Comments Add Comment

प्यारी डेमा छिरिङ ! तिमी यो देशकी फूल हौ कि काँडा ?

रसुवाको भूइँचालो पीडित वस्तीमा जे देखियो

Dolakha-Bhukampapidit

प्यारी बहिनी डेमा छिरिङ !

कैलेकाँही मेरो छाती बर्खामासको पानीको मूलजस्तो लाग्छ, त्यो फुटिरहन्छ । त्यो सानो झुपडीभित्र तिमीलाई अंगालोमा बाँध्दा मेरो भक्कानो फुटेको थियो, मानौं कि मेरो छाती ज्वालामुखीको लाभा थियो । तिम्रो कलिलो अनुहारलाई भावुकताको बृत्तचित्रमा कैद गर्दै थोत्रो रात्रि बसको झ्यालतिर बसेर म काठमाण्डौ आइपुगें ।

काठमाण्डौ आइपुगे पनि मेरो मन टेन्टभित्रका रित्ता भँडाहरुमा छन् । तिम्रो भोका पेटहरुमा छन् । नाङ्गा शरीरहरुमा छन् । आगो नदेखेका अँगेनाहरुमा छन् ।

प्यार्री बहिनी डेमा छिरिङ ! तिम्रा साथीहरु पूर्बा, दावा, र लाक्पालाई सम्झिरहेको छु मैले, जो घाइते खुट्टा उचालेर अभिषाप जस्तो गोरेटोमा कठिन पाइला चाल्दै थिए । मासानघाटजस्तो स्कुलमा बसेर मानिस बन्नका लागि कोशिस गरिरहेका थिए । त्रिपालमुनिको चिसो भूइँमा सुतेर सायद न्यानो सपना देख्दै थिए । यो मध्यरातमा मेरो कलमबाट मसी होइन, आँशु बगे जस्तो लाग्छ । किनकि म तिमीहरु सबैजनाको याद मेट्न चाहन्छु । याद बाँकी राख्नका लागि अब मसँग आँशुका थोपाहरू बाँकि छैनन् ।

तिमीलाई देखेपछि मेरो वाल्यकालका एक-एक सम्झनाहरु मानसपटलमा चलखेल गर्न थालेका थिए, मानौ कि मेरो दिमाग एक हजार जीबीको मेमोरी कार्ड हो । खैर, सम्झनाहरुका यिनै सामीप्यता नियाल्दा म तिमीजस्तो लाग्छ, अनि तिमी म जस्तो लाग्छ । तिमीले आङ ढाकेको च्यातिएको पुरानो भोटो जस्तै भोटो मैले पनि लगाएको थिएँ सानोछदाँ । तिम्रो पेटजस्तै मेरो पेट पनि त लाम्टिएको थियो कैयौं दिन, एक मुठी गतिलो गाँस नपाउँदा । ३० बर्ष अघि र ३० वर्षपछिको झुपडी, खाली पेट र नाङ्गो शरीर हेर्दा क्यालेण्डर बाहेक केही बदलिएनछन् ।

रसुवा म पहिलोपटक पुगेको थिएँ । त्यो त तिमीलाई थाहा हुने कुरा भएन । किनभने तिमी तोते बोली बोल्दैछ्यौ । तिम्रो बोली सुन्न नपाए पनि हामीवीच हजारौं बर्ष दोहोरो संवाद भएको जस्तो लागेको छ मालाई । खुट्टाभरि अँगेनाको खरानी, हातभरि कोइलाको कालो, अनि प्यासले सुकेको अधर, भोकले लाम्टिएका पेट । हरियो डाँडाकँडाको वीचमा तिम्रो भविष्य किन-किन झरेको पात झै देखेको थिएँ मैले । भत्किएको तिम्रो घरमाथि राजनीति छ राजधानीमा ।

कोही नौलो मान्छे घरमा आई खल्तीबाट हात निकाल्दा मेरो मुख रसाउँथ्यो । यसबखत मलाई भेट्दा तिम्रो मुख रसाएको मलाई महशुस भयो मेरी बहिनी । किनभने म नौलो मान्छे उपस्थित थिएँ शरणार्थीको जस्तो उदास तिम्रो आँगनमा ।

तिमीलाई हुरी, झरी, बर्षा र असिनाबाट जोगाउन सरकारले ४ मिटर जति त्रिपाल सौजन्य गरिदियो । म आफै अवला छु, च्यातिएको खल्तीबाट पचास रुपैयाँ निकालेर दिन बाहेक अरु त सक्दिनथेँ । तर, हैसियत अनुसार तिम्रो नाममा १५ सय शब्द कोर्दैछु ।

खर्सुको काँडाका वीच हुर्केको मेरो त्यो निम्छरो बाल्यकाल र चोसो भूईमा पल्टिरहेको तिम्रो निर्दोष शरीर उस्तै-उस्तै लाग्छ मलाई । काठमाण्डौ शहरमा डेरा लिएर बसेको यो साँघुरो कोठाबाट फुत्त निस्केर तिमीलाई भेट्न आउनका लागि मैले जीवनभरिका पहाडी बिम्बहरुलाई मसँगै गुम्साएर राखेको थिएँ । थाहा त थियो नि मलाई, यसपालिको भूइँचालोले तिम्रो कलिलो मस्तिष्कलाई नै बेस्सरी हल्लाएको थियो । संभवत तिम्रो कलिलो मष्तिस्क भत्किएको थियो ।

रसुवा जिल्लाको हाकुमा रहेको तिम्रो झुपडी, तिम्रो कपडा, तिम्रो माली गाई, तिम्रा भाँडाकुटीहरु पुरिएका थिए । तिमी चिसो बोराको ओछ्यान हालेर पल्टिएकी थियौ । यस्तो लाग्थ्यो, तामाङको बच्चा भएर जन्मिएकोमा तिमीले बच्चैदेखि सजायँ भोग्नुपरेको छ । आजीवन सजायँ भोग्नु त छँदै छ, नेताहरुले तिमीलाई भुईचालो पीडित भन्छन् । कोही कोहीले त भोलिका कर्णधार पनि भन्छन् । तिम्रो जीवनमाथि ठूलो-ठूलो बहस हुनेगर्छ काठमाण्डौमा ।

च्याङ्बाले मलाई भन्दैथे- रेडक्रस आएर एक पोका मिठाई बाँडेर गयो, बरु विष बाडेको भए हाइसञ्चो हुन्थ्यो

प्यारी बहिनी डेमा छिरिङ, बिन्ती, मलाई भनिदेउ-‘तिमी यो देशको फूल हौ कि काँडा’ ?

तिमीले समयमै राहत पाएनौ भनेर झगडा हुन्छ संसदमा, अखबारका पानाहरुमा तिमी नलेखिएको दिन हुदैन । मलाई त यस्तो लाग्छ कि यो शहर गोहीहरुको शहर हो । तिम्रो नाम जपेर भावुक बन्नेहरु धेरै छन् यहाँ । ती आँशु बगाउन पनि पछाडि पर्दैनन् । तर, तिमी यो देशको काँडा हौ कि कोपिला हौ ? भोलिका कर्णाधार हौ कि कारिन्दा हौ ? म यतिखेर सोच्न बाध्य भएको छु, किनभने भूइँचालो गएको एक बर्ष बित्दा पनि तिम्रो शरीरमा एकसरो लुगाको अभाव छ । तिम्रो पेटमा एक मुठी अन्नको अनिकाल छ । आखिर किन ?

काठमाण्डौमा छु, तर तिम्रो याद मसँग-सँगै छ । यो काठमाण्डौ खाल्डोमा म बारम्बार किन आइरहन्छु खै, आफैलाई थाहा छैन । उतै-उतै गाँउघरतिर विलासिन मन लाग्छ मलाई । गाँउमा तिमी छौ, जीवनको बिम्ब छ र त सबथोक छ । तिम्रो नाममा यो पत्र कोर्दै गर्दा म आफूलाई सम्हाल्न सकिरहेको छैन । तिमीचाँहि चिसो भूइँमा निदाइरहेकी हौली मेरी बहिनी ।

काठमाण्डौका शासकहरुले तिम्रो चिसो भूइँलाई चिन्दैनन् । सुरिलो गीतको भाका बनेर गुन्जिए पनि, बन्दुकको नमीठो आवाजमा निस्किए पनि कहिल्यै चिन्दैनन् ।

तिम्री बुढीआमा दिलमाया तामाङले अस्थायी टेन्टभित्रबाट बाहिर निस्केर रित्तो भाँडा देखाउँदा तिमी कति दिनदेखि भोकाएकी हौली भनेर सोध्न भुसुक्कै भुलेंछु  ।

जीवनमा मलाई पहिलोपटक आफ्नै पेट देखेर घृणा लागेको थियो त्योबेला । ७ घण्टाको यात्रा छिचोलेर जब म रसुवाको हाकु पुगें तिमीलाई भेट्न, त्यसपछि मलाई आत्महत्या गर्न मन लागेको थियो । बाँच्नुको कुनै अर्थ नभेटिएपछि मानिसले उपाय खोज्दोरहेछ ।

तर, मैले तिमीलाई जीवित देखें डेमा छिरिङ । अविरल बर्षा हुदाँ तपतप चुहिने त्रिपालमुनिको चिसो भईँमा कसरी बाँच्यौ होला ? अनि कसरी बाँच्यौं नाङ्गो शरीर र खाली पेट यतिका दिनसम्म ? यो प्रश्न सोध्नका लागि मसँग नैतिक बल थिएन ।

कहिलेकाँहि म आफैं किन बाँचिरहेछु भन्ने सवालले रातभरि अनिँदो बस्छु । मजस्तै तिम्रा २ दाजुहरु पेम्बा र छिरिङ पनि केही महिनायता निदाउन सकेका छैनन् । उनीहरु घामपानीलाई छल्नका लागि काठमा टुक्राहरु उचालेर ओत लाग्ने टहरा बनाउँदै थिए ।

Bhukampapidit1

सरकार के हो ? नेपाल के हो ? तिम्रो बाबा पाल्देन तामाङलाई थाहा छैन बहिनी । सायद तिम्रा बाबालाई होइन यो सरकारलाई थाहा छैन पाल्देन तामाङ को हो भनेर । एउटा विदेशी संस्थाले दिएको टेन्टको अगाडि ठिङ्ग उभिएर लामो खुई काढ्न बाहेक उनी केही पनि गर्न सक्दैनन् । पाल्देनको तालुका रौंहरु खुल्किएका छन् । हो बहिनी उकाली, अोरालीहरुमा तिम्रो बाबाले जीवनभरि भारी बोकेका छन् । ढाकरमा जिन्दगीको नुन बोकेका छन् । यसपालि त भईचालो समेत बोक्नुपर्यो ।

तिमी टेन्टभित्रको चिसो भुईमा थियौ । अलि पल्तिरको स्कुलमा तिम्रो दिदी र भाइहरु चिसो भूइँमा बसेर  “क” “ख” “ग” सिक्दै थिए । यस्तो लाग्थ्यो उनीहरुले पढिरहेका होइनन् । सरकारले दिएको सजायँ भोगिरहेका छन् । उनीहरुले पाएको सजायँ एक वर्ष पूरा भैसकेको छ । अझै म्याद थपिएको छ सरकारी सजायँको । यही म्याद अवधिमा विस्तारै लाक्पा, फुर्वा, छोवाङसेले “नेपाल” भन्ने शब्द लेख्न जान्ने छन् । राष्ट्रिय गीत गाउने छन् ।

राष्ट्रिय गीत गाउँदा गाउँदै कतिखेर तिम्रा दाजुभाइहरुले अराष्ट्रवादीको उपमा पाउँछन् थाहा छैन । अनि नेपाल शब्द लेख्दा लेख्दै कतिखेर तिब्बतियन भोटेको नामाकरण पाइसक्छन् त्यो पनि थाहा छैन तर पनि च्याङ्बा आफ्नो घाइते खुट्टो उचालेर यही धर्तिको जमिनमा उभिएर हिँड्ने कोशिस गर्दैछन् ।

च्याङ्बाले मलाई भन्दैथे- रेडक्रस आएर एक पोका मिठाई बाँडेर गयो, बरु विष बाडेको भए हाइसञ्चो हुन्थ्यो ।

भूइँचालोको राहतमा भ्रष्टाचार भइरहेको छ, च्याङ्बाको नाम बेचेर महल ठडिएका छन् । उनका लागि सरकारले दाह संस्कार गरिसकेको छ ।

Bhukampapidit

डेमा छिरिङ ! तिमी आफै भन, तिमी जस्तै हजारौ बालबालिकाहरुलाई दुख दिने, गरिब भोका र नाङ्गाहरुको नाम बेचेर सुकिलो-मुकिलो परिहरनमा हिँड्ने, पसिनाको मुल्य चुकाएर जनताले तिरेको राजश्वमा ब्रहमलुट गरेर महल ठडाउने, राज्य कोष दूरुपयोग गरेर आफ्नो तीन पुस्तासम्मलाई पुग्ने धन सम्पति जोड्ने अनि अवसर पाएको बेलामा शक्ति र सत्ताको दुरुपयोग गरेर नेपाललाई विश्व जगतमा गरीबहरुको देश भनेर चिनाउने शोषकहरुलाई म के भनूँ ?

राष्ट्रसेवक कर्मचारी भनूँ भने मालपोतमा जग्गा पास गर्न जाँदा सुटुक्क चिया खर्च माग्छन् । त्यो एउटा यस्तो चिया एक गिलासको रू. दश हजार परोस् । माननीय संसद भनेर संबोधन गरूँ भने हामीलाई पेन्सन चाहियो भन्दै जग हसाउँछन्, र आफ्नै क्षेत्रको विकास निर्माणका लागि निकाशा भएको बजेटलाई आमाको जिउनी जस्तो ठान्छन् ।

आदणिय नेता ज्यू भनेर कसरी भन्न सकूँला जब कि तिम्रो भोको पेट र नाङ्गो शरीरको म साक्षी छु डेल्मा छिरिङ !

के म यिनीहरुलाई “यो देशको काट्टो खानेहरू” भनेर सम्बोधन गरुँ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment