Comments Add Comment

लाइसेन्स आवेदन दिनेको भीड, खुल्दा १५ हजारको आवेदन

licence१ जेठ, काठमाडौ । सिजुवा मोरङका हरिबहादुर थापा बिहीबार बेलुकैदेखि झापाको विर्तामोड आएर बसेका थिए ।

शुक्रबार बिहान रातिदेखि नै उनले मोटरसाइकलको लाइसेन्सका लागि आवेदन फारम बुझाउन लाइनमा बस्नुपर्ने थियो । आजको अन्नपूर्णमा समाचार छ ।

बिहान करीब चारबजे उठेर लाइन बस्न आउँदा विर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेचीको चारैतिर लाइन करीब एक किलोमिटर बसिसकेको थियो ।

उनी पनि त्यही पंक्तिमा पछाडि बसे । झण्डै चार घन्टापछि मात्र उनको पालो आयो आवेदन बुझाउने । उनले भने, ‘विहान चाँडै नआउने हो भने त धेरै गाह्रो पर्ने रहेछ ।’

शुक्रबार यातायात व्यवस्था कार्यालय मेचीमा मेला जस्तै मानिसको घुईंचो लागेको थियो ।विगत करीब डेढ बर्षयता मोटरसाइकलको लाइसेन्सको आवेदन नखुलाएको उक्त कार्यालयले शुक्रबार आवेदन दरखास्त लिएको हो ।

तर सेवाग्राही दिनभर टंटलापुर घाममा घन्टौंसम्म उभिएका थिए । सेवाग्राहीहरु भन्दैथिए ‘नागरिकले पाउनुपर्ने हकका लागि मेला लगाएर राज्यले जात्रा देखायो ।’

झापा गोल्धापका भीमबहादुर लिम्बूले विहान करीब ७ बजे लाइनमा बसेर करीब ११ बजे आवेदन बुझाउन पाए । सोही पंक्तिमा बसेका सुरेन लिम्बुले भने, ‘कम्तीमा एक एक महिनामा खुलाए जनताले दुःख पाउने थिएनन् ।’

लाइसेन्सका लागि मेचीका चार जिल्ला, कोशी, सगरमाथा तथा जनकपुरदेखि सेवाग्राही आवेदन दिन झापा आएका थिए । शुक्रबार बेलुकासम्ममा करीब १५ हजार मानिसले मोटरसाइकलको लाइसेन्सका लागि आवेदन दिएका छन् ।

हजारौं आवेदन एकै दिनमात्र लिने यातायात व्यवस्था कार्यालयको निणर्य अपरिपक्व र नियतवस भएको सर्वसाधारणले टिप्पणी गरेका छन् ।

उनीहरुले फारम वितरण, भर्ने र पेश गराइदिने नाममा विचौलियाहरुले सेवाग्राहीबाट चर्काे रकम समेत असुलेको बताए । झापा गौरादहका मदन चौहानले भने, ‘मेरो फारम ल्याउँदा पनि दुईसय रुपैयाँ माग्दै थिए । मैले फोन निकालेर कानमा राख्नसाथ पर्दैन भनेर फारम त्यसै दिए ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक कालिदास रेग्मीले भीड ज्यादा भएकाले ‘मास कन्ट्रोल’ गर्न निकै गाह्रो भएको प्रतिक्रिया दिए । उनले भने, ‘कम्तीमा सातदिनसम्म आवेदन लिएको भए यस्तो होहल्ला र तनाव हुन्नथ्यो । सेवाग्राहीले पनि लाइनमा चेप्टिनुपर्ने थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment