Comments Add Comment

नेपालमा पर्यटक भित्राउन एनआएनले सुरु गर्‍यो ‘अतिथि देवो भवः’ अभियान

मन्त्री पोखरेलले भने- पर्यटन नेपालको लाइफलाइन हो

Atithi-Devo-Bhaba

३ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भवः’ अभियान सुरु गरेको छ । एनआरएनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर यो अभियान सुरु गरेको हो ।

अतिथि देवो भवः अभियान विश्वव्यापी बनाउन एनआरएन र बोर्डबीच सम्झौता भएको छ । सम्झौतापत्रमा मंगलबार एनआरएनका उपाध्यक्ष भवन भट्ट र बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हस्ताक्षर गरे । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम आचाय साक्षी बसेका छन् ।

अतिथि देवो भवः यस्तो अभियान हो, जसको मूख्य उद्देश्य नेपालमा गुणात्मक र संख्यात्मक पर्यटक आगमन बढाउनु रहेको छ । यस अभियानमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन गरिने छ ।

नेपाली समाजमा अतिथिलाई उच्च प्राथमिकतामा राखिने गरिएको छ । त्यति अतिथि देवो भवः लाई अबको समयमा नेपाली समाजमा पुनःस्थापित गर्नुपर्ने अवश्यकता देखिएको एनआएरको पर्यटन प्रवर्द्धन समितिका अध्यक्षसमेत रहेका भट्टले बताए ।

नेपालमा पर्यटन सम्बन्धी अद्धितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदा हुँदाहुँदै पनि पर्यटक आगमनलाई सन्तोषजनक अनुपात बढाउन सकिएको छैन । विश्वका ७५ मुलुकमा रहेको एनआरएनको नेटवर्कबाट नेपाल प्रवर्द्धन गरेमा पर्यटक आगमन बढाउन सकिने विश्वास पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले व्यक्त गरे ।

अभियानको उद्देश्य

अतिथि देवो भवः अभियानमार्फत नेपालभित्र राष्ट्रिय स्तरमा अतिथि सत्कारको क्षेत्रमा जागरुकता ल्याइने छ । नेपालीको आतिथ्य सत्कारलाई क्याम्पियनका रुपमा अगाडि बढाउन विभिन्न कार्यक्रमहरु गरिने अभियानकर्ता सनक न्यौपानेले जानकारी गराए ।

Atithi-Devo-Bhaba-2

यस अभियानले नेपालका पर्यटकीय क्षेत्रको पहिचान गरेर प्रचार-प्रसार गरी आन्तरिक तथा बाहृय पर्यटकीय गतिविधि बढाउने छ । खासगरी विदेशमा बस्ने एउटा नेपालीले तीनजना विदेशी नेपाल भित्राउने अभियानको लक्ष्य छ ।

नेपालका पर्यटकीय गन्तव्य र आतिथ्य सत्कारको ७५ मुलुकमा रहेका एनआरएनको नेटवर्कमार्फत त्यहाँको सरकारी निकाय र निजी क्षेत्रसँग सहयोग लिएर प्रवर्द्धन गरिने बताइएको छ । एनआरएन र पर्यटन बोर्डले संयुक्त रुपमा विभिन्न कार्यक्रम गरी अतिथि देवो भवः अभियानलाई विदेशमा प्रचार प्रसार गरिने छ ।

यो अभियानलाई विश्वस्तरमा परिमाणमुखी बनाउन एनआरएनका ७५ देशका एनसीसी अध्यक्षलाई गुडविल एम्बास्डर बनाइने छ । नेपालमा आएका विदेशी पाहुनालाई फेरी भ्रमण गर्ने वातावरण बनाउने र अरुलाई पनि भ्रमणका लागि सिफारिस गर्न प्रेरित गर्ने यस अभियानको लक्ष्य छ ।

सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरिसकेको छ । सो वर्ष १० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य छ । अतिथि देवो भवः अभियानमार्फत अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवर्द्धनात्मक कार्यक्रम गरी उल्लेख्य पर्यटक भित्राउने उपाध्यक्ष भट्टले बताए ।

यो अभियानमा एनआरएनको जिम्मेवारी यस अभियानलाई सञ्चान गर्ने रहेको छ । पर्यटन बोर्डको जिम्मेवारी अभियानलाई आवश्यक सहजीकरण र प्रवर्द्धन गर्नु रहेको छ । पर्यटन मन्त्रालयलाई यस अभियानको सफलताको मूल्यांकन गर्ने, स्वदेश तथा विदेशमा यो अभियानलाई आवश्यक पर्ने सरकारी सहयोग उपलब्ध गराउने जिम्मेवारी तोकिएको छ ।

पर्यटन मुलुकको लाइफलाइन

मन्त्री पोखरेलले पर्यटन नेपालको लाइफलाइन भएको बताएका छन् । ‘सरकारले पर्यटन उद्योगलाई कृषि र हाइड्रोपछि तेस्रो खम्बाका रुपमा परिभाषित गरेको छ’ उनले भने- ‘यदि मुलुकको आर्थिक समृद्धि गर्ने हो भने पर्यटनलाई पहिलो खम्बाका रुपमा लिएर प्रवर्द्धनमा जुट्नुपर्छ ।’

नेपाल प्राकृतिक रुपमा सुन्दर रहेको र सांस्कृतिक रुपमा पनि धनी रहेको औंल्याउँदै मन्त्री पोखरेलले नेपालको साहसिक र धार्मिक पर्यटन एकदमै महत्वपूर्ण रहेको बताए । अब हिन्दू र बुद्ध सर्किट बनाएर विश्वका धार्मिक पर्यटक नेपाल भित्राउन लाग्नुपर्ने उनको भनाई छ ।

पर्यटन बोर्डसँग सहकार्य गरेर एनआरएनले सुरु गरेको अतिथि देवो भवः अभियानले नेपालमा पर्यटक आगमन बढाउन साँच्चिकै उल्लेखनिय भूमिका खेल्ने मन्त्री पोखरेलले विश्वास व्यक्त गरे ।

पर्यटन सचिव प्रेमकुमार राईले सरकार एनआरएन, कुटनीतिक नियोग र पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धनमा लाग्ने बताए । सरकार र एनआरएनले संयुक्त रुपमा सुरु गरेको अतिथि देवो भवः अभियानले नेपाली पर्यटनमा नयाँ आयाम थपिदिने उनको विश्वास छ ।

एनआरएन उपाध्यक्ष भट्टले पर्यटन विकासका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । ‘नेपालमा पाहुन भित्राउन पहलमात्र गर्नुपर्छ, उनीहरुलाई सन्तुष्ट बनाउन नेपाली आतिथ्य सत्कार काफी छ’ उनले भने ।

पर्यटन बोर्डका सिइओ जोशीले एनआरएन र बोर्डबीच निकै सान्दर्भीक र उपयुक्त सहकार्य भएको भन्दै खुशी व्यक्त गरे । भूकम्प र भारतीय नाकाबन्दीले पर्यटन सुस्ताइरहेका बेलामा दुई पक्षबीच भएको सहकार्यले पर्यटन पुनरुत्थानमा टेवा पुर्‍याउने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment