देखिन्छन् । उनीहरुले हमेसा उच्चारण गर्ने एउटा खुफिया एजेन्सीको नाम हो ‘रअ’ ।

मोहन वैद्य ‘किरण’को नेतृत्वमा पार्टी बिभाजन हुँदा रामबहादुर थापा ‘बादल’ले अध्यक्ष प्रचण्डलाई ‘रअ’ को एजेन्टको रूपमा चित्रण गरेका थिए । यहि अभिव्यक्तिको सिको गर्दै तल्लो तहमा पनि फलाना समूह फलानाको दलाल, फलनाको गोटी जस्ता छुद्र विशेषताको प्रयोग हुँदै आएका छन् । प्रचण्डलाई बादलले ‘रअ’ को आरोप मात्र लगाएनन्, गद्दार नै घोषणा गरेर जानुपर्दछ भन्नेसम्मको छलफल चलाएका थिए । प्रचण्ड पागल भयोसम्म पनि भनेका थिए ।

अहिले यिनै बादल, प्रचण्ड नेतृत्वको एमाओवादीमा समाहित हुनको लागि तम्तयार छन् । एउटा खुट्टा उचालिसकेका छन् । माओवादी एकता हुने भयो भन्ने हल्लाहरू बाक्लो गरी सुनिन थालेका छन् । चुनवाङ बैठकमा प्रचण्डसँग बिलिन भएका बादल के-कति कारणले अलग भएका थिए र फेरि बिलिन हुने जोखना हेरेर बसेका छन् त्यो भने कौतुहलको बिषय बनेको छ ।

जनवादी क्रान्ति र बिद्रोहको चक्मामा माओवादी आन्दोलनलाई टुटुफुटको दिशामा जबरजस्ति धकेलेर पिँधमै पुर्‍याइदिने, दोश्रो संविधानसभाको निर्वाचनमा लज्जास्पद हार स्वीकार गर्न वाध्य गराउने, मजबुत ढंगले सांगठनिक पार्टी र कार्यकर्ताहरूको भावनामाथि खेलवाड गरिदिने, घाइते, अपांग, शहिद अनि तीनका परिवारहरुको सुनौलो सपनाहरुलाई निस्तेज गरिदिने रामबहादुर थापा ‘बादल’ स्वयम् अहिले प्रश्नहरुको घेरामा परेका छन् ।

यतिखेर बैचारिक नेता मानिएका मोहन वैद्य ‘किरण’लाई एक्ल्याएर बादल आज के आधारमा प्रचण्डसँग एकता गर्न जाँदैछन् त्यो कुरा उनैलाई मात्र थाहा होला । सँगै अलग्गिएका वरिष्ठ नेता र उर्जावान युवालाई बिच बाटोमा छाडेर टाप कस्ने बादल ज्यू, के तपाईलाई पनि ‘रअ’को एजेन्ट भन्न मिल्छ ?

पार्टी किन फुटाइएको थियो ?

दिल निसानि मगर
दिल निसानि मगर

‘बुढाहरुले गरिखाने भएनन् । एमालेभन्दा पनि काम नलाग्ने भए । त्यसैले नयाँ ढंगबाट अगाडि बढेर बाँकी रहेको कार्यभार पूरा गर्नुपर्छ । जनवादी क्रान्तिको दिशालाई छाड्नु हुँदैन,’ यस्तो ठोस प्रस्ताव बादलकै थियो । मन्त्रीसम्म भइसकेका र प्रचण्डपछिका क्षमतावान नेताको रुपमा बुझिएका बादलको यस्तो निचोड चानचुने हुने कुरै भएन । सायद बादलले जोडबल नगरेका भए किरण र विप्लवको बलबुतामा मात्रै पार्टी नफुट्न पनि सक्थ्यो ।

पार्टी फुटिसकेपछि कार्यकर्ता तहमा गुटबन्दीहरू चुलिँदै गयो । बैचारिक छलफलहरु चल्दै गयो । पार्टी फुट्नुको मुख्य कारणमा बादल सुनाउँथे, ‘प्रचण्ड खत्तम भए,  दलाल भए, बिग्रिए, गरीखान दिने भएनन्, रअको एजेन्ट भए, थाके, गद्दार भए ।’ हो मा हो थप्न बाध्य थिए कार्यकर्ताहरू, तर जनतामा राम्रो परिरहेको थिएन । जनता निराश थिए । पार्टी नफुटेको भए हुन्थ्यो भन्ने चिन्ताले इमान्दार कार्यकर्ताहरू ‘डिप्रेसन’मा जान थाले ।

अहिले पनि विप्लव र किरणका अभिव्यक्तिहरुमा प्रचण्डप्रति नरम भाषा नै प्रयोग भएको देखिन्छ, पूर्वाग्रही देखिन्नन् । विप्लवले त प्रचण्डलाई यहाँसम्म ल्याइपुर्‍याएकोमा धन्यवाद भन्दै अबको कार्यभार हामी पूरा गरौं भन्ने बिचार राख्छन् । तर बादल यति धेरै उत्तेजित थिए मानौं कि प्रचण्ड नै उनको लागि मुख्य दुश्मन हुन् ।

चुनाव आयो, बहिष्कारको नीति बन्यो । विप्लवले भौतिक सफाया गर्नुपर्छ भन्दै २ दर्जनभन्दा बढी मानिसहरुको नामावली पेश गरेपछि बादल बुरुक्क उफ्रीए । किरणले विप्लवलाई थुम्थुम्याउन लागे । बेला भएको छैन, अहिल्यै यसो नगरम् बाबु भन्न थाले । तर बादलले भने, ‘विप्लवलाई पार्टीबाट निकाल्नु पर्छ, कारवाही गर्नुपर्छ ।’ विप्लवले ‘हैन, अहिले नै ठोक्ने हो,’ भन्न छाडेनन् ।

‘तपाईं दमको रोगी, विप्लवले भनेको मानेर डाँडाकाँडामा दौडिन कहाँ सकिन्छ र ?’ भन्दै बादलले किरणलाई च्याप्न थाले । अन्ततः पार्टी फेरि एकपटक टुक्रियो ।

पार्टी एकताको आधारभूमि के हो ?

पार्टी एकता गर्ने भन्ने चिज सुनौलो कुरा हो । आन्दोलनलाई अगाडि बढाउनका लागि जनताको बिचमा एकीकृत भएर जाने, खासगरी वामपन्थी शक्तिहरु मिलेर अगाडि बढ्ने भन्ने बिचारप्रति खासै ठूलो मतभेद हुन सक्दैन । पँुजिवादी शक्ति, षडयन्त्रकारी शक्ति, दक्षिणपन्थीहरुको चलखेल बढेर गएको र सर्वहारा शक्ति कमजोर बन्दै गएको यो अबस्थामा पार्टीहरुको बिचमा, नेताहरुको बिचमा एकता हुने कुरालाई राम्रै मान्न सकिन्छ ।

तर मुख्य प्रश्न व्यक्ति मिल्ने होइन, बिचार मिल्ने हो राजनीतिमा । बिचार बिनाको राजनीति हुन्न भन्ने नै हो । अझ कम्युनिष्ट पार्टी, जनयुद्ध लडेको पार्टीको कार्यकर्ता, नेताहरुको हकमा यो पूर्णरुपमा लागू हुनुपर्ने थियो । के कति कारणले पार्टी फुटाइएको थियो ? र अहिले के कति कारणले पार्टी एकताको आवश्यकता महशुस भएको हो ? त्यो बादलले पुष्टि गर्नुपर्दछ । यि सबै क्षतिको जिम्मा बादलले लिनु पर्दछ । केहि महिना अगाडि आफूले के भनेको थिएँ र अहिले के गर्न लागेको छु भनेर जनताको बिचमा उँभिनुपर्दछ जवाफ दिनका लागि ।

आफैले (बादलले) बहिष्कार गरेको संविधानसभा र त्यसपछिको संसदको जगमा एमाओवादी प्रचण्डहरू उभिएका नै छन् । मतलब उनीहरु संसदमा छन् । संविधानको रक्षामा लागेका छन् । संविधानको धारा, उपधारामा बहस गर्दै हिँडेका छन् । संसदीय व्यवस्थामा छन् भनेपछि चिज कहाँ छ भनेर बुझ्न सकिन्छ । संसदीय व्यवस्थालाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ थलोको रुपमा माओवादीले चित्रण गरेकै हो । जनवादी व्यवस्थाको महसुस यहिँनेर भएको हो ।

बादलको मुख्य असन्तुष्टी पनि यहि नै थियो । संविधानसभा मान्दैनौं, च्यात्छौं, जलाउछौं, बम पड्काउँछौ भनेको हो कि होइन ? संसदीय ब्यवस्थामा कुकुरको हड्डी चपाउनका लागि त्यत्रो लडाईं लडेको हो ? पार्टीलाई ललिपप जस्तो बनाउनका लागि घरगाउँमा खेतिपाति गरेर बसिरहेका किसानहरुलाई बलिदानी गर्नका लागि उक्साएको हो ? पक्कै पनि होइन, थिएन । त्यसैले चिजहरुमा, मतभेदहरुमा कुनै भिन्नता र फरकपन आएकै छैन । अनि बादल कुन आधारमा एकता गर्न जाने ?

पार्टी एकताको अन्तिम बिन्दु

माओवादी पार्टीलाई जनयुद्धमा सफलतापूर्वक हाँक्नुमा बादलको महत्वपूर्ण भूमिका थियो, त्यो मान्न सकिन्छ । बादल बिनाको जनयुद्धको कल्पना गर्न सकिन्नथ्यो, ल त्यो पनि मानिदिउँ । तर माओवादी पार्टी बादलको पेवा कुखुरा त थिएन । मन लाग्दा चारो हालिदिए भो वा काटेर खाए भयो । माओवादी पार्टी माटोको भाँडा पनि होइन । कसैलाई रहर लाग्यो भन्दैमा टुटिजाने, फुटि जाने । अथवा माओवादी कोहि, कसैको पेवा जिनिस थिएन ।

तर पेवा जस्तै बनाइयो । परिवारको पार्टी बनाइयो । ज्वाईं र भान्जा भान्जीको पार्टी बनाइयो । मामा, माइजू र अंकल-आन्टीको पार्टी बनाइयो । भावना र कसैको लहलहैमा पार्टी फुटाएको हो भने त्यो झन् ‘पेवा’ हो भन्ने प्रमाणित हुन्छ । त्यसैले पार्टी एकताको प्रस्थान र अन्तिम बिन्दू भनेको बिचार नै हो । गरिब जनताको बिचार, झुपडीको बिचार, महान शहिदहरूको बिचार, घाइते तथा अपाङ्गहरुको बिचार, झुपडिको बिचार । यदि बिचारलाई प्रधान बनाउन सकिएन भने त्यो एकताको लागि एकता मात्र हुन्छ । ।

चप्पल पड्काउदै काठमाडौं छिरेका माओवादीका कैयौ नेताहरु चिल्ला गाडीमा हुइँकिन थालेका छन् । उनीहरुको आफ्नै महल छ । नातेदारको नाममा सम्पत्ति छ । तर घाइतेले ह्वील चेयर कहाँ पायो ? मलमपट्टी र पेनकिलर कहाँ पायो ? संविधानसभामा किन पराजित हुनु पर्‍यो ? संगठन किन भत्कियो ? जेलनेलका कुराहरू किन आउन थाले ? यो नै बिचारको स्खलन हो । यी चिजहरुमा सुधार गरेर जनतामा नगएसम्म एकताको प्रश्न हास्यास्पद बन्न जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment