+
+

यसरी हुँदै छ चार माओवादी पार्टीको एकता

एकीकृत पार्टीको नाम अझै अनिर्णित

विनोद घिमिरे विनोद घिमिरे
२०७३ जेठ ३ गते १३:३०

Maoist-Leader३ जेठ, काठमाडौं । निरन्तर टुटफुटको श्रृंखलाबाट गुज्रिँदै आएका माओवादी पार्टीहरुमा अहिले एकताको तरंग उत्पन्न भएको छ । बिभिन्न कालखण्डमा बिभाजित चार माओवादी पार्टीहरु एकीकरणको माहोलमा डुबेका छन् ।

यही जेठ ६ गते दिउँसो दुई बजे भृकुटीमण्डपमा एकताको घोषणासभा हुनेछ । एकीकृत नेकपा माओवादी, पुनर्गठित नेकपा क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेकपा (माओवादी) र विप्लव माओवादीका केहि नेताहरुबीच एकता हुन लागेको हो ।

यसअघि देशभरबाट कार्यकर्ताहरु राजधानीमा उतारेर खुलामञ्चमा घोषणासभा गर्ने तयारी थियो । तर, हाल पुरानो बसपार्क स्थल बनाइएकाले ठाउँ साँघुरो हुने भन्दै भृकुटीमण्डपमा घोषणा सभा गर्न लागिएको छ । ठाउँकै अभावले जिल्ला-जिल्लाबाट कार्यकर्ताहरु नओसार्ने निष्कर्षमा नेताहरु पुगेका छन् ।

”एकताको घोषणा सभा त्यस्तो भव्य गर्ने सोच छैन,’ क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अनलाइनखबरसँग भने ।

झण्डै ५ सय सदस्यीय महाधिवेशन आयोजक समिति
एकताको घोषणा जेठ पहिलो सातामै भए पनि कुन नेतालाई कुन पद दिने भन्ने टुंगो भने लागिसकेको छैन । तर एकतापछि नयाँ पार्टीमा बादल उपाध्यक्ष रहने बताइएको छ । नारायणकाजी पछि तेस्रो बरियतामा बादल रहने चर्चा छ ।

prachanda-and-badalयसैगरी देव गुरुङ र पम्फा भुसाललाई सचिव बनाउने गरी छलफल चलिरहेको छ । तर, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले भने अहिलेसम्म पद बाँडफाँडको कुनै छलफल नभएको दाबी गरका छन् ।

त्यसो त एकता महाधिवेशनमा नजाँदासम्म नेताहरुको पद बाँडफाँड नगर्ने विषयमा पनि छलफल चलिरहेको छ । प्रचण्डलाई महाधिवेशन आयोजक समितिको संयोजक बनाउने र अरु सबै सदस्य रहने सम्भाबना बढी छ ।

तर, महाधिवेशन हुन कम्तिमा एक बर्ष लाग्नसक्ने भएकाले त्यतिन्जेलसम्म पार्टी सञ्चालनका लागि सचिवालय भने बनाउन सकिने क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा बताउँछन् । ‘अहिले अध्यक्ष प्रचण्ड रहने र अरु सबै केन्द्रीय सदस्यहरु रहने गरी छलफल चलिरहेको छ । विस्तृत टुंगो त महाधिवेशनले लगाउला,’ थापाले भने, ‘आवश्यकताअनुसार सचिवालय भने बन्नसक्छ ।’

महाधिवेशन आयोजक समिति ४ सय ९९ सदस्यीय बन्ने सम्भावना रहेको एक नेताले बताए । पार्टीका सबै कमिटीहरुलाई आयोजक समितिमा बदल्ने नेताहरुको तयारी छ ।

नेताहरुको पोर्टफोलियो, नीति तथा कार्यक्रम लगायतका विषय टुंगो लगाउन पाँचवटै माओवादीका एक-एक जना नेता रहने गरी पाँच सदस्यीय संयोजन समिति बनाइएको छ । समितिमा एमाओवादीबाट अध्यक्ष प्रचण्ड, पुनर्गठित क्रान्तिकारी माओवादीबाट रामबहादुर थापा ‘बादल’, क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा, विप्लव माओवादीका बसन्त घर्ती र जयपुरी घर्ती छन् ।

जनयुद्धकालीन नाम राख्न दबाव

एकतापछि पार्टीको नाम नेकपा माओवादी नै राख्नुपर्ने दबाव नेताहरुलाई छ । जनयुद्धकालमा पार्टीको नाम नेकपा -माओवादी) थियो । हाल मातृका यादव नेतृत्वको पार्टीको नाम नेकपा (माओवादी) छ ।

नारायणकाजी ‘प्रकाश’ नेतृत्वको एकता केन्द्र मशालसँग माओवादीको एकता भएपछि नाम ‘एकीकृत नेकपा माओवादी’ राखियो । एकतापछि प्रचण्ड र प्रकाशसँग मोहन वैद्य पक्षको खटपट सुरु भयो । अन्ततः वैद्य, बादल र नेत्रविक्रम चन्द ‘विप्लव’ले २०६९ असार ८ गते पार्टी फुटाए र नाम ‘नेकपा-माओवादी’ राखे ।

वैद्य नेतृत्वको नेकपा-माओवादी पनि बिभाजनबाट जोगिन सकेन । पार्टीमा क्रान्तिकारी छवि बनाएका विप्लवले वैद्यसँग रहन नसक्ने निर्णय गरे र पार्टी बिभाजन गरे । विप्लवले पनि आफू नेतृत्वको पार्टीको नाम माओवादी नै राखेका छन् ।

त्यसपछि पनि एमाओवादी पार्टीमा बिभाजन रोकिएन । नयाँ संविधान जारी भएलगत्तै डा. बाबुराम भट्टराईले ०७२ असोज ९ गते एमाओवादीबाट अलग भएको घोषणा गरे । उनी हाल ‘नयाँ शक्ति नेपाल’ नामक पार्टी खोल्ने तयारीमा छन् ।

अहिले एमाओवादीसँग एकता प्रक्रियामा वैद्य र डा. भट्टराई छैनन् तर जो जति आएका छन् उनीहरुले पार्टीको पुरानै नाम ‘नेकपा माओवादी’ राख्न नेतृत्वलाई दबाव दिँदै आएका छन् । एमाओवादी स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले बिभिन्न नाममा छलफल भइरहेको तर के नाम राख्ने भन्ने टुंगो लागिनसकेको बताए ।

बिभाजित माओवादीहरुलाई एकता प्रक्रियामा ल्याउन ‘माओवादी पुनर्गठन अभियान’को नेतृत्व गरेका प्रभाकरले अनलाइनखबरसँग भने, ‘अहिले पार्टीको नाम के राख्ने भन्ने ठूलो कुरा होइन । सबै माओवादीलाई एउटै झण्डामुनि ल्याउन हामी सफल भयौं यो नै ठूलो कुरा हो ।’ उनले सबैको छलफलबाट पार्टीको उपयुक्त नाम चयन गर्ने बताए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले पार्टीको नाम के राख्ने भन्ने कुरा एमाओवादीमा भर पर्ने बताए । तर, ‘माओवादी’ नाम भने नछुटाउने उनले प्रष्ट्याए ।

‘हामी छलफलकै क्रममा छौं,’ थापाले भने, ‘नामको सवालमा एमाओवादीको भनाइ निर्णायक हुन्छ ।’

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?