Comments Add Comment

‘दोस्रो पेनाल्टी हानेपछि सबै अँध्यारो देखेँ’

Rohit Chandफुटबलमा हारजित त भइ नै हाल्छ । परन्तु केही हारहरु यस्ता हुन्छन्, जुन घाउसरी लामो समयसम्म चहर्‍याइरहन्छन् ।

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा एकदमै राम्रो प्रदर्शन गरेर पनि विपक्षीलाई नतिजा सुम्पिएका अनगिन्ति म्याचहरु छन् । तीमध्येका केही हार यति पीडादायी थिए कि फ्यानहरुले चाहेर पनि भुल्न सक्दैनन् । यस्तै भुल्न नसक्ने एउटा म्याच हो, सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसीप अन्तरगत अफगानिस्तानविरुद्धको सेमिफाइनल ।

घरेलु दर्शकका अगाडि नेपालले २० वर्षपछि साफको उपाधि चुम्ने लक्ष्य बोकेको थियो । समूह चरणमा भारत र बंगलादेश जस्ता बलिया टिमलाई हराएको अनि पाकिस्तानसँग सनसनीपूर्ण ड्र खेलेको नेपाल सेमिफाइनलमा आत्मविश्वासले भरिएको थियो । कहिल्यै दक्षिण एशियाली फुटबलको फाइनलमा नपुगेको अफगानिस्तान टोलीलाई थियो रंगशालामा खचाखच दर्शकको हुटिङले अत्याइरहेको थियो ।

अपेक्षा अनुसार नेपालले आक्रमक सुरुवात गर्‍यो । अफगान टिमलाई पूर्णरुपमा दबावमा राखिरहेको नेपालले १० औं मिनेटमा अनेपक्षित झट्का खायो । अफगान खेलाडीले हानेको फ्रिकिक बललाई उफ्रेर समातेका गोलकिपर किरण चेम्जोङ सम्हालिन सकेनन् र हातबाट बल फुत्काए । त्यही मौकामा अफगानिस्तानका खेलाडीले गोल गरे र नेपाली खेलाडी र दर्शक स्तब्ध बने ।

१-० ले पछि परेको नेपालले घाइते बाघजसरी एकपछि अर्को आक्रमण गर्‍यो । तर, अफगानिस्तानले त्यसपछि पूरै रक्षात्मक खेलेर गोल हुन दिएन । अफगान गोलकिपर मन्सुर फगिरियारले थुप्रै दर्शनीय बचाउहरु गरे ।

नेपालले पायो लाइफ लाइन

खेल गुमाउने संघारमा पुगिसकेको नेपालले ८५ औं मिनेटमा एउटा लाइफलाइन पायो । सन्दिप राईले मिडफिल्डबाट हानेको फि्रकिक अफगान किपरले अगाडि बढेर समाते । यही क्रममा बल खोस्ने प्रयास गर्दै आफूनेर आइपुगेका नेपालका स्ट्राइकर बिमल घर्तिमगरलाई उनले पेटमा लात्तीले हानिदिए । रेफ्रीले अफगानी गोलकिपर मन्सुरले पहेंलो कार्ड दिए भने नेपाललाई पेनाल्टी ।

त्यतिबेलाको नेपाली टीममा पेनाल्टी हान्ने विशेषज्ञ खेलाडी कोही थिएनन् । यद्यपि पेनाल्टी पाएको खण्डमा रोहित चन्द र राजु  तामाङले हान्ने पहिले नै तय थियो । टे्रनिङ क्याम्पमा उनीहरुले सबैभन्दा बढि पेनाल्टी अभ्यास गर्थे ।

तर, त्यतिबेला राजु तामाङलाई प्रशिक्षकले मैदानबाट प्रतिस्थापन गरिसकेका थिए । त्यसैले रोहित स्वतस्फुर्त पेनाल्टी हान्न अघि सरे । रोहित भन्छन्, ‘मलाई कप्तानले पेनाल्टी हान्न इशारा गरेका थिएनन् । तर, पेनाल्टी पाएको खण्डमा कि राजुले हान्ने कि मैले भनेर अघिल्लो दिन नै निर्णय भएको थियो । राजु मैदानमा नभएकाले म अघि सरेको हुँ ।’

प्रतियोगिताभरि त्रुटीरहित प्रदर्शनका कारण आत्मविश्वासले भरिएका थिए रोहित । यता, नेपाली आक्रमणको उत्कृष्ट बचाउ गरिरहेका अफगानी गोलरक्षकको पनि हौसला बुलन्द थियो ।

रेफ्रीले सिटी फुके । रोहितले दायाँ कुना च्यापेर जमिनबाट थोरै माथि बल धकेले । तर, अफगानी गोलकिपरले उनले प्रहार गरेकै दिशामा डाइभ हानेर उत्कृष्ट बचाउ गरिदिए । त्यो क्षणको वर्णन यसरी गर्छन् रोहितः

‘पेनाल्टी हान्नुअघि ममाथि अथाह दबाव थियो । हामी १-० ले डाउन भएको अवस्थामा खेलमा फर्किने शानदार मौका थियो त्यो । दर्शक नेपाल…नेपाल… भनेर लगातार चिच्याइरहेका थिए । उनीहरु गोलभन्दा अर्थोक केही हर्न चाहँदैनथे । मैले हान्ने पेनाल्टीमा सिंगो देशको गौरव जोडिएको थियो ।’

‘मैले उमेर समूहको अन्तर्राष्ट्रिय फुटबलमा पेनाल्टी हानेर गोल गरेको छु । तर, राष्ट्रिय टिमबाट पहिलोपटक पेनाल्टी हान्दै थिएँ । अभ्यासका क्रममा गोलकिपरको सम्भावित मुभ अनुमान गरेर पेनाल्टी हान्ने गथेँ । तर, त्यतिबेला अरु केही नसोची पहिल्यै दायाँ साइड च्यापेर हान्छु भन्ने तय गरेँ । त्यहि अनुसार आफ्नो बेस्ट किक हानेँ । मैले हानेकै साइडमा गोलकिपरले डाइभ मार्‍यो र बल रोक्यो । मेरो ‘हर्टब्रेक’ भयो । दर्शकदिर्घामा सन्नाटा छायो ।’

दोस्रो पेनाल्टी पनि खेर गयो

यसरी नेपालले पेनाल्टी खेर फाल्यो । तर, अहँ । मौकाले नेपाललाई पछ्याउन छाडेन । प्राविधिक कारण देखाएर रेफ्रीले उक्त पेनाल्टी रद्द गरिदिए र फेरि हान्ने संकेत गरे । त्यसपछि खेलमा तनाव उत्पन्न भयो । गोलको उत्सव मनाइरहेका अफगानी खेलाडीहरु आक्रोशित भए रेफ्रीविरुद्ध प्रोटेस्ट गरे । यही क्रममा अफगानी कप्तान हारुन फकरुद्धिनले पनि पहेँलो कार्ड भेटे । उता मैदान बाहिर अफगानी कोच युसुफ कार्गर क्रोधित भएर उफ्रिरहेका थिए । तर, कोच उफ्रिँदैमा निर्णय बदलिनेवाला थिएन ।

नेपालले दोहोर्‍याएर पेनाल्टी हान्न पायो । पहिलो पेनाल्टी किन रद्द गरियो भन्ने रोहितलाई अहिलेसम्म पनि थाहा छैन । गोल नभएर त पक्कै होइन !

रोहित भन्छन्, ‘त्यतिबेला किन फेरि हान्न दिएको भनेर रेफ्रीलाई सोध्ने कुरा भएन । म्याचपछि कसैलाई सोध्नै मन लागेन । म अहिलेसम्म पनि अनभिज्ञ छु ।’

सिटी बज्नु अगाडि नै गोलकिपर गोललाइनबाट अगाडि बढेकाले हो कि भन्ने उनको आशंका छ ।

दोस्रो पेनाल्टी मौकाले नेपाली टोली र दर्शकको खुशी फर्कियो । तर, रोहित अर्कै मनोदशामा थिए । उनी भन्छन्, ‘पहिलो पेनाल्टी मिस भएपछि मेरो सम्पूर्ण आत्मविश्वास धराशयी भइसकेको थियो । दोस्रो पेनाल्टी हान्नका लागि वास्तवमा म मानसिकरुपमा असक्षम थिएँ ।

तर, फेरि पनि उनैले किन पेनाल्टी हाने त ?

‘मलाई के लाग्यो भने पहिलो पेनाल्टी जसले हानेको छ त्यो रद्द भएपछि दोस्रो पनि उसैले हान्नुपर्छ । सायद अरुलाई पनि त्यहि लाग्यो । खासमा जसले हान्दा पनि हुनेरहेछ । तर, न कप्तानले न अरु खेलाडीले त्यो ख्याल गरे । फेरि त्यस्तो तनावपूर्ण क्षणमा पेनाल्टी हान्ने आँट पनि कसैलाई भएन कि ? अन्ततः कोही अगाडि नबढेपछि मैले हान्नु बाध्यता जस्तै भयो ।’

दोस्रो पेनाल्टी पनि उनले पहिलेकै साइड च्यापेर हाने । यसपटक लुज ग्राससट हानेका थिए ।

तर, किन पहिलेकै साइडमा हाने ?

‘मलाई के लागेको थियो भने गोलकिपरले यसपटक साइड चेञ्ज गरेर बायाँतिर डाइभ हान्छ । त्यसैले उसलाई चक्मा दिन पहिलेकै साइडमा हान्ने निधो गरेँ । तर, चलाख गोलकिपरले मभन्दा अगाडि बढेर सोच्यो ।’

दोस्रो पेनाल्टी पनि असफल हुनुको कारणबारे रोहित भन्छन्, ‘मानसिक रुपमा एकदम कमजोर बनिसकेको थिए । मेरो खुट्टा शक्तिहिन जस्तो भएका थिए । मनोबल गिरेको अवस्था थियो । त्यसैले मैले हानेको प्रहार एकदमै फितलो हुनगयो । गोलकिपरले पहिलेभन्दा सजिलोसँग रोकिदियो ।’

त्यसपछि कस्तो महसुस भयो ?

रोहित भन्छन्, ‘म राम्ररी वर्णन पनि गर्न सक्दिँन । मेरो दिमाग पूरै शुन्य भयो । करिब १० मिनेटको खेल बाँकी थियो । तर, मैले आफूलाई कहिँकतै हराइरहेको जस्तो महसुस गरेँ । बल पनि खासै पाइनँ । नेपालले एक-दुई वटा चार्ज गर्‍यो । तर, सफल भएन ।’

खेल सकिनासाथ सबै खेलाडीहरु मैदानमै लडे । कोही घोप्टिएर कोही उत्तानो परेर रुन थाले । दर्शकहरु भारी मन लिएर रंगशालाबाट निस्किए । सबैभन्दा ठूलो चोट पक्कै पनि रोहितलाई परेको थियो । तर, उनले आफूलाई सम्हाले ।

‘मैले आफूलाई सो म्याचको खलनायकजस्तो महसुस नगरिकन यसलाई पार्ट अफ दि गेमको रुपमा लिने प्रयास गरेँ,’ रोहित भन्छन्, ‘प्रशिक्षक र साथी खेलाडीहरुले पनि मलाई सान्त्वना दिए ।’

तथापि सामाजिक सञ्जालमा आफूप्रति लक्षित टिप्पणीहरुले रोहितलाई बेचैन बनाउथे । दोस्रो पेनाल्टि रोहितले नै किन हाने भन्ने तीव्र रुपमा उठेको थियो । कसैसँग जवाफ थिएन । सबैभन्दा ठूलो कुरा रोहितको डबल मिसले नेपालले २० वर्षपछि साफको उपाधि चुम्ने सम्भावनाको अन्त्य गरिदिएको थियो ।

उनले भने, ‘त्यो घटनाले मलाई लामो समयसम्म मेन्टली डिस्टर्व गर्‍यो । यद्यपि मैले हिम्मत हारिनँ । टीम म्यानेजमेन्टले पनि मलाई साथ दियो । मलाई टिमबाट बाहिर राखिएन । बिस्तारै त्यो घाउ पुरिँदै गएको छ । यद्यपि अहिलेसम्म पनि म त्यो गल्ती सम्झेर चुक्चुकाउने गर्छु । आफ्नो खेलजीबनकै सबैभन्दा खराब क्षणका रुपमा सम्झिने गर्छु ।’

त्यसयता रोहितले कुनै पनि अन्तर्राष्ट्रिय म्याचमा पेनाल्टी हानेका छैनन् । आजकाल नेपाली टिममा अञ्जन विष्टलाई पेनाल्टी विशेषज्ञका रुपमा विकास गरिएको छ । उनी अरुभन्दा आत्मविश्वासपूर्वक हान्छन् । त्यसो त चोटका कारण करिब ६ महिनादेखि रोहित फुटबल मैदान बाहिर छन् । दुई महिना अगाडि उनको घुँडाको शल्यक्रिया गरिएको छ । अझै ७-८ महिना उनले आराम गर्नुपर्ने छ ।

पेनाल्टीबारे रोहित भन्छन्, ‘भविष्यमा फेरि पनि कोचले मलाई पेनाल्टी हान्न अह्राएको खण्डमा पछि हट्दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment